विराटनगर/ प्रदेश सरकार र स्थानीय तहको संयोजकत्वमा विराटनगरको सिंघिया खोला सरसफाइ अभियान शुरु भएको छ ।
सिंघिया खोलाको अस्तित्व जोगाउने भन्दै स्थानीय ५ वटा पालिका र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबारदेखि खोला सफाइ अभियान शुरू गरेको हो ।

विराटनगरको बुद्धचोकबाट बाजागाजासहित सरसफाइ गर्न निस्किएको टोलीले घिनाबाटबाट सरसफाइ शुरु गरेको छ । यो अभियानको शुभारम्भ हुनुभन्दा अगाडि सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले खोलालाई पूजा गरेर सरसफाइ अभियान शुरुवात गरेका थिए ।

शुभारम्भको क्रममा सिंघिया खोलाको अस्तित्व सङ्कटमा परेकाले सबैको सहयोगबाट सिंघिया खोलो सफाइ गरिने बताए । पहिलो चरणमा विराटनगर महानगरपलिका र बुढीगङ्गा गाउँपालिकाको सीमा पुष्पलाल चोकको पूर्वमा रहेको घिनाकाटको पुलबाट सरसफाइ अभियानको शुरु गरिएको थियो ।

सरसफाइ अभियानमा मन्त्री घिमिरे, नगरप्रमुख पराजुलीसमेत विभिन्न सङ्घ संस्था, टोल विकास संस्थाहरूको समेत उपस्थिति थियो । लायन्स, लियो, माडवारी युवा मञ्च तथा परिषद्हरू, पालिकाका वडाअध्यष, वडा वासीहरूको सहभागिता रहेको थियो । सरसफाइ अभियानमा ठुलो सङ्ख्यामा सर्वसाधारणको भीड देखिए पनि सरसफाई गर्ने क्रममा भने कमै देखिन्थे । नेपाली सेना र नेपाल प्रहरीसहित सशस्त्र प्रहरीको ठुलो टोली सरसफाइमा पानीमा पस्नेदेखि पानीबाट फोहोर निकाल्नका व्यस्त थिए ।

विराटनगरको घिनाघाटदेखि दक्षिण भागसम्मको १० किलोमिटरलाई पहिलो चरणमा नमुनाको रूपमा अभियान शुरु भएको हो । जसमा खोलाको नाप तथा नक्साङ्कन, अतिक्रमित जग्गा खाली गर्ने, खाली जग्गाहरूमा वृक्षरोपण गर्ने तयारी पनि सिंघिया खोला सरसफाइ अभियानमा हुने विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले बताए । यो सरसफाइ अभियानलाई दीर्घकालीन योजनाका साथ शुरु भएको उनले बताए ।

सिंघिया खोलाको हात्तीमुडादेखि घिनाघाटसम्मको १२ किलोमिटर, घिनाघाटदेखि दक्षिण भाथिगछसम्मको १० किलोमिटर र भाथिगछदेखि नेपाल भारत सीमा क्षेत्रसम्मको १० किलोमिटरलाई फरक फरक क्लष्टर विभाजन गरी सरसफाइ अभियान शुरु भएको छ । अभियानमा प्रदेश सामाजिक विकास मन्त्रालय, बुढीगङ्गा गाउँपालिका, ग्रामथान गाउँपालिका, कटहरी गाउँपलिका र जहदा गाउँपालिकासँगको संयोजनामा यो अभियान शुरु भएको हो ।