धरान/चुक घोप्टिएको अध्यारोसँगै सन्नाटा छ । कुकुर भुकेको आवाज सुनिन्छ । रक्सीले चुर मातेका राम (दीपेन दर्नाल) अघि बढ्छन् । दोबाटो आउँछ । उनी असमज्जमा पर्छन् । कारण रक्सीको मातले बाटो पहिल्याउन हम्मे पर्छ । ‘खोया बिर्के’ ले बाटो पनि भुलिएछ भन्दै एकोहोरो गनगनिन्छन् । ‘त्यो कृष्णे (सचिन क्षेत्री) कता मरेछ ? भनेको केही क्षणमै मातेकै तालमा कृष्णेको आगमन हुन्छ । कृष्णलाई भट्टी साहुनीले छाडेको हुँदैन् । पैसाका लागि भट्टी साहुँनी खुट्टामा लपक्कै टाँसिए पनि आफू भागेर आएको रामलाई बताउँछ । पैसा नतिरेकाले भट्टी साहुँनीले कृष्णेलाई छाडेको हुँदैन् । अरुको पैसामा मात्न पल्केको कृष्णेलाई रामले हातमा बाधेको घडी दिन्छ । ‘तर, बेच्ने चाही हैन है ?’ नशाको चुरमा रामले भन्छ । पत्रकार तथा नाट्यकर्मी गोपाल देवानको ‘फेरि अर्को लङ्का जल्ने छैन्’ नाटकले दर्शकलाई यसरी दृष्यमा बाध्दै लैजान्छ। कृष्ण भट्टी साहुँनीलाई पैसा तिर्न जान्छ । राम लरबराउँदै अघि बढ्ने प्रयत्न गर्छ । तर, अघि बढ्न सकेको हैन । उसले आकासवाणीबाट कुनै सुन्दर युवतीले ‘तेत्रा युगको राम तिमी किन यस्तो भाको’ भन्दै गुनासो पोख्छिन् । रामले उसलाई आफूसामू पटाङ्गिनीमा आउनको लागि आग्रह गर्छ । चट्याङ र गड्याङगुडुङको आवाजले रामको आँखा तिलमिलाउछ । उनी प्रकट हुन्छिन् । उनले आफू सुलोचना (तुलसा थापा) रहेको बताउँछिन् । आरम्भ नाट्य डबलीले दुईदशकपछि स्वरैकल्पनामा बनेको यो ‘तेत्रा र कलियुग’ को फ्युजन नाटकले धराने दर्शकहरुलाई नयाँ स्वाद दिलाउन सफल छ । नाटकका केही दृष्य भद्दा भइदिँदा कतिपय अवस्थामा खल्लो छ । कतिपय दृष्यमा लामो संवादले ‘बोरिङ फिल’ गराएको छ । तर, सुलोचनाले दर्शकलाई बाध्न कुनै कशर छाड्दिनन् । उनले रामलाई त्यसरी मातेर नहिड्नको लागि आग्रह गर्छिन् । तर, रामले आफू तेत्रा युगको राम नभएर जड्याहा राम भएको बताउँछ । केही क्षण पछि उसको श्रीमती सीता (पानस गुरुङ) सिंगापुरे लाहुरे रेवत (कमानसिंह राई–जसलाई रावणको रुपमा प्रस्तुत गरिएको छ) सँग लहसिँदै डान्स पार्टीको लागि निस्किएको हुन्छ । बाटोमा जम्का भेट भएपछि श्रीमतीले नानाभाती गाली गर्छिन् । रीसले चुर बनेको रामले थप्पड हान्छ । पुरुषको मर्दाङ्गिनी देखाएको भन्दै रेवतले अवरोध गर्न खोज्छ । उसको पीटाईले आक्रोसित सीताले डिभोर्स माग्छे । आकाशवाणीको रुपमा रहेको सुलोचनाले तिम्रै कारणले सीताले डिभोर्स दिने कुरा गरेको बताउँछ । राम अघि बढ्ने क्रममा लड्छ । पर्दापछाडी मन्त्री –कुलचन्द्र न्यौपाने) देखापर्छन् । उनका अघिपछि सुरक्षागार्ड (नगेन राई र तीर्थराज बिक) मन्त्रीका साथमा हेमन्ते (कृष्ण तिम्सिना–जो हनुमानको रुपमा प्रकट) हुन्छन् । हेमन्त अति नै मन्त्रीको चाकडी गर्छन् । तेत्रायुगमा पनि रामको चाकडी गर्ने बानी परेकाले त्यो बानी नगएको बताउँछन् । मन्त्रीले ‘तिमी अझै हनुमान’ नै हौ भनेपछि उनले आफूमा भएको हनुमानको पगरीहरु झिकेर फ्याक्छन् । राम खोक्न पुग्छन् । सुरक्षाकर्मी चनाखो हुँदै पेस्तोल तेस्र्याउछन् । यो मन्त्रीलाई मार्नको लागि आएको हुनसक्ने भन्दै सुरक्षाकर्मीले आशंका व्यक्त गर्छन् । पड्काइदिउ मन्त्रीज्यू भन्दै सुरक्षाकर्मीहरुले मन्त्रीसँग अनुमति माग्छन् । रामसँगको केही भलाकुसारीपछि मन्त्रीहरु ओझेल हुन्छन् । आकाशवाणीबाट पुनः सुलोचनाको प्रवेश हुन्छ । त्यही बेला रामलाई जाने हो भन्दै ‘यौनकर्मी’ युवती (स्वरुपा थापमगर) आइपुग्छिन् । रामले तिमीले खोजेको ‘म होइन’ भन्दै उत्तर दिएपछि यौनकर्मी महिला रिसाउँदै पटाङ्गिनीबाट हराउँछिन् । राम र सुलोचनाको वार्तालाप हुन्छ । राम तेत्रायुगको राम भएको सुलोचनाले बताउँछ । तर, रामले विश्वास गर्दैन । सुलोचना पनि रावणकी बहिनी सुपर्णखा भएको बताउँछिन् । जसलाई लक्ष्मणले नाक, कान काटेर कुरुप बनाएको थियो । त्यही आक्रोसमा सीतालाई रावणले हरेर लगेका हुन्छन् । तर, पनि सीतालाई रावणले कुनै अनैतिक कार्य नगरेको तेत्रायुगका बैज्ञानिक रहेको सुलोचनाले बताउँछिन् । तर, त्यो लोकले रावणलाई राक्षसको रुपमा प्रस्तुत गरेकोमा दुखेसो गर्छिन् । रामले त्यो बेलामा गलत गरेको कुराहरु सुलोचनाले बताउँछिन् । आफ्नी सीतालाई पनि धोवीको कुरा सुनेर अग्नी परीक्षा लिएको कुराले उनी विक्षिप्त भएकी छन् । राम भन्दा रावण नै असलमा राम्रो भएको बताउँछिन् । रामले आफू बौलाइसकेको बताएपछि एक्कासी ‘बौलाहा’ (शान्तिराम राई) को आगमन हुन्छ, के भनिस रे, बौलाहा ? बौलाउनु सजिलो छैन् । बौलाहाहरु सत्य बोल्छन् । यस्ता कुरा गर्दै बौलाहा केही क्षण बर्वराउँछ । रामले नै उसलाई हिर्काएर पर्दाविहीन बनाउँछ । रामले सुलोचनालाई आफू तिमीविना बाँच्न नसक्ने बताउँछ । तर, अव त्यो सम्भव छैन् भनेर सुलोचनाले सुनाउँछिन् । राम उनलाई बचन दिन्छन् ‘अव फेरि कुनै लंका जल्ने छैन्, फेरि अर्को सभ्यता नष्ट हुने छैन्, फेरि अर्को मानव समाजको समाप्त हुनेछैन । म बचन दिन्छु सुलोचना । उनी प्रतिवद्धता जनाउँछन् । सुलोचना अलप हुन्छिन् । राम रुन्छ कराउँछ । छोडेर नजान आग्रह गर्छ । उनी प्रतिवद्धता जनाउँछन् । तर, अन्ततः उनी अलप हुन्छिन् ।  बिहान हुन्छ । कृष्णेको आगमन हुन्छ । कृष्णेले रामलाई धेरैपटक बोलाउने प्रयत्न गर्छ । अझै रातिको ह्यागओभर छुटेको छैन कि क्याहो भन्दै प्रश्न गर्छ । पत्रिकामा छापिएको मुक्तक सुनाउँछ । राम एक्कासी उठ्छन् र आफू अव सुध्रिने बताउँदै काम गर्ने बताउँछन् । ४५ मिनेट यसरी दर्शकलाई बाधिदिन्छ कि दर्शकहरुले समय गएको पत्तै पाउँदैनन् । रामको भूमिका सबैले ‘वाह’ भन्ने खाल्को छ । दीपेन जस्ले १० वर्षकाे उमेरदेखि रंगकर्ममा प्रवेश गरे । उनको अभिनयले दर्शकहरुलार्इ ताली पड्काउन बाध्य पार्छ। नाट्यकर्मी देवानले उनलाई ठिक ठाँउमा डेब्यु गराएका छन् । जसले गर्दा नाटकलाई न्याय गरेको ठर्हछ । तर, कुनै कुनै एक्कासी आउने पात्रहरुले भने दर्शकहरुलाई खासै लोभ्याएको छैन् । देवानको लेखन निर्देशनमा बनेको यो नाटक धरानकाे सभागृहमा सोमबार साँझ प्रदर्शन भइरहँदा दर्शकबाट माया बटुल्याे ।