भद्रपुर /  दशै मनाउन व्यस्थ भईरहेका बेला भद्रपुरका कारोबारीले भने तस्करीलाई निरन्तरता दिइएको पाइएको छ । सवै मानिस दशैमा व्यस्त हुने आङ्कलन गरेर कारोबारीले भित्रउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि कारोबारीको तस्करी सतहमा आएको हो । झापाको पूर्वी दक्षिणी क्षेत्र भद्रपुर–५ मेचीकिनारस्थित श्मसानघाटबाट अनुमानित दुइलाख मूल्य बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल गण हे.क्वा २ ले जनाएको छ । भारतबाट भद्रपुर तर्फ एक समूहले भन्सार छलेर ल्याउदै गरेको कपडा सशस्त्र प्रहरीबाट सादा पोसाकमा खटिएको प्रहरीले शनिबार वेलुका ७ बजे सीमा क्षेत्रको १०२ नम्बर स्तम्भबाट बरामद गरिएको सशस्त्रका प्रवक्ता तथा डिएसपी ओजिस ओलीले जनाए । प्रहरीलाई देख्नेबित्तिकै कामदार भागेकोले सामानमात्र बरामद गरिएको डिएसपी ओलीले बताए । बरामद गरिएको सामानमा ३ सय ३० मिटर पर्दा कपडा, एक सय १० थान कुर्ता सुरुवाल र एकसय ४७ थान भेष्ट गरी १ लाख ५८ हजार २ सय मूल्य बराबरको कपडा बरामद गरिएको ओलीले जनाए । त्यसैगरी सशस्त्र प्रहरी केचनाले ३० हजार मूल्य बराबरका ५ थान खसी बरामद गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा शनिबार साँझ बनियानी वगान स्थित १२२ नम्बरको जङ्गे स्तम्भबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै भरतबाट नेपाल तर्फ ल्याउदै गरेको ११ काटुनमा रहेको ११ हजार ६ सय ४० मूल्य बराबरको कोल्डड्रिङ् बरामद गरेको छ । बरामदसवै सामाग्रीलाइ आवश्यक कार्बाहीको लगि आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।