धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले ‘ह्यान्डल’ गर्दै आएको ‘हर्क साम्पाङ अ रेभोलुसन’ मा साउन २९ गते लेखिएको एउटा स्टाटसमाथि ‘कमेन्ट’ गर्दा धरानका एक युवामाथि ज्यान मार्ने धम्की आएको छ । 

रेभोलुसनमा साउन २९ गते “स्वतन्त्र दिदीबैनी एसडीबीलाई दिइयो ज्येष्ठ नागरिक मनोरञ्जन पार्क बनाउने जिम्मा । अल दी बेस्ट” लेखेको स्टाटसमा धरान–१६ का विनोद तिम्सिनाले “ए ठेक्का लाग्यो, विना बोलपत्र !” भनी कमेन्ट गर्दा ज्यान मार्ने धम्कीसहित विभिन्न खालका डर देखाइएको छ । उक्त ज्यान मार्ने धम्की मनिष राना मगरले दिएका छन् । उक्त कमेन्टमा उनले पुनः अर्को कमेन्ट लेखेर ‘ज्यान मार्ने धम्की’ दिएका हुन् । उक्त ज्यान मार्ने धम्की दिएपछि पीडित तिम्सिनाले इलाका प्रहरी कार्यालय धरानमा ‘साइबर क्राइम’ अन्तर्गत निवेदन दिएका छन् । 

निवेदनमा उनले मनिष राना मगरसहित थप दुई जनाविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । सामाजिक सञ्जालमा आफूले सभ्य तरिकाले कमेन्ट गर्दा त्यसको प्रत्युत्तरमा मनिष राना मगरले आफूलाई मार्ने खालको धम्की दिएको उल्लेख गरेका छन् । मनिषले विनोद तिम्सिनालाई ट्याग गर्दै कमेन्टमा लेखेका छन्, “यसलाई खोजेर मार्नुपर्छ । ढिलो छिटो समय आएपछि यस्ता अराजक तत्वहरूलाई मार्दै पन्छाउँदै अघि बढ्नुपर्छ ।” मनिषले सी जिङ पिङ, चीनसम्मको उदाहरण दिँदै विरोधी तत्वलाई समाप्त पार्नुपर्ने खालको टिप्पणी गरेका छन् । 

उक्त टिप्पणीप्रति तिम्सिनाले साउन ३० गते साइबर अपराधमा उजुरी दिएका हुन् । उनले मनिषले ज्यान मार्ने धम्की दिनुका साथै भीमराज गुरुङ र सनम मगरले समेतको आफ्नो व्यक्तिगत चरित्र हत्या हुने गरी कमेन्ट गरेकाले कारबाही गर्न माग गरेका हुन् । उनले निजहरूको नाम, ठेगाना पत्ता लगाई पक्राउ गरी कानूनबमोजिम कारबाही गर्नका लागि प्रहरीसमक्ष माग गरेका छन् । उनले प्रहरीमा सम्बन्धित व्यक्तिहरूले लेखेको कमेन्टको स्क्रिन सटसम्म गरेर बुझाएका छन् । 

यस विषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले साइबर अपराधको मुद्दा जिल्लाले हेर्ने भएकाले जिल्लामा पठाएको बताए । उनले भने, “हामीले उजुरीलाई जिल्लामा फरवार्ड गरेका छौँ । उताबाट केही आएको छैन ।” यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले आफूलाई यसबारे विस्तृतमा जानकारी नभएकाले बुझेर सम्पूर्ण विवरण जानकारी दिने बताए ।