धरान/ ज्यानको बाजी दाउँमा राखेर अफगानिस्तानमा कमाएको पैसाले तेह्रथुम पञ्चन्या गाविसका भीमवरसिंह लिम्बूले सुनसरी धरानको ठिंगाबारीमा अढाई कठ्ठा जमिन किने । त्यही जग्गाको एक छेउमा टाउँको लुकाउने छाप्रो हाले । पहाड छाडेपछि उनको परिवार धान्ने त्यही अढाई कठ्ठा जमिन बरदान सावित बनिरहेको छ । ६ जनाको परिवार धान्ने मेलो बनिरहेको छ । उनले दैनिक गर्जो टार्नको लागि त्यही अढाई कठ्ठा जग्गामा सब्जी खेती थालेका छन् ।

अफगान पुगेकै साल २०६४ मै उनले ठिंगाबारीमा माटो किनेका थिए । साढे तीनवर्ष अफगानमा बसेपछि २०६७ को मध्यतिर उनी घर फिरे । अहिले उनले त्यही माटोमा झण्डै दुईवर्ष पौरख बजारे । २०७० मा मलेसिया होमिए । राम्रो कमाई नभएपछि दुईवर्षमै फर्किए । अहिले उनी दत्तचित्त भएर बाह्रैमास सब्जी खेतीमा तल्लिन छन् । बाह्रै महिना हरियो सागसब्जी फल्छ उनको बारीमा । सिजन अनुसारको बाली लगाउँछन् त्यही अढाई कठ्ठा माटोमा । यो बेला उनको बारीमा लटरम्मै टमाटर फलेको हुन्थ्यो । तर, यसपटक किरा लागेका कारण उनले सोचेजस्तो टमाटर उत्पादन हुन नसकेको बताए । तर, पनि वार्षिक २९–३० क्वीन्टल टमाटर उत्पादन हुने गरेको उनी बताउँछन् । ‘टमाटरबाट मात्रै ६०–७० हजार रुपैया वार्षिक आम्दानी हुने गरेको छ ।’ उनी भन्छन् ।

जमिन कम भएकाले घर खर्च र केही बचत भन्दा बढी हुन नसकेको उनी बताउँछन् । ‘जग्गै थोरै छ । धेरै हुँदा आम्दानी पनि धेरै हुने रैछ ।’ उनले थपे । भएको अढाई कठ्ठामा पनि घरले आधा कठ्ठा खाइदिएको छ । बाँकी रहेको जमिनमा उनी सिजन अनुसारको सब्जी खेती गरेर पारिवारिक गर्जो मात्रै टार्दैनन् । मासिक बचत र खुत्रुके बचत गरेर झण्डै महिनामा ५ हजार रुपैया सहकारीमा जम्मा गर्छन् । ‘खुत्रुकेमा मासिक २५ सय रुपैयादेखि ३५ सय रुपैया बचत गर्ने गरेको छु ।’ उनले भने, ‘अरुमा १ हजार बचत गर्छु ।’ आम्दानीको हिसावले उनी सन्तुष्ट छन् । तर, जग्गा कम भएकोमा उनी दुःखी छन् । उनको बारीमा हरियो सब्जीले बाह्रै महिना भरिएको हुन्छ ।

अहिले टमाटरले भरिएको बारी अर्को महिनादेखि फर्सी फल्न थाल्छ । त्यसपछि घिरौला, सागलगायत सब्जी फल्ने गरेको छ । सागबाट मात्रै उनले १५ देखि २० हजार रुपैया हात पार्छन् । जग्गा थोरै हुँदाको दुखेसो उनी यसरी पोख्छन्, सरकारले नेपालमै १५ देखि २० हजार रुपैयासम्मको रोजगार सिर्जना गरिदिने हो भने देशमै बसेर केही गर्ने वातावरण हुने थियो । तर, सरकारले त्यस्तो रोजगारको सिर्जना गर्न नसकेकै कारण दुईपटक विदेशिएका उनी अहिले दरिलो कमाई गर्ने स्रोतको पर्खाइमा छन् ।

यहाँ कमाई गरेको रकम घर गर्जो टार्दैमा सिधिने समस्याका कारण उनी भरपर्दो स्रोतका खोजीमा जुट्न थालेका छन् । ‘गर्दा यही प्रसस्तै छ । तर, ठाउँ अभाव छ । थोरैमा गरेको घरखर्चमै सकिन्छ ।’ उनी गुनासो पोख्छन् । युवा पलायनलाई रोक्नको लागि कृषिमा सम्भावना भए पनि उत्पादन भएको सब्जीलाई बजारसम्म पुर्याउन र बजारमा लगेर उचित भाउ पाउनबाट किशानहरु चुक्ने गरेका छन् । यसतर्फ सरकारले ध्यान दिने हो भने कृषिमा अत्यधिक सम्भावना रहेको कुरालाई उनी नर्कादैनन् । तर, सरकारले त्यसतर्फ ध्यान नदिँदा हामीजस्ता यूवाहरु विदेश भन्दा अर्को बाटो नभएको उनको तर्क छ । यसतर्फ सरकारले पनि ध्यान दिने हो कि ?