वासिङ्टन । अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो बनाएको छ । दक्षिण क्यारोलिनामा एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गरेकी छन् । उनी उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला तथा दुई दशकभन्दा बढी समयपछि सिनेट सिट जित्ने पहिलो डेमोक्रेट बनेकी छन् ।

उत्तरी क्यारोलिना र न्यु जर्सीमा पनि डेमोक्रेटहरूले प्रतिनिधिसभाका सिट जितेका छन् । जर्जियामा सिनेटर जोन ओसोफ र न्यु ह्याम्पसायरमा क्रिस पप्पास विजयी भएका छन् । सिनेटमा बहुमतका लागि डेमोक्रेटहरूलाई चार सिटको खुद लाभ आवश्यक छ भने प्रतिनिधिसभामा तीन सिट जित्नुपर्नेछ ।

चुनावमा उच्च मूल्यवृद्धि, जीवनयापनको लागत र सरकारी भ्रष्टाचार मतदाताका प्रमुख चासो बनेका छन् । एसोसिएटेड प्रेसको सर्वेक्षणअनुसार करिब तीन चौथाइ मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट छन् । त्यति नै सङ्ख्याका मतदाताले अर्थतन्त्र राम्रो नभएको वा कमजोर रहेको बताएका छन् । करिब १० मध्ये आठ मतदाताले मूल्यवृद्धिका कारण आफ्नो परिवारले आर्थिक कठिनाइ भोगिरहेको जनाएका छन् । त्यस्तै, १० मध्ये छ मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको बताएका छन् ।

ट्रम्पले मुद्रास्फीति समाधान भएको दाबी गरे पनि अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य एक वर्षअघिको तुलनामा ३.६ प्रतिशतले बढेको थियो । चुनावलाई ट्रम्पको दोस्रो कार्यकालको जनमतसङ्ग्रहका रूपमा हेरिएको छ । मङ्गलबारअघि पाँच करोड ९० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका थिए ।

रिपब्लिकनहरूले निर्वाचन क्षेत्र पुनः निर्धारण गरेर सिट जोगाउने प्रयास गरे पनि फ्लोरिडामा चार नयाँ सिट जित्ने उनीहरूको अपेक्षा कमजोर देखिएको छ । टेक्सास र उत्तरी क्यारोलिनामा ट्रम्पले समर्थन गरेका उम्मेदवारले पनि चुनौती सामना गर्नुपरेको छ । सिनेटका अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा ओहायो, अलास्का र मिशिगन रहेका छन् ।

यसैबीच, ३६ राज्यमा गभर्नर पदका लागि भएको चुनावमा पेन्सिलभेनिया, इलिनोइस, मेरिल्यान्ड, म्यासाचुसेट्स र न्युयोर्कका डेमोक्रेटिक गभर्नर पुनः निर्वाचित भएका छन् । जर्जियामा केइशा ल्यान्स बटम्स निर्वाचित भए अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बन्नेछिन् ।

चुनावी नतिजाले ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्नेछ । रिपब्लिकनको नियन्त्रणमा रहेको कङ्ग्रेसले यसअघि उनका अधिकांश योजनालाई समर्थन गरेको थियो । तर, डेमोक्रेटहरूले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनको नियन्त्रण लिए राष्ट्रपति प्रशासनमाथि छानबिन र सम्भावित महाभियोग प्रक्रिया अघि बढाउन सक्नेछन् । रक्षामन्त्री पीट हेगसेथ र ट्रम्पका पूर्वसल्लाहकार तथा प्रविधि उद्यमी एलन मस्क पनि सम्भावित छानबिनको दायरामा पर्न सक्नेछन् ।

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पार्टीले नियन्त्रण प्राप्त गरे जीवनयापनको लागत घटाउने र ट्रम्प प्रशासनमाथि निगरानी बढाउने लक्ष्यसहित पहिलो १०० दिनको कार्ययोजना अघि सार्ने बताएका छन् । उनी सभामुख निर्वाचित भए अमेरिकी इतिहासमा उक्त पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति बन्नेछन् ।

डेमोक्रेटहरूको बलियो प्रदर्शनले आगामी राष्ट्रपतीय चुनावका लागि पार्टीभित्रका सम्भावित उम्मेदवारलाई बलियो बनाउनुका साथै उपराष्ट्रपति जे.डी. भान्सलगायत ट्रम्पनिकट रिपब्लिकन नेताहरूको राजनीतिक यात्रामा पनि प्रभाव पार्न सक्नेछ ।
 रासस \एपी