विराटनगर । भारतको आग्रामा सुरु भएकोे एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली भारत पुगेको छ । छनौटमा परेका नेपालबाट २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोली भारत पुगेका हुन् ।

नेपालले पहिलो खेल असोज ७ गते थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो । पहिलो पटक नेपाली फुटबल टोलीले एसियन च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएपछि एक महिनादेखि टोलीले प्रशिक्षण गरे । १० दिन सम्म चल्ने प्रतियोगिताका लागि नेपालका तर्फबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी छनौटमा परे ।

प्रतियोगिता ४६ औं संस्करण सम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले पहिलो पटक सहभागीताको अवसर पाए पनि टोली जितको उदेश्य सहित भारततर्फ लागेको बताए । प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री सहितकोखेलाडी टोली पूर्वको काँकडभित्ता नाका हुँदै बिहीबार भारत प्रस्थान गरेको अधिकारीले जानकारी दिए । उनका अनुसार २८ सदस्यीय टोलीलाई मोरङको, विराटनगर हरैंचा, बेलबारी, उर्लाबारी र झापाको काँकडभित्तामा भव्य कार्यक्रमको आयोजना गरेर विदाई गरिएको छ । फुटबल संघ आवद्ध विभिन्न क्लव, पूर्व खेलाडी, जिल्ला स्थित एन्फाका पदाधिकारी तथा खेलप्रेमीहरुले विजयका लागि अग्रिम शुभकामना दिंदै खेलाडीलाई फुल, माला र अविर लगाएर विदाई गरेका हुन् ।

एसियन च्याम्पियनसिप खेल्न जाने खेलाडीसहित प्रशिक्षकहरुलाई यस अघि नै विराटनगरमा विदाई गरिएको थियो । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली आदीले खेलाडी टोलीको विदाई गरे ।

टिमको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ रहेका छन् । राष्ट्रिय टिमको नेत्रृत्वदायी भूमिकामा रहेका दिनेश हेन्जनको कप्तान रहेका छन् । उनी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रन्दिप पौड्याल र सजित राई डिफेन्सको भूमिकामा रहने छन् । नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् ।

स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् । कप्तान हेन्जन भने नेपाली टिमले विदेशी भूमिमा उत्कृष्ट खेल देखाउने बताए । ‘यस अघिका विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली सिनियर टिमले हार बेहोरेको तितो अथार्थ हामीसंग छ,’ उनले भने, ‘सिनियर टोलीले हार बेहोर्दा भएको घाटालाई पूर्ति गर्ने हिसावमा हामी मैदानमा जाने छौं ।’ नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नायाँ अनुहार छन् ।