विराटनगर । मोरङको कटहरी-४ स्थित नयाँबजारका रामकुमार राजवंशीले चार बिघा जमिनमा सयपत्री फूलखेती गरेका छन् । तिहार नजिकिएसँगै उनको बारीमा फूल टिप्ने र माला उन्ने कामले तीव्रता पाएको छ । तर अवैधरूपमा भारतीय सस्तो फूल भित्रिँदा स्थानीय किसान चिन्तित छन् ।
दैनिक २० देखि २५ जना कामदार खटाएर फूल टिप्ने र रातिसम्म माला बनाउने काम भइरहेको छ । तर, फूल उत्पादन र बिक्रीको चटारोबीच उनलाई एउटा चिन्ताले सताएको छ– भारतबाट अवैधरूपमा भित्रिने सस्तो फूलले बजार बिगार्ने हो कि ! चार बिघामा फूलखेती गर्न उनले करिब १२ लाख रुपैयाँ लगानी गरेका छन् । मल, औषधि, सिँचाइ र कामदारको खर्च जोड्दा लगानी ठूलो छ । उत्पादन राम्रो भए यस वर्ष आम्दानी पनि बढ्ने उनको अपेक्षा थियो । तर, सीमावर्ती नाकाबाट लुकिछिपी भित्रिने भारतीय फूलले स्वदेशी उत्पादनको बजार खोस्ने जोखिम बढेको छ ।
“हामीले ऋण खोजेर खेती गरेका छौँ । मल, औषधि, सिँचाइ र कामदारमा ठूलो खर्च हुन्छ” राजवंशीले भने, “भारतबाट चोरीतस्करी गरेर फूल ल्याइयो भने हाम्रो उत्पादनले बजार पाउँदैन । सीमामा कडाइ गरेर अवैध फूल भित्रिन रोक्नुपर्छ ।”
राजवंशीले दुई वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन् । गतवर्ष दुई बिघामा खेती गरेका उनले यस वर्ष उत्पादन बढाउने उद्देश्यले क्षेत्रफल दोब्बर बनाएका हुन् । गतवर्ष लगानी उठ्ने गरी आम्दानी नभए पनि घाटा बेहोर्नु नपरेको उनको अनुभव छ । यस वर्ष बारीमा फूल राम्रो फुलेपछि आम्दानी बढ्ने आशा गरेका थिए । तर, केही दिनअघि परेको वर्षाले करिब एक हजार किलो फूल नष्ट गरिदियो ।
प्राकृतिक विपत्तिले उत्पादनमा क्षति पुर्याए पनि बाँकी फूल बजारमा पुर्याउने उनको तयारी छ । विराटनगरसँगै मोरङ, सुनसरी र झापाका बजारमा उनको उत्पादन पुग्छ । मागअनुसार काठमाडौँसम्म पनि फूल पठाउने गरिएको छ । तिहारमा काग तिहारदेखि फूलको बिक्री बढ्ने भएकाले अहिले टिपिएका फूल र तयार गरिएका माला शीतभण्डारमा राख्न थालिएको छ । तिहार र छठसम्म बिक्री हुने गरी उत्पादन व्यवस्थापन गरिएको उनले बताए ।
विराटनगरमा आफ्नै फूल पसलसमेत सञ्चालन गर्दै आएका राजवंशीले वर्षभरि सजावटका लागि हुने मागलाई ध्यानमा राखेर गाउँमा खेती विस्तार गरेका हुन् । सयपत्रीसँगै अन्य प्रजातिका फूल र तरकारी पनि उत्पादन गर्छन् । तर, किसानले गरेको लगानी र मिहिनेतको प्रतिफल बजारमा आउने अवैध फूलले प्रभावित पार्ने उनको चिन्ता छ ।
महिलाको सामूहिक लगानी, बजारको चिन्ता
राजवंशीको जस्तै चिन्ता झापाको शिवसताक्षी नगरपालिका-१० मा सामूहिक रूपमा सयपत्री फूलखेती गरिरहेका महिलालाई पनि छ । स्थानीय कविता बस्नेतको संयोजकत्वमा रहेको समूहले करिब छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएको छ ।
यस वर्ष उत्पादन राम्रो भएकाले बिक्रीबाट करिब तीन लाख रुपैयाँ आम्दानी गर्ने उनीहरूको लक्ष्य छ । एउटा सयपत्री माला एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा बिक्री हुने अपेक्षा समूहको छ । तर, भारतबाट अवैधरूपमा भित्रिने फूलले स्थानीय उत्पादनको मूल्य घटाउने चिन्ता उनीहरूलाई पनि छ ।
सीमाबाट सिटी सफारीमा फूल तस्करी
किसानहरू तिहारको बजारलाई लक्षित गरेर फूल टिप्न र माला बनाउन व्यस्त भइरहेका बेला सीमापारिबाट भने अवैधरूपमा सयपत्री फूल भिœयाउने समूह सक्रिय देखिएको छ । भारतबाट फूल ल्याएर तत्कालै बजारमा बिक्री गर्नुको सट्टा शीतभण्डारमा भण्डारण गर्ने र तिहारको मुख्य समयमा महँगो मूल्यमा बिक्री गर्ने योजनासहित तस्करी भइरहेको सुरक्षा निकायको अनुसन्धानबाट खुलेको छ ।
मोरङ र झापामा पछिल्ला दिनमा भएका बरामदले फूल तस्करीको सञ्जाल सीमापारिबाट भिœयाउने र बजारमा पुर्याउने तहसम्म फैलिएको देखाएको छ । १४ कात्तिकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कङ्कालिनी मोरङबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सयपत्री फूल बरामद गर्यो । भारतबाट ल्याइएको उक्त फूल बूढीगङ्गास्थित ग्लोबल कोल्ड स्टोर र विराटनगर-४ स्थित राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्न लैजाँदै गर्दा नियन्त्रणमा लिइएको थियो ।
त्यसको दुई दिनपछि कात्तिक १६ गते सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका-५ गोग्राहास्थित स्टन कोल्ड स्टोर प्रा.लि.मा खानतलासी गर्यो । त्यहाँ अवैध रूपमा भण्डारण गरिएका ३ सय ५ पोका सयपत्री फूलका तयारी माला फेला परे । सशस्त्र प्रहरीका अनुसार ती मालाको मूल्य २३ लाख २० हजार रुपैयाँ बराबर छ ।
यसअघि झापाको दमकबाट पनि भारतबाट तस्करी गरी ल्याइएको ११ लाख २५ हजार रुपैयाँ बराबरको सयपत्री फूलका माला बरामद गरिएको थियो । मोरङ र झापाका यी तीन घटनामा मात्रै ५९ लाख ४५ हजार रुपैयाँ बराबरको अवैध फूल तथा माला बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कङ्कालिनी मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार भन्सार प्रक्रिया पूरा नगरी र बिलबीजकविनै भारतबाट फूल भिœयाएको पाइएको छ ।
सशस्त्र प्रहरीको अनुसन्धानअनुसार फूल तस्करीका लागि सीमावर्ती खुला नाकाको प्रयोग हुने गरेको छ । जोगबनी र सुनसरीका विभिन्न नाकाबाट सिटी सफारी (ई-रिक्सा) तथा साना सवारीसाधन प्रयोग गरेर फूल नेपाल भियाउने गरेको पाइएको छ । भारतबाट सयपत्री फूलको आयातमा अतिरिक्त सर्त लगाइनुको उद्देश्य स्वदेशी पुष्प व्यवसायको संरक्षण गर्नुका साथै जैविक सुरक्षाको जोखिम न्यूनीकरण गर्नु हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्लान्ट क्वारेन्टिन तथा बायोसेक्युरिटी केन्द्रले दुई वर्षअघिदेखि भारतबाट आयात हुने सयपत्री फूलमा अतिरिक्त सर्त लागू गरेको छ ।


































