धरान/ निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई अपिल गरेको छ । प्रदेश २ का ८ जिल्लामाअाज सोमबार तेस्रो चरणमा स्थानीय तह चुनाव हुँदैछ ।

‘पाँच वर्षसम्म नेतृत्व गर्ने जनप्रतिनिधिको निर्वाचन गराउन हाम्रा कर्मचारीहरु तपाईहरुको घर टोलमा आइसक्नु भएको छ । बाढी, डुबानबाट उत्पन्न पीडालाई बिर्सेर एक दिन राष्ट्रका लागि दिनुहोस्,’ प्रमुख आयुक्त यादवले पत्रकार सम्मेलनमा भने ।

‘यो असोज २ गते जनप्रतिनिधि छनोट गर्ने पर्वका रुपमा मनाउन आयोग समस्त मतदाता आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूसँग हार्दिक अनुरोध गर्दछ ।’चुनावको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनलाई पर्वको रुपमा मनाउन अनुरोध गरे ।

६६ हजार सुरक्षाकर्मी खटाइयो

कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले मतदान गर्न आयोगले सबै मतदातालाई आह्वान गरेको छ । मतदान गर्न मतदाता परिचयपत्र, नागरिकता वा आफ्नो परिचय खुल्ने परिचयपत्र आफूसँगै लग्नुपर्दछ ।

सुरक्षाको पनि भरपर्दो प्रवन्ध मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि ६६ हजार सुरक्षाकर्मी खटाइएको गृहमन्त्रालय स्रोतले बतायो । सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुसपैठलाई रोक्न नेपाल-भारत सीमानाका पनि बन्द गरिएको छ ।

कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने आयोगको विश्वास छ ।

निर्वाचन सुरक्षाकै लागि पूर्वक्षेत्रमा नेपाली सेनाका दुईवटा हेलिकोप्टर पनि स्ट्याण्डबाई राखिएको छ ।

६ हजार ६२७ पदमा ३७ हजार २३६ उम्मेदवार

प्रदेश २ को निर्वाचनमा ८ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश २ का आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ६ हजार ६२७ पदका लागि ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ । तीमध्ये महिला उम्मेदवारको संख्या १४ हजार ३३७ र पुरुष उम्मेदवारको संख्या २२ हजार ८६१ छ ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवार रहेको प्रमुख आयुक्त यादवले बताए ।

नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । यस्तै वडाध्यक्षमा ८ हजार ५२ जना पुरुष र २२३ जना महिला उम्मेदवारहरू छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।

मतदानको समयमा अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्न सक्नेछन् । यसरी मत संकेत गर्दा मतदाताको इच्छाविपरीत नहुने आयोगको विश्वास छ ।

२ हजार बढी पर्यवेक्षक

आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन पर्यवेक्षण भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख आयुक्त यादवले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोग पाउने अपेक्षा आयोगले गरेको छ ।