रङ्गेली / चौथो अंगको रुपमा रहेको संचार क्षेत्र जिम्मेवार र मर्यादित हुनु पर्ने प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले बताएका छन् ।  सुरक्षित पत्रकारिताको लागी दण्डहिन्ताको अन्त्य विषयक विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्रि कार्कीले पत्रकारिता क्षेत्र जति मर्यादित हुन्छ समाज त्यति नै जिम्मेवार हुने बताए । पत्रकारको लेखाइ,बोलाइ र टिप्पणीले कसैको जिवननै तहसनहस भएको देखेको पनि उनले बताए । संचार माध्यममा समाचार आएकै कारण आत्माहत्यासम्म गरेको उदाहरण रहेको उनले स्मरण गरे । उनले पत्रकारको नाम,जात धर्म, लिङ्ग,क्षेत्र,संप्रदाय नहुन नै व्यवसायिक पत्रकारिता भएको बताए ।

संघीय समाजवादी फोरमका सांसद जयराम यादवले दण्डहिनता अन्त्यकोलागी प्रसासन र पत्रकार सजग हुन आवश्यक रहेको औल्याए । त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले सकारात्मक र नकारात्मक दुबै विषयले संचार माध्यममा स्थान पाउनु पर्ने बताए । उनले कानुन र विधिको सासनमा चल्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश १ प्रहरी प्रमुख डिआइजी केदार रिजाल,नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुइटेल लगायतले आफ्नो धारणा राखेका थिए ।