Jungle-Fire

शनिश्चरे, मोरङ–

उत्तरपूर्वी मोरङको चारकोशे क्षेत्रको वनमा यसबेला दैनिकजसो डढेलो लाग्ने गरेको छ । डढेलो निभाउन स्थानीय तथा वन कर्मचारीको सक्रियता देखिएको छैन । बयरवनको कानेपोखरी उत्तरको चारकोशे जङ्गल क्षेत्रमा आइतबार मात्र तीन स्थानमा डढेलो लागेको छ । दिनभरी डढेलो लाग्दा पनि त्यहाँ कसैले निभाउन चासो देखाएको छैन । यहाँसम्मकि इलाका वन कार्यालय कानेपोखरीबाट ५ सय मिटर उत्तरपूर्वमा डढेलो लागेर जङ्गल धुँवामग्न हुँदा समेत वन कर्मचारी देखेको नदेख्यै गरिरहेका छन् । त्यसभन्दा उत्तर लेटाङभोगटेनी नगरपालिकाको लेटाङ बजार दक्षिणमा पनि केही दिनअघि केही हेक्टर क्षेत्रमा डढेलो लागेको छ । बयरवनस्थित ग्रामीणसुधार सामुदायिक वन क्षेत्रको दहीखोला आसपासमा लगातार तीन दिन डढेलो लागेको थियो । त्यसभन्दा पूर्वको सीता छधारे पथरीशनिश्चरेको क्षेत्रमा पनि डढेलो लागेको छ । घाँस दाउरा काट्ने तथा गोठाला जानेले डढेलो लगाएको स्थानीयले बताएका छन् । डढेलो लागेको घण्टौंपछि मात्र जानकारी पाएर आगो निभाउने गरेकाले त्यहाँको पूर्वपश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा दैनिक धुँवाको मुश्लोले वातावरण समेत प्रदूषित गर्दै आएको पथरी बजारका मनोज श्रेष्ठले बताए । ‘सडक छेउसम्म डढेलो लागिरहँदा पनि निभाउने चासो कसैमा देखिँदैन’, उनले भने । लेटाङभोगटेनीको लेटाङ बजार सिरानको टुक्रे वनमा पनि रहस्यमय रुपमा रुखका टुप्पा टुप्पामा डढेलो लागेको थियो । डढेलोका कारण कैयौं हेक्टर वन क्षेत्रका रुख बिरुवा तथा जीवजस्तु नष्ट भएका छन् । इलाका वन कार्यालय कानेपोखरीका प्रमुख भोला चौधरीले आप्mनो क्षेत्रको वनमा डढेलो लागेपनि तत्काल नियन्त्रण गरिएको दावी गरे । तर आइतबार उनीसँग कुरा भइरहेको समयमा त्यसआपसपास तीन ठाउँमा डढेलो लागिरहेको र कसैले ननिभाएको अवस्था देखिन्थ्यो । ‘डढेलो लागेको खबर पाएपछि जङ्गल पुग्दा र त्यसलाई पूर्ण नियन्त्रणमा लिँदासम्म निकै क्षेत्र डढिसकेको हुन्छ । निभाउने स्रोत, साधन पनि कमि छ’, ग्रामीण सुधार सामुदायिक वन समूहका पूर्व अध्यक्ष हरि पौडेलले भने, ‘यस वर्ष पनि निकै ठाउँमा डढेलो लाग्न पुग्यो । डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्न सबै लाग्नु पर्छ ।’ उनले डढेलो लगाउँदा घाँसका नयाँ पालुवा चाँडो आउने भन्ने परम्परागत सोचले समेत जोकोहीले वनमा आगो लगाउने गरेकाले चेतना विकासको समेत उत्तिकै आवश्यकता भएको जनाए । ‘बेला बखतका कार्यक्रममा डढेलो लाउन नहुने कुरा सुनाउँछौ, तर त्यतिले मात्र पूर्णरुपमा काम गरेको छैन’, उनले दुखेसो पोखे । उता, सेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख एकराज दहालले भने अघिल्ला वर्षको तुलनामा यो वर्ष डढेलो कम लागेको दावी गरे । यो वर्ष मौसम ज्यादै सुख्खा निरन्तर रहेपनि अघिल्ला वर्षभैmं डढेलो नलागेको भन्दै थपे, ‘यस वर्ष डढेलो नियन्त्रण सप्ताहको कार्यक्रमबाट धेरै जनचेतना बढेकाले डढेलो लगाउने मानसिकता कम भएको छ र डढेलो लागिहालेमा पनि तत्काल निभाउने सक्रियता छ ।’ डढेलो लगाउनेको पहिचान गरी कारवाहीका लागि जिल्ला वन कार्यालयले उर्दी गरेको छ । तर डढेलो लगाउने कोही पनि पक्राउ परेका छैनन् । ‘स्थानीयले डढेलो लगाउने मान्छे नचिनाउने भएकाले पक्राउ गर्न समस्या भएको छ । अघिल्ला वर्षको तुलनामा यो वर्ष हालसम्म डढेलो कम लागेको छ ।’, जिल्ला वन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवालीले भने । उनले वन कर्मचारीबाट कमि कमजोरी भएको भए आपूmले तत्काल एक्सन लिइ डढेलो नियन्त्रण गराउने जवाफ दिएका छन् । उनले चोरी–शिकारी गर्नेहरुले डढेलो लाउने गरेको समेत जानकारी आएको बताए । जिल्ला वनले डढेलो नियन्त्रणका लागि तत्काल सम्बन्धित सामुदायिक वन र वन कर्मचारीलाई सक्रियता अपनाउन फागुन १६ देखि २२ सम्म डढेलो नियन्त्रण सप्ताह सञ्चालन गरेको थियो । वनमा आगलागी गर्नेलाई १० हजार जरिवाना र १ वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।