विराटनगर/छिमेकी जिल्ला सुनसरीको धरान र इटहरी उप–महानगरपालिका बन्दा विराटनगरका जनतालाई लागेको थियो, अब हामी महानगरबासी हुने भयौं। तर, विराटनगर महानगरको सूचीमा परेन। महानगर बन्ने लय समात्न नसक्नुमा यहाँको विकास प्रमुख कारण रहेको धेरैको बुझाइ छ। नेपालको दोस्रो ठूलो सहर भए पनि विराटनगरले विकासको गति लिन सकेको छैन।

जनसंख्या बढ्दो छ तर आधुनिक सहरीकरणको परिकल्पना छैन। सडक अस्तव्यस्त छन्। रिङरोड साकार बन्न सकेको छैन। चार लेन सडक विस्तार बल्ल सुरू हुँदैछ। ढलनाला व्यवस्थित छैनन्।

महानगर सूचीमा विराटनगर नपरेपछि यो सहर नेपालको दोस्रो नभएर चौथो, पाँचौं स्थानमा पुग्ला कि भन्ने चिन्ता आम मान्छेमा छ। सुनसरीको धरान र इटहरीले विराटनगरलाई उछिन्लान् भन्ने पिर पनि पर्ने गरेको छ।

विराटनगर राजनीतिक ‘हब’ हो। विभिन्न कालखण्डमा मुलुक हाँकेका नेता विराटनगरले जन्माएको छ। तथापि, दलकै उदासिनताका कारण विराटनगरले विकासमा गति लिन नसकेको स्थानीय बताउँछन्। अर्थतन्त्रको हिसाबले विराटनगर मुलुकलाई योगदान दिनेमध्ये प्रमुख सहर पर्छ।

मुलुकमा बीस वर्षपछि स्थानीय निकायको चुनाव हुन गइरहेको छ। विराटनगरलाई यो चुनावले सम्भवतः सबैभन्दा पहिले तताएको छ। भित्री तथा मुख्य सहरमा चुनावी चहलपहल सुरू भएको छ।

स्थानीय निकाय निर्वाचनको तयारीमा राजधानीबाहिर सत्तारुढ दल अरुभन्दा अगुवा देखिएको छ। अन्य मुख्य दलमा उम्मेदवारको ‘मौखिक घम्साघम्सी’ चलिरहँदा नेकपा माओवादी केन्द्रले मेयर र उपमेयर दुबै उम्मेदवारको टुंगो लगाएको छ।

गत चैत ४ गते बसेको जिल्ला कमिटी बैठकले मेयरमा केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज भोगेन्द्र यादवको उम्मेदवारी पक्का गरेको छ भने उप–मेयरमा नगर इञ्चार्ज नमिता न्यौपानेलाई उठाउने निर्णय गरेको छ।

२०४८ सालबाट राजनीतिमा प्रवेश गरेका यादव पनि २०५२ सालबाट पार्टी राजनीतिमा सक्रिय भएका हुन्। उनी नेकपा एकता केन्द्र मसालमा थिए। एक समूह फुटेर जनयुद्धमा गयो, उनी मसालमै रहे। २०६४ सालमा दुबै पार्टी एकता भएपछि उनी मोरङका सह–इञ्चार्ज बनेका हुन्।

उनलाई पनि राजनीतिमा ल्याएको महेन्द्र मोरङ क्याम्पसले हो। विद्यार्थी जीवनमा राजनीतिमा प्रवेश गरेका उनी विराटनगरका ‘रैथाने’ जस्तै हुन्।