धरान । सुनसरीको धरान–१५ स्थित श्याम चोक महिला समूहले आइतबार तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।

समूहले आफ्ना महिला सदस्यहरूलाई नेपाली महिलाको चाड तीजमा नाचगान तथा रमाइलोका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ । समूहमा ७९ जना महिलाहरू आजीवन सदस्य छन् । “तीज महिलाको चाड भएकाले रमाइलो गरौँ भनेर कार्यक्रम गरिएको हो” समूहकी कोषाध्यक्ष अञ्जु खड्गीले भनिन्, “अरूबेला पनि कार्यक्रम त गथ्र्यौँ तर अतिथि बोलाएर गरेको चाहिँ यो नै पहिलो हो ।”

समूहकी अध्यक्ष गोमा गिरी बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका–१५ की वडा सदस्य सिर्जना नेपाल रहेकी थिइन् । समूहमा आबद्ध रहेका महिला दिदीबहिनीहरूले तयार पारेका विभिन्न सामग्रीहरूलाई बिक्री वितरण गरिदिएर आर्थिक उपार्जन गर्ने गरेको छ । “महिला दिदीबहिनीहरू एकजुट होऔँ र केही गरौँ भन्ने उद्देश्यले समाज गठन भएको हो” कोषाध्यक्ष खड्गीले भनिन्, “यहाँ आमाहरूले धूपहरू बाट्नु हुन्छ । त्यसलाई हामी बेचिदिन्छौँ ।” कार्यक्रममा महिला दिदीबहिनी तथा आमाहरूले विभिन्न तीज गीतमा मनोरञ्जन गरेका थिए ।