चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ। होटलको कोठामा बाथटबमा अचेत भएपछि डुबेर उनको मृत्यु भएको शवपरीक्षणको विवरणमा उल्लेख छ। यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो। उनी आफन्तको विवाह समारोहमा सहभागी हुन सपरिवार यूएईको दुबई गएकी थिइन्। पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्। बलिवूडका हस्तिहरू, खेलकुदमा नाम कमाएका व्यक्तित्वहरू र शीर्षस्थ राजनीतिज्ञहरूले उनको मृत्युमा शोक व्यक्त गरेका थिए। कारण निर्क्योल दुबईको सरकारी सञ्चार कार्यालयले श्रीदेवीको शवपरीक्षणको विश्लेषण सम्पन्न भएको र मृत्युको कारण निर्क्योल भएको जनाएको छ। अधिकारीहरूका अनुसार उनको मृत्युको केस नियमित कानुनी प्रक्रिया अगाडि बढाउन दुबईको सार्वजनिक अभियोक्तालाई हस्तान्तरण गरिएको छ। मृत्युको कारण उल्लेख भएको शवपरीक्षणको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतावासलाई उपलब्ध गराएको 'गल्फ न्यूज'ले जनाएको छ। बिबिसी