वस्तुतः वर्तमान विश्व अर्थराजनीति पुँजीवादी उत्पादन सम्बन्धमा आधारित रहेकोछ । यसमा नाफा, एकाधिकार, हैकम, हस्तक्षेप र प्रभुत्व विस्तारको केन्द्रीय रणनीति हुनेगर्दछ ।

यो राष्ट्रियरुपमा दलाल र अन्तरराष्ट्रिय रुपमा नवऔपनिवेशिक पुँजीवादमा अभिव्यक्त भइरहेकोछ । अझ पछिल्लो समय यसले क्रोनी क्यापीटलीज्म (आसेपासे पुँजीवाद) को प्रतिनिधित्व गरिरहेकोछ ।

मुलतः यस्तो अर्थराजनीतिमा आत्म, आफन्त र व्यक्तिकेन्द्रीत स्वार्थ चरम रुपमा हुनेगर्दछ । यस्तो निहीत स्वार्थले एकआपसमानै अस्वस्थ्य प्रतिष्पर्धा र निशेधात्मक होडवाजीलाई प्रश्रय दिन्छ ।

आफु-आफुमा निकृष्ट स्वार्थजन्य चलखेल र षड्यन्त्रहरु प्रभावी हुन्छ । निहीत स्वार्थकै कारण अवसरहरुमा लुछाचुँडी हुन्छ । यसको लागि ट्याक्ट्फुल्ली साम, दाम, दण्ड र भेद जस्ता राम्रा नराम्रा सबै तरिकाहरु अपनाउनै पर्दछ ।

सामन्यतय सिपालु सफल हुन्छ, सिकारु सिक्दैजान्छ भने प्रिन्सीपल्ली नरुचाउनेहरु पाखा लाग्दैजाने कटु स्थिति बन्दछ ।

यसरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा व्यक्तिगत स्वार्थजन्य अर्थराजनीतिक सम्बन्ध हाबी भइरहेको वस्तुगत परिवेशमा मुल्य, आदर्श र पद्यतिको राजनीति शुन्यतामा हुन्छ ।

यसमा जसरी, जे गरेर, जहाँबाट, अनि जोबाट गरिएपनि स्वार्थ सिद्धीको मुल रणनीति मात्र हुन्छ । तब कुनै पनि व्यक्ति, समुह, संस्था, समुदाय अनि दलहरु आफ्नो निहीत स्वार्थ पुरा गर्न न्युनतमरुपमा चतुरो, चलाख, चम्बु र चङ्खो बन्नू अनिवार्य हुन्छ ।

चलखेल र चोचोमोचो मिलाउनैपर्दछ । चङ्खो र चलखेलमा डिस्टीङ्शन ल्याउनेहरु साथै सिद्धान्ततः आदर्श र मुल्यको राजनीति नचाहनेहरु यही छड्के डुङ्गाबाट भेलवाडी तर्नेगर्दछ अनि सिकारुहरु पानीखाँदै डुब्दै भोगाइको अनुभव मार्फत तर्नेहरुको पछिपछि लाग्नेगर्दछ ।

यता सिद्धान्त, आदर्श र मुल्यलाई आत्मसात गर्नेहरुको स्वर भने झिनो हुँदैजान्छ ।

वस्तुतः तेरोमेरो कै कारण यतिखेर पैसा, पद, पावर, पकड, प्रभाव र प्रभुत्वको व्यवसायिक खेती औधीनै मौलाएकोछ । यसलाई हार्दिक पेशा बनाउन नसक्नेहरु हातमुख जोर्न धौधौ देखिन्छन् ।

रङ्गीन राजनैतिक रङ्गमञ्चबाट त उनीहरु झनै दूर हुँदैछन् । पैसाको लागि भ्रष्टाचार, कमिशन, तष्करी, ठगठाग, ढाँटढुँट, लुटलाट र छलछाम मुख्य एजेण्डा बनीरहेकोछ, जसको लागि ट्याक्टफुल अनिवार्य शर्त हुन्छ ।

ट्याक्टफुल भित्र जघन्य अपराध परे अन्यथा हुनेछैन । त्यस्तै पद प्राप्तीको शूत्र भिन्न छैन ।

यसको लागि सिद्धान्त, विचार, आदर्श र मुल्यमान्यताहरुलाई लिलाम गर्नु पहिलो सूत्र हो । गुटगत नेताको धुरी खोज्दै पछिपछि लाग्नु, चाकरी-चाप्लुसी, साँठगाँठ, मानसम्मान र जीउहजुरीको लागि चरम शिष्टता, आडम्बर र ढोंगको साहरा लिनु दोस्रो बाठो कायदा हो । यिनीहरु पद प्राप्त गर्ने ट्याक्टफुल कडीहरु हुन् । 

त्यसैगरि चाहेर पनि पैसा र पद बिना पावर इन्टरटेनमेन्ट संभव हुँदैन । यसको लागि पनि आदर्शको राजनीतिलाई कौडीको मुल्यमा लिलाम गर्नैपर्दछ ।

अझ कम्युनिष्ट आदर्शको त कुरै नगर्दा हुन्छ । कम्युनिष्ट आन्दोलनलाई जीवन आदर्श मानेर लाग्नेहरुको लागि यो भन्दा अभिशाप अरु के नै होला र ? आज देखावटी, बनावटी, रुपवादी, आडम्बरी र ढोंगी सँस्कृतिले सबै न्युनतम मानवीय मुल्यमान्यताहरुलाई विकृत पारेकोछ ।

क्रान्तिकारी मुल्यमान्यताहरुको त झन कुरै नगर्दा हुन्छ । उपभोगवादी सँस्कृतिले हरेक मान्छेको कार्यशैली, जीवनशैली, मनोविज्ञान, चिन्तन् र मनन् गर्ने पद्यतिलाई दुषित बनाइरहेकोछ ।

यस्तो परिवेशमा कुनै पनि वस्तु वा सत्ता विधि र प्रक्रियाको मुल्यद्वारा निर्देशित हुन्छ भन्नु बैचारिक दरिद्रता अरु केही होइन । कुरा, कानुन, भाषण र वक्तव्यवाजीहरुमा जायजै विषयहरु उठाइए पनि व्यवहारिक कार्यान्वयन उपभोगवादी राजकीय वर्गचरित्रको सत्ताबाट संभव हुँदैन ।

तर प्रश्न बिडम्वनापूर्णछ कि, धेरैलाई यति ज्ञान पनि छैन ।

पछिल्लो समय विश्वभरीनै लोकतन्त्रलाई अपरिवर्तनीय र अकाट्य शासकीय पद्यतिको रुपमा व्याख्या गरिदैछ । यही लोकतन्त्र पदावलीकै कभरमा शासकहरुले आफ्नो गैरन्यायिक शासनव्यवस्थालाई ढाकछोप गरिरहेकाछन् ।

उनीहरु लोकतन्त्रमा जनतालाई चुन्ने र चुनीनै दुबै अधिकारहरु एकसाथ सुनिश्चीत हुने भन्दै भावनात्मक ब्लाकमेलिङ्ग गर्दैआएका छन् । यद्यपि वर्तमान चुनावी राजनीति तपाइ हामीले पञ्चायत देखिनै भोगेको, देखेको अनि राम्ररी अनुभत गरेकै विषय हो ।

वास्तवमा चुनावी राजनीति आफ्नो शाष्त्रीय परिभाषागत आदर्शबाट धेरै विरानो भइसकेको छ । चुनावमा पैसाको चलखेल र खर्च गराईको भोल्युम हेर्दा यो कति विकृत हुँदैछ सजीलै अनुमान गर्न सकिन्छ ।

कठै हाम्रो राजनीति, कठै हाम्रो गणतन्त्र-लोकतन्त्र, कठै हाम्रो चुन्ने र चुनीने अधिकार, कठै वालीग मताधिकार, कठै मौलिक अधिकार अनि कठै जनअधिकार । सबै लोकतान्त्रिक मुल्यमान्यताहरुलाई पुँजीवादी उपभोगवादले खाइसकेको छ ।

झन् कम्युनिष्ट शाष्त्रीय मुल्यमान्यताहरुको त हरीविजोग र कन्तविजोग देखिन्छ । सत्य, सही र न्यायपूर्ण हुँदाहुँदै पनि कम्युनिष्ट आदर्शहरुमा कालो धब्बा लागेको देख्दा दुःख लाग्छ ।

यतिखेर कम्युनिष्ट पार्टीकै नेत्रृत्वमा सरकार छ । तर कम्युनिष्ट मुल्यमान्यताहरुलाई संस्थागत गर्न हम्मे परिरहेको भान हुन्छ । सिद्धान्ततः दलाल उद्योगी, व्यवसायी, व्यापारी, निजी अस्पताल, कलेज सञ्चालक र जग्घादलालहरु कम्युनिष्ट पार्टीमा अटाउनसक्दैन ।

यस्तो वर्ग अटाउने पार्टी वा सरकारको पक्कैपनि केही सिमा, बन्धन र बाध्यताहरु हुन्छ नै । हुनत चुनाव वेस्ट कम्युनिष्ट पार्टीको लागि मास वेस्ट पार्टी अनिवार्य हुन्छ । यसले पटकपटक चुनाव जिताउने अनि सरकार चलाउने काम पक्कै पनि गर्दछ ।

तर कम्युनिष्ट आन्दोलन अन्तरगतको ऐतिहासिक प्रक्रियामा समाजलाई रुपान्तरण गर्न भने संभव हुँदैन ।

परिणामस्वरुप आज साम्यवाद, समाजवाद, जनवाद, जनतन्त्र, जनजीविका, राष्ट्रियता, न्याय र समानता जस्ता आन्दोलनको प्रक्रियाहरु नितान्त रक्षात्मक अवस्था छ, जुन कम्युनिष्ट मुल्यको चरणवद्ध रुपान्तरणको ऐतिहासिक प्रक्रियाहरु हुन् ।

लेखाई, सिद्धान्त, भाषण, बाेली अनि विज्ञाप्ती जस्ता सबै शब्द भाव र शब्द्शैलीमा खोट कतै देखिन्न । यद्यपि बिग्रीएको यसको व्यवहारिक कार्यान्वयनमा हो ।

यतिखेर सम्पूर्ण वस्तु र सत्तामा प्रभाव, पहल र प्रभुत्वको बर्चश्व रहेकोछ । उदाहरणको लागि उम्मेदवारको हल्लीखल्ली प्रचारवाजी, उम्मेदवार घोषणा, चुनाव लडाई, जिताई, सांसद र मन्त्री नियुक्ती गराई सबैतिर पैसाको मोलमोलाईछ ।

राजदूत, विदेशी नियोग, स्वदेशी आयोग, संवैधानिक आयोग, वैधानिक कार्यालय, वोर्ड अध्यक्ष, संस्थान अध्यक्ष, महाप्रवन्धक, कार्यकारी निर्देशक अनि सदस्य सचिव सबैको चर्को मुल्यमा खरिदबिक्री भइरहेको छ हल्ला छ ।

वैधानिक कमिशनतन्त्रको बाेलबालाछ । यसले वस्तुतः राजकीय सत्ताको वर्गचरित्र, पद्यति, विधि र सँस्कृति परिवर्तन नभएको प्रष्ट हुन्छ । साधरण जनताको अहिले पनि सजीलो पहुँच छैन ।

राज्यशक्तिसँग निकट हुनेहरुको हालीमुहाली विगतमा जस्तैछ, जुन राणा, पञ्चायत अनि बहुदलमा थियो । त्यसैले सोध्न मन लाग्छ जनताले चाहेको गणतन्त्र यही हो ? सङ्घीयता, समावेशी, समानुपातिक र धर्मनिरपेक्षताको वर्गचरित्र यस्तै हो त ? विचीत्रता र विडम्वनाको यक्ष प्रश्नहरुले आफैलाइ घोचीरहेको अनुभुती हुन्छ ।

सबै ढोेंग, आडम्बर, चाल-ढाल, चरित्र, चर्तीकला, चुरीफुरी, चाकरी-चाप्लुसी, चोचोमोचो, चलखेल र चरणकमलम् निरङ्कुश पञ्चायतको गुरुत्वकेन्द्र वरीपरीनै घुुमीरहेको देखिन्छ ।

वास्तवमा कम्युनिष्ट स्कूल अफ थटमा विस्वास गर्ने वा रुपान्तरणको प्रक्रियालाई आफ्नो आदर्श मान्नेहरु यतिखेर नतमस्तक देखिन्छन् । समाज रुपान्तरणलाई ऐतिहासिक प्रक्रियाको रुपमा आत्मसात गर्नेहरु नितान्त रक्षात्मक रहेकोछ ।

साहस, त्याग र बलीदानहरु बेअर्थी, बेढङ्गी र बेमौसमी भएकोछ । परिवेश यस्तो भइसक्यो कि अब  धेरै सिद्धान्त, आदर्श, मुल्य, पद्यति र प्रक्रियाको कुरा गरिरहे पागल वा गफाडीको ट्याग झुण्डीने खतराछ ।

नेता रिसाउला भन्ने त्राश । भावी चुनावमा टिकट नपाइएला भन्ने आतङ्क । कम्युनिष्ट मुल्यहरु माटोमा मिलाइदेला भन्ने पीर । त्याग र लगानी चपाइदेला भन्ने चिन्ता ।

माहौलको रन्को छुट्ला भन्ने डर अनि अवसरहरु गुम्ला भन्ने सन्त्राश व्यप्त छ । यस्तो बेला कम्युनिष्ट आन्दोलनको बहस उठाउनु चानचुने त्याग र सहास पक्कै पनि होइन ।

किनकी, सही र गलत नखुट्याइनै माहौलको पछि दौडिने प्रवृत्ती मौलाएकोछ, जसलाई अवसरवादको पराकाष्ठ भनिन्छ ।

वस्तुतः विभेद र अन्यायको विरुद्ध समानता र न्याय स्थापित गर्ने ऐतिहासिक प्रक्रियानै कम्युनिष्ट आन्दोलन हो । विकृती र विसङ्गतीको विरुद्ध सुकृती र सुसङ्गती भित्र्याउने अनि हेलाहोचो विरुद्ध सम्मानको थिति बसाल्ने सङघर्षको रुपान्तरणमुखी पद्यतिनै कम्युनिष्ट आन्दोलन हो ।

तर आज उपभोगवादले गाँजेको पुँजीवादी अर्थ राजनीतिक सम्बन्धले सबै मुल्यमान्यताहरुलाई चरम भ्रष्टिकरण गरेकोछ । यहाँसम्म कि अन्यायको विरुद्ध लड्ने, न्याय र समानता स्थापित गर्ने अनि उत्पीडित जनतालाई सचेत र सङ्गठित गर्ने अचूक विधि हुँदाहुँदै पनि आज विकृत, आडम्बरी र उपभोगवादी राजनीति सामु कम्युनिष्टहरु कम्जोर देखिन्छ ।

यो सर्वाधिक दुःख, दूरभाग्य र विडम्बनाको सवाल हो । देश, काल, परिस्थिति र विज्ञान-प्रविधिको व्याख्या विश्लेषण गर्दागर्दै कम्युनिष्टहरु पनि उनीहरुकै म्युजिकटू याकमा शरिर हल्लाउन थालेका छन् ।

होइन भने रुपान्तरणको ऐतिहासिक प्रक्रिया कुन विन्दुबाट प्रारम्भ हुन्छ ? विकृत राजनीतिलाई विस्थापन गरी सुकृत र सभ्य राजनीति आरम्भ गर्ने आधारहरु के-के हुन् ? न्युनतमरुपमा कम्युनिष्ट आन्दोलनको कखरा बुझ्नेहरुलाई यस्तै गम्भीर यक्ष प्रश्नहरुले सताइरहेकोछ ।

त्यसैले कम्युनिष्ट मुल्यको राजनीति विकास गर्न छलफल र विमर्शहरुको खाँचो देखिन्छ ।

तसर्थ, मुल्य र थितिको राजनीति स्थापित गर्ने हो भने कम्युनिष्ट आन्दोलनलाई आजको रक्षात्मक अवस्थाबाट माथि उठाउँनै पर्दछ । पुँजीवादी अर्थराजनीतिक सम्बन्धको विकल्प पक्कै पनि समाजवादी अर्थराजनीतिक पद्यति नै हो ।

यस्तो पद्यतिको स्थापना भोजभत्तेरमा रमाएर अनि गुच्छा खेलेर संभव छैन । यसको लागि आन्दोलनको ऐतिहासिक प्रक्रियामालाई अघि बढाउनैपर्दछ । मुलतः आत्मकेन्द्रीत व्यक्तिवादी स्वार्थमा आधारित पद्यतिनै सवै राजनैतिक विकृती र विसङ्गतीहरुको जिम्मेवार कारणहरु हुन् ।

आज सिङ्गो राष्ट्रिय राजनीतिमा भ्रष्टाचर, कमिशन, तष्करी र पैसाको लेनादेना र मोलमोलाई हावी हुनु भनेको तेरोमेरो स्वार्थद्वारा निर्देशित अर्थराजनीतिक सम्बन्धकै परिणाम हो ।

यसमा व्यक्ति वा समुह गौण पक्ष हो । अर्थात मुल पक्ष वा मुहान भनेको शासकीय अर्थराजनीतिक सम्बन्धनै हो । तसर्थ यसको अन्त्य सामुहिक र सामजिक स्वार्थमा आधारित राज्यरुपद्वारा मात्र गर्न सकिन्छ ।

अर्थात भ्रष्टाचार लगायतका विकृती र विसङ्गतीहरुको अन्त्य समाजवादमा मात्र संभव हुन्छ । किनकी आजको यावत खराबीहरुको कारक तत्व भनेको निजी-नाफामा आधारित अर्थराजनीतिनै हो ।

आज पुँजीवादले उपभोगवादी आडम्बर, ढोंग, तडक-भडक र रवाफीलो संस्कारलाई मलजल गरिरहेको छ । यस्तो अर्थराजनीतिले समाजलाई सभ्य, उन्नत, विवेकशील र सुसँस्कृत बनाउन सक्दैन ।

सु-सँस्कृत र उन्नत समाजको आधार भनेको समाजवादी जनसँस्कृतिनै हो । त्यस्तै अति औपचारिकता, शिष्टता र श्रद्धावादको साँस्कृतिक विकल्प वैज्ञानिक, वस्तुवादी र व्यवहारिक जनसँस्कृतिनै हो ।

त्यो भनेको कम्युनिष्ट अर्थराजनीतिद्वारा निर्देशित जनसँस्कृति हो । यस्तो सँस्कृति मात्र कम्युनिष्ट रणनैतिक उद्देश्यमा सहयोगी हुन्छ । वस्तुतः उपभोगवादी वुर्जुवा वर्गचरित्रको अर्थराजनीतिले सुनामी जस्तो उर्लीएको विकृती र विसङ्गतीहरुलाई रोक्न सक्दैन ।

किनभने यो सबै विकृती र विसङ्गतीहरुको मुहान भनेको निजी अर्थराजनीतिनै हो । फोहोर सफा गर्नुपर्ने मुहानमै देखिन्छ । त्यो मुहान सफा गर्नु भनेको पुँजीवादी डङ्गुरलाई हटाएर समाजवाद स्थापना गर्नु हो ।

मुहान सफा राखेपछि खोला सङ्लिने सिलसिला आरम्भ हुन्छ । यही प्रक्रिया अन्तरगत समग्र राष्ट्रिय राजनीतिमा सिद्धान्त र मुल्यको राजनीति स्वतः सुनिश्चीत हुँदै जानेछ ।