इटहरी/ इटहरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको स्पोर्टस् मिट यो वर्ष माघ ६ गते देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ ।  स्पोर्टस् मिटमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबलका खेलहरू समावेश गरिएको कार्यक्रम संयोजक एवम् हिसान सुनसरीका सदस्य सागर भट्टराईले जानकारी दिए ।  समावेश गरिएका प्रतियोगिताहरू धरान र इटहरीमा हुनेछन् ।

जसअनुसार फुटबल धरानस्थित एन्फा कम्प्लेक्समा, बास्केटबल डिपो माविमा र हाजिरीजवाफ धरान कलेज अफ म्यानेजमेन्टमा सञ्चालन गरिने बताइएको छ । इटहरीमा क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुने भएका छन् । क्रिकेट डिभिएम स्कुल परिषरको मैदानमा र भलिबल इटहरी रङ्गशालामा हुने भट्टराईले जानकारी दिए ।

भलिबलका लागि पूर्वाञ्चल भलिबल सङ्घका सदस्य विक्रम थापा, क्रिकेटका लागि सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सीपी पौडेल, बास्केटबलका लागि सुनसरी जिल्ला बास्केटबल सङ्घका सचिव विकास चाम्लिङ राई र फुटबलका लागि सुनसरी जिल्ला खेलकुद विकास समितिका सदस्य गोपाल कार्कीलाई व्यवस्थापनको जिम्मेवारी तोकिएको प्रतियोगिता संयोजक भट्टराईले बताए ।

हिसानमा आबद्ध सुनसरी जिल्लाका ३३ विद्यालयले स्पोर्टस् मिटमा सहभागिता जनाउने छन् । १ हजार भन्दा बढी विद्यार्थीले प्रत्यक्ष रूपमा सहभागिता जनाउने र ६ हजारभन्दा बढी विद्यार्थी अप्रत्यक्ष रूपमा सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च लाग्ने र सो खर्च हिसान सुनसरी आफैंले आन्तरिक रूपमा सङ्कलन गर्ने बताइएको छ ।