ताप्लेजुङ । यातायातको क्षेत्रमा पूर्वकै समृद्धिको ढोका मानिएको दोभान स्थित तमोर नदी माथि बनेको मोटरबेल पुलबाट पहिलो पटक सवारी साधन दैडिएको छ । सोमवारदेखि सवारी साधन आवतजावत गर्न थालेका हो । पुलको भारबहन परीक्षणका क्रममा सोमवार यो पुलबाट करिव तीन दर्जन बढी सवारी साधन पुलबाट वारपार गरेका छन् । सो पुलवाट मालबाहक ट्रक सहित पिकअप, ट्याक्सी र अन्य गरी तीनदर्जन बढी सवारी साधनले नवनिर्मित पुलबाटै आवतजावत थालेको हो । यसअघि दोभानको वल्लो भाग अर्थात फुङ्लिङतर्फ रोकेर मान्छेकै भरमा र्झोलुङ्गे पुलबाट सामान ओसारपसार गर्नुपर्ने अवस्था सोमवारबाट हटेकोे छ ।

अव दोभान बजारका व्यावसायीले आयात गरेका सामान आफ्नै पसल अगाडि झार्न सक्नेछन् । यसअघि दोभान बजारको वल्लो छेउसम्म पुगेर फेरी सदरमुकाम सम्म फर्कने गाडी अहिले मेरिङ्देन गाउँपालिकाको सान्थाक्रा,आठराई त्रिबेणीको हाङ्पाङ, चाँगे, फुलवारी र मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु तथा साँघस सम्म सोझो रुपमा सञ्चालन हुन थालेका छन् । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले दोभान पुलबाट यातायातका साधन सञ्चालन हुन थालेपछि यहाँका बासिन्दामा खुसी थपिएको बताए । पुल निर्माणकार्य पूराभई यातायातका सान सञ्चालन हुन थालेपछि सदरमुकाम फुङ्लिङबाट यहाँका बिभिन्न गाउँपालिकाका केन्द्र सम्म सिधा यातायात सञ्जाल जोडिएको छ ।

१३ गते पुल उद्घाटन सोमवार भारबहन परीक्षण गरिएको पुल असोज १३ गते शनिवार उद्घाटन गरिने भएको छ । प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले असोज १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले पुलको उद्घाटन गर्ने गरी कार्यतालिका बनेको जानकारी दिए ।‘केहि प्राविधिक कारणले मन्त्री ज्युको कार्यक्रम रोकिनु बाहेक असोज १३ गते पुल उदद्घाटन कार्यक्रम तयार भएको छ’भट्टराईले भने । निर्माणकार्य सुरु भएको १० बर्षपछि तमोर नदी माथिको मोटरेबल पुलबाट सवारी साधनको आवतजावत सुरु हुन थालेको हो ।