उदयपुर/ उदयपुरको कर्णाली भनेर चिनिएको लिम्चुङ्बुङबासीलाई युवाहरूले विद्युत् उत्पादन गरी गाउँलाई झलमल्ल बनाएका छन् ।
 
लिम्चुङ्बुङ गाउँपालिका वडा नं. १ को राजीमा खोलाबाट तीन किलोवाट क्षमताको विद्युत् उत्पादन गरी युवाहरूले गाउँमा बत्ती बालेका हुन् । जिल्लाकै विकट गाउँको राजीमा खोलाको रुप्ला छहराबाट पेल्ट्रिकसेट जडान गरी तीनहजार वाटको विद्युत् उत्पादन गरिएको स्थानीय बताउँछन् ।
 
स्थानीय युवा सिमसन राईको सक्रियतामा सागर राई, अनिल राई, नयन राई, सुमन राई, रमन राई र भुवन राईको सहयोगमा सामग्री खरिद, ढुवानी र जडान गरी विद्युत् उत्पादन गरी रातमाटे र वरबोटे गाउँका ५ घरमा बत्ती बाल्न सफल भएको सिमसन राईले बताए । युवाहरूको सक्रियतामा आफ्नै मेहनतले कात्तिकदेखि गाउँमा विजुली बाल्न सफल भएको राईले बताए ।
 
सोलुखुम्बु घुम्न जाँदा सोलू हाईड्रोपावर देखेपछि खेतमा प्रयोग गरी खेर गएको पानीलाई सदुपयोग गरेर आफ्नै गाउँमा विद्युत् निकाल्ने सोच पलाएको राईले बताए । राईले भने, ‘सोलुको होईड्रोपावरबाट पेल्ट्रिकसेट निर्माण गर्ने प्रेरणा मिलेकोले काठमाडौंबाट डाइनामो किनेर डाईनामोलाई घुमाउन प्रयोग गरिने पङ्खा आफैले बनाएको हुँ ।’ पानीको फोहराले पङ्खा घुमाई पङ्खाको सहायताबाट डाइनामो घुमेपछि मात्रै विद्युत् उत्पादन हुने भएकाले पङ्खा पाइपको बनाएको राईले बताए । छहरामाथिबाट ६३ एमएमको पाइपद्वारा करिब १ सय ३० मिटर ओरालो पानी झारेर डाइनामो घुमाइएको राईले बताए । 
 
पेल्ट्रिकसेटको सामान र तार खरिदको लागि करिब १ लाख २० हजार खर्च लागेको थियो । ५ घरले बराबर पैसा तिरेर डाइनामो, तार, पाइपलगायतका पेल्ट्रिकसेटलाई आवश्यक पर्ने सामान काठमाडौंबाट आफैले किनेर ल्याएको किनेको राईले बताए ।
डाइनामो जडान, पाइप, तार, बत्तीलगायतको काममा राईलाई अन्य युवाहरूले सहयोग गरेका थिए । विद्युत् उत्पादन भएपछि गाउँमा झलमल्ल बत्ती बलेको छ । पेल्ट्रिकसेटको कन्ट्रोलर नभएको कारण एक घरमा बत्ती अफ गर्दा अर्को घरको बत्ती जल्ने समस्या आउने गरेको छ । करिब १०/१२ घरसम्म बत्ती बाल्न सकिने क्षमता भए पनि घरहरू टाढा–टाढा र कन्ट्रोलर नभएको कारण घरमा ७ वटासम्म बत्ती बाल्नुपरेको राईले बताए । 
 
सडक र विजुलीको कल्पनासमेत नगरेको गाउँमा स्थानीय सरकार आएपछि सडक पुगे पनि विजुली बत्तीको लागि सहजै कल्पना गर्न सकिने अवस्था थिएन । युवाहरूको सक्रियतामा बत्ती बाल्न सफल भएपछि गाउँलेहरू खुशी भएको युवा सागर राईले बताए । 

विद्युत् उत्पादन भएपछि बत्ती, मोबाइल चार्ज, ल्यापटप चार्ज, रेडियो सुन्न र विद्युतीय सामग्रीहरूको प्रयोग सहज भएको छ । पहिले बाँसको भाटा, दाउरा, सल्लाको खोटो, मट्टितेल बालेर राति घरको धन्दा गर्नुपर्ने थियो । तर पछि आएर सोलारको बत्ती बाल्न पाइएकोमा अहिले विजुली उत्पादन गरी बत्ती बाल्न पाउँदा नसोचेको कुरा भोग्न पाएको ७६ वर्षीया इन्द्रसरी राईले बताइन् । ‘जमाना फेरिँदो रै’छ । पहिले र अहिलेमा धेरै फरक भइसकेको छ’–राईले भनिन् । जाँतो पिस्दा, ढिकी कुट्दा, खाना पकाउँदा, साँझको खाना खाँदा बाँसको भाटा बाल्ने, दाउरा बाल्ने र मट्टितेल बाल्ने चलन हराएको राईले बताइन् ।
 
शहरमा मात्र देखेको विजुली आफूले बालेर उपभोग गर्ने कल्पनासमेत नगरेको तर छोरा–नातिको मेहनतले गर्दा आफूले बाल्न पाएकोमा राईले खुशी व्यक्त गरिन् । यसरी नसोचेको र कल्पना भन्दा बाहिरको कुराको उपभोग गर्न पाउँदा साह्रै खुशी लागेको राईले बताइन् । ‘राति पनि दिउँसो झैँ झलमल्ल उज्यालो देखिन्छ’ –राईले भनिन् । थोरै लगानीमा पनि विद्युत् उत्पादन गर्न सकिने रहेछ भन्ने उदाहरण युवाहरूले पेश गरेकोमा स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ । यसरी युवाहरू लाग्ने हो भने कुनै सरकारी वा गैरसरकारी सङ्घ–संस्थाहरूको मुख ताक्नु पर्ने छैन ।