बोस्टन /बोस्टन क्षेत्रमा नेपालीमाझ जीवन बीमा बेचेर ठगी गरेको आरोप लागेका दलाल महेश्वर पन्तको बीमा अनुमतिपत्र (लाइसेन्स) सदाका लागि खारेज भएको छ । पन्तले झुटो आश्वासनमा बीमा बेचेर गल्ती गरेको स्वीकार गर्दै कमनवेल्थ अफ म्यासाचुसेट्सको बीमा विभाग समक्ष (सेटलमेन्ट) समाधानका लागि सहमति जनाएका छन् ।
समाधान सहमतिसंगै अब पन्तले म्यासाचुसेट्स राज्यमा बीमासंग सम्बन्धी व्यापारमा लगानीकर्ता, एजेन्ट, प्रत्यक्ष, अप्रत्यक्ष ज्यालादारी वा ज्याला नलिइकन कुनै प्रकारले संलग्न हुन पाउने छैनन् । पन्तले पछिल्लो तीन वर्षमा बोस्टन र आसपास क्षेत्रमा बस्ने १ सय ४८ नेपालीलाई झुटो आश्वासन र गलत व्याख्या गर्र्दै जीवन बीमाका पोलिसी बेचेका थिए । त्यसमध्ये करिब दुई दर्जन व्यक्तिले आफुहरुलाई झुक्याएर पन्तले गलत पोलिसी बेचेर ठगेको भन्दै सम्बन्धित निकायमा उजुरी गरेका थिए ।
झण्डै ८ महिना लगाएर म्यासाचुसेट्स राज्यको अटोर्नी जनरलको कार्यालयले ती उजुरीमाथि छानबीन गरेको हो । छानबीनले ठगी नैं भएको ठहर गरेपछि थप सुनुवाईमा जाने की सेटलमेन्ट गर्ने भन्ने दुई विकल्प दिएको थियो । बीमा दलाल पन्तले आफ्नो गल्ती स्वीकार्दै सेटलमेन्ट रोजेका हुन् । सेटलमेन्ट गर्ने भए मे ३१ सम्म हस्ताक्षर गरी पत्र पठाउन उनलाई मौका दिइएको थियो । पन्तले मे २६ मैं डिभिजनको पत्रमा हस्ताक्षर गरेर पठाएका थिए ।
समाधानमा राजी नभई उनी थप सुनुवाइको लागि गएका भए अर्को अदालतले पनि दोषी ठहर्याएपछि उनले चर्को जरीवाना र अन्य सजायं पाउन सक्थे । थप सजायंबाट जोगिन पन्तले डिभिजनको छानबिनलाई स्वीकार गर्दै लाइसेन्स खारेज गर्ने सहमति जनाएका हुन् । पन्त प्रिमियर फाइनान्सियल एलायन्स (पिएफए) का एजेन्ट थिए । इन्डेक्सड युनिभर्सल लाईफ इन्स्योरेन्स पोलिसीहरु बेच्दा म्यासाचुसेट्सका सामान्य कानून (एमजीएल) का मुख्य तीन बुंदाको गंभिर उल्लंघन गरेको अनुसन्धान टोलीको ठहर छ । उक्त तीनमध्ये कुनै एक बुंदाको पनि उल्लंघन भए बीमा लाइसेन्स खारेजी र आर्थिक जरीवाना समेत हुने उल्लेख छ ।
ती कानुनी प्रावधानहरु सबै इन्स्योरेन्सको कारोबार र बिक्रीलाई नियमन गर्न बनाइएका हुन् । उजुरीकर्ताले उनीहरुका लागि उपयुक्त बीमा पोलिसी नभएको र बीमा बेच्दा ग्यारेन्टीका साथ छ भनिएका प्रोडक्टहरु नभएको बयान दिएका थिए । पन्तलाई पठाइएको पत्रमा भनिएको छ, तिमीले इन्डेक्स्ड युनिभर्सल लाइफ इन्स्योरेन्स पोलिसीहरु व्यक्तिको बीमा आवश्यकता, जीवनशैली, उमेर, अथवा आम्दानीको तहलाई ध्यानमा नराखीकन बेचेको अनुसन्धानले देखाएको छ । अनुसन्धान अधिकारीले पीडितको रकम फिर्ता गराउने प्रयासमा आफुहरु रहेको बताएका छन् । यसका लागि विभागले सम्बन्धित बीमा कम्पनीसंग सम्वन्वय गरिरहेको बताएको छ ।
एकजना पीडित बोस्टनबासी कृष्णराज खनालले ठगीको प्रमाणितसंगै पन्तको लाइसेन्स खारेज भएपछि सत्यको सुनुवाई भएको टिप्पणी गरेका छन् । उनले भने, नेपाली समुदाय सचेत हुनु जरुरी छ । यो वा त्यो बहानामा भोलि फेरि अरु कसैले नठगोस् । बीमा ठगीको अनुसन्धान भइरहेकै बेला पनि अनारसिंह बस्नेतले नियमित प्रिमियम तिरिरहेका थिए । मंगलबार पन्तको लाइसेन्स खारेजीको खबर आएसंगै बल्ल आफू ठगिएको महसुस भएको उनले सुनाए । अहिले उजुरी पैसा फिर्ता हुन्छ होला त, बस्नेतले प्रश्न गरे । उनकाअनुसार पन्तले सोझासाझा नेपालीको बाक्लो बस्ती रहेको बोस्टन नजिकै नरउड क्षेत्रमा थुपै्र नेपालीले त्यस्तो बीमा किनेका छन् ।
समाजसेवीको रुपमा ठगी पन्त धेरै मानिसको जमघट र सम्पर्क हुने ठाउंमा आफ्नो सञ्जाल विस्तारका लागि विभिन्न संघ संस्थामा समाजसेवीका रुपमा आवद्ध हुने गरेका छन् । उनले ती संस्थामार्फत् सम्पर्कमा रहेका नेपाली र उनीहरुका नवआगन्तुक आफन्त तथा मित्रहरुलाई बीमाबारे भ्रम बांडेर आफ्नो ठगीको धन्दा गर्दै आएका थिए । उनी बोष्टनमा रहेका तीन नेपाली संस्थामा मुख्य हर्ताकर्ता छन् । पन्त पशुपतिनाथ बुद्ध फाउण्डेशनको महासचिव, हिमालयन लायन्स क्लब बोस्टनको संरक्षक र ग्रेटर बोस्टन नेपाली कम्यूनिटी ९जिबिएनसी० को सल्लाहकार छन् । पन्त बोस्टन क्षेत्रमा जीवन बिमाका साथै घर बेचबिखन गर्ने रियल स्टेट एजेन्टको रुपमा काम गर्छन् ।
भर्जिनियांमा पनि कारबाही अन्तिम चरणमा यसैबीच सयौं नेपाली इन्स्योरेन्स ठगीमा परेको डिसी भर्जिनियां क्षेत्रमा पनि अनुसन्धान जारी छ । ब्यूरो अफ इन्स्योरेन्स भर्जिनियांका बरिष्ठ अनुसन्धान अधिकारी चक मार्सलले बोस्टनका अनुसन्धानअधिकारीहरुसंग आफू पनि सम्पर्कमा रहेको बताएका छन् । मार्सललाई उद्धृत गर्दै इन्स्योरेन्स ठगीका पिडित तथा नेपालमदरडटकमका प्रधानसम्पादक रामप्रसाद खनालले भने अब छिट्टै निर्णयमा पुग्न लागेका छौं । खनालका अनुसार भर्जिनियाँ क्षेत्रमा झण्डै ५७ वटा उजूरी परेका छन् ।कसरी उठ्यो यो विषय भर्जिनियां क्षेत्रमा बस्ने कलाकार एवं सञ्चारकर्मी रामप्रसाद खनालले पहिलोपटक भिडियो सामग्री बनाएर सामाजिक सञ्जालमा आफु ठगिएको खुलाएका थिए । त्यसपछि बोस्टनबाट यस सम्बन्धी खोजमुलक समाचार श्रृंखलावद्धरुपमा सेतोपाटी ग्लोबलमा छापिएको थियो । सेतोपाटीमा लगातार समाचार आएपछि बोस्टन क्षेत्रका कैयन् बीमा खरिदकर्ताहरुले आफु ठगिएको थाहा पाएका थिए । त्यसपछि उनीहरुले बीमा कम्पनीमार्फत् आफ्नो पोलिसीबारे जानकारी मागेर धमाधम पोलिसी रद्ध गरेका थिए । एक वर्षअघि छापिएको यही इन्स्योरेन्स ठगीसम्बन्धी समाचारलाई नेपाल अमेरिका जर्नालिष्ट एसोसियसन ९नेजा० ले तीन साताअघि पुरस्कृत गरेको थियो ।
समूदायलाई जनचेतना जगाएको र प्रभावशाली समाचार भन्दै पहिलोपटक नेजा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो । शिवप्रकाश, दिनेश कार्की र मनोज अधिकारीले संयुक्त रुपमा पाएको १ हजार १ सय ११ डलर राशीको पुरस्कार रकम तत्कालै चितवनस्थित सानोघर नामक संस्थालाई प्रदान गरेका थिए । सेतोपाटीमा समाचार प्रकाशित भएपछि न्यूयोर्क, टेक्सस र अन्य राज्यका नेपाली सञ्चारकर्मीले पनि बीमा ठगी सम्बन्धी समाचार लेखेर सचेतना जनाएका थिए । यो समाचारले अमेरिकामा बस्ने नेपालीबीच व्यापक बहस र जनचासो ल्याइदिएको थियो ।
१० देखि १५ वर्षमा नेपालीले विलियन गुमाउंथे बीमा ठगीको यस्तो खुलासा र अनुसन्धान नभएको भए वर्षेनी थप हजारौं नेपालीहरु गलत पोलिसी किनेर ठगिने अवस्था थियो । बीमा ठगी सम्बन्धी गहिरो अध्ययन गरेका लेखक शिव प्रकाशका अनुसार एक नेपालीले एक वर्षमा औसतमा २ हजार ५ सय डलर बीमाको प्रिमियम तिरिरहेका थिए । यहि गतिमा नियमित प्रिमियम तिर्ने बिमकले २० वर्षपछि बीमा पुरा भएको् दिन सबै रकम गुमाउंथे । बीमा दलालले २० वर्षपछि रकम दोब्बर हुने दावी गरे पनि पोलिसी अनुसार त्यो रकम शुन्यमा आउंछ । उनी भन्छन्, यही हिसाबले गएको भए २० वर्षसम्ममा हजारौं नेपालीले एक बिलियन डलरभन्दा बढी रकम गुमाउंथे । यो अवस्थाबाट ती सबै नेपालीको ठूलो रकम बचेको छ ।
सेताेपाटीबाट