छोरी पाएको निहुँमा घरेलु हिंसाको शिकार भई अस्पतालको शरणमा पुगेकी ममता मरिकले थप उपचार पाउने भएकी छिन् । इनरुवा अस्पतालमा नवजात शिशुसहित निशुल्क उपचारमा रहेकी ममतालाई अधिकारकर्मीहरुको पहलमा ओसिएमसी इनरुवाले थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी गरेको छ । आजै उनलाई काठमाडाैं पठाइने छ ।

दिउँसोको फ्लाइटमा ममतालाई ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जिम्मा लगाउने गरी पठाउन लागिएको इनरुवा अस्पतालमा रहेको ओसिएमसी फोकल पर्सन मिना भण्डारीले जानकारी दिनुभयो । उक्त संस्थाले कुपोषित बच्चा र आमाको उपचार सहित खानपानको निशुल्क व्यवस्था गर्ने छ । साथै महिला अधिकारकर्मीहरुले ममताको पक्षमा कानुनी प्रकृया समेत अघि बढाउने भएका छन् ।
ममतालाई उनको श्रीमान सहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट निकालेका थिए ।बालबिवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छि श्रीमती हुन् । प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै पनि अभिभावकले ममताको बालबिवाह गरिदिएका थिए ।