धरान/वादीलाई अंश दिलाउने नाममा एक परिवारले अंशियारी प्रतिवादीलाई थाहै नदिई अदालतका कर्मचारीहरुलाई मुचुल्का बनाएर पठाइएको पाइएको छ । अंशको एक हक लाग्ने प्रतिवादीलाई थाहै नदिई अदालती मुचुल्का बनाएर अदालतका कर्मचारीहरुले मुचुल्का लिएर गएको पाइएको हो । प्रतिवादी मध्येका धरान–९ का राजकुमार भुजेलले अर्का प्रतिवादी जेठो छोरा रोजन तथा बुहारी सुमिता लामा भुजेललाई थाहै नदिई ‘गोला’ गरी अंशमा सहमति भएको भन्दै कागजी मुचुल्का बनाएर अदालतका कर्मचारीहरुलाई पठाइएको लामाले बताइन् । भुजेलका कान्छा छोरा रोमन भुजेलले वादी बनेर तीनवर्ष अघि जिल्ला अदालतमा ‘अंशबण्डा गरीपाउँ’ भन्दै निवदेन दिएका थिए । उक्त निवेदनको आधार मै भुजेल परिवारमा अंशबण्डाको मुद्दाको विवाद सुरु भएको थियो । जिल्ला अदालतले २०७१ माघ ५ गते फैसला गरेको थियो । त्यही फैसला अनुसार अंशबण्डा गरिए पनि जेठी बुहारी सुमिता लामा भुजेललाई उक्त अंशवण्डामा चित्त नबुझेपछि बदर गरिपाउँ भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको बिहीबारको पत्रकार सम्मेलनमा बताइन् । तर, जिल्लाले पुरानै फैसलालाई सदर गरेपछि उनी उच्च अदालत विराटनगर रिट हालेकी थिइन् । रिटपछि उच्च अदालतले २०७३ फागुन २ गते जिल्ला अदालतलाई बदर गर्नुभन्दै फैसला गरेपछि अंशबण्डा विवाद थप चुलिएको थियो । त्यही क्रममा यही भदौं १७ गते जिल्ला अदालतबाट नायव सुब्बा सोमनाथ भट्टराई, डिठ्ठा विदुरप्रसाद पोखरेल, नायव सुब्बा रमेश भट्टराईको टोली धरान आएको थियो । त्यसक्रममा धरान–९ बाट वडाअध्यक्ष रत्न कटुवाल रहोबर रहने गरी छलफल भएको सुमिता बताउँछिन् । उनका अनुसार त्यो बेलामा ससुरा राजकुमारले २ भागमा गोला गर्ने भन्ने र आफ्नो ४ भागमा गोला गर्ने भन्ने अडान कायम रहेपछि विवाद मिलेको थिएन । कटुवालका अनुसार त्यो बेला अदालतका तहसिलदार भेषराज भट्टराईसँग अंशवण्डाको गोला गर्ने विषयमा फोनमा बुझ्दा जतिजनालाई अंश लाग्ने हो त्यतिजनाकै गोला बनाउनु पर्ने भनेपछि सहमति बन्न सकेन । त्यसपछि ‘छोराहरु आएर मात्रै अंशवण्डा’ गर्ने भन्दै मौखिक सहमति बनेपछि आफू ७ बजे त्यहाँबाट निस्किएको उनले बताए । तर, उक्त कुरालाई राजकुमार भुजेल नर्कार्दै भन्छन्, ‘त्यस्तो खासै सहमति भएन । उँ उनीहरुकै सर्पोटमा बोल्यो । त्यसपछि बेलुका वादी कान्छा छोरा भएकाले मैले आफ्नो सहमतिमा मुचुल्का बनाएर पठाएको हो ।’ उनका अनुसार खासमा अंश पाउँ भन्दै कान्छा छोराले हाले पनि भागबण्डा गर्दा जेठा र कान्छालाई बराबरी नै बाडिदिएको हो । तर, उनले अदालत पठाएको मुचुल्कामा ९ नम्बर वडाका सदस्य सरदरत्न पार्थिव जनप्रतिनिधिको रहोबर रहेको भन्ने खुलाइएको छ । जहाँ पार्थिवले पनि हस्ताक्षर गरेका छन् । तर, उक्त हस्ताक्षरको विषयमा प्रष्ट पार्दै पार्थिव भन्छन्, ‘डिटेल रुपमा नभनी कन हस्ताक्षर गरायो । मैले सामान्य रुपमा सम्झे । मलाई गुमराहमा राखेर बाटोमा हस्ताक्षर गरायो ।’ उनका अनुसार वडाअध्यक्षहरु पनि रहेको भन्दै आफूलाई निर्णय चाही केही नभनी नै हस्ताक्षर गराएको दाबी गरे । त्यो विषयमा भने राजकुमारले आफूले बाटोमा हस्ताक्षर गराएँ कि घरमै गराएँ आफू तनावमा रहेकाले जानकारी नभएको बताए । बुहारी सुमिताले आफ्नो सहमति बिना ‘गोला’ तानेको भनेर बनाइएको अदालती मुचुल्का पनि २५ गते तारिख धाउने बेला मात्रै अदालतकै कर्मचारीहरुबाट थाहा पाएको बताइन् । ‘भदौं १७ गते नमिलेपछि मलाई २२ गते तारिखमा आउनु भनेर कर्मचारीले हस्ताक्षर गराउनुभो ।’ उनले भनिन्, ‘२२ गते जाँदा सार्वजनिक विदा परेपछि एकैपटक भदौं २५ गते जाँदा त तिमीहरुको पूर्जा आउँछ भन्दा छक्क परे ।’ उनले ससुरा र कर्मचारीहरुले मिलेमतोमा किर्ते गरेको आरोप लगाइन् । तर, अदालतबाट खटिएका कर्मचारी सोमनाथ भट्टराईले आफू त्यो दिन त्यहाँ उपस्थित भए पनि गोलाको समयमा र मुचुल्का बनाउने बेला आफू सहभागी नभएको प्रष्टाए । अर्का कर्मचारी डिठ्ठा पोखरेलले वादीप्रतिवादीले गोला छुट्टयाउनै नमानेपछि सहमति हुन नसकेको बताए । त्यसपछि पाँचजना मान्छे साक्षी राखेर मुचुल्का बनाएर ल्याएका हौं । मुचुल्कामा उहाँ (सुमिता) उपस्थित नभएको उनले प्रष्ट पारे । साक्षीमा विष्णु थाम्देन, उत्तम राई, सरस्वती श्रेष्ठ, दिलबहादुर भुजेल, ललित भुजेल छन् । साक्षी बस्ने मध्येका विष्णु थाम्देनले आफू हुँदाहुँदै गोला तान्ने काम नभएको र त्यो आफूलाई आजसम्म पनि थाहा नभएको बताए । उनले भने, ‘गोला तान्नमा सहमति भा थिएन । र, गोला भएको मलाई थाहा छैन ।’ यस्ताे छ गाेला तानिएकाे मुचुल्काः