धरान । आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग गरेर समृद्ध प्रदेशका लागि क्रियाशील रहन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आग्रह गरेका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रवाह गर्र्दै प्रदेशको विकास र समृद्धिका लागि सबै एकजुट हुन आग्रह गरे । प्रदेशको समृद्धिका लागि कृषिमा आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, पूर्वाधार निर्माण, रोजगारीमूलक शिक्षा नीति आजको आवश्यकता रहेको बताए । उनले यस्ता अधिकार संविधानले नै प्रदान गरेकाले अधिकारलाई अधिकतम् सदुपयोग गर्दै प्रदेशलाई समृद्ध बनाउन सबैको योगदान आवश्यक रहेको बताए । संविधान जारी भएको तेस्रो वर्ष प्रवेशको अवसरमा संविधानलाई पूर्ण कार्यान्वयन तथा अधिकतम् उपयोग गर्न प्रदेश १ का नागरिकलाई अपिल गरेका छन् । जनताको बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्नका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने उनले सन्देश प्रवाह गरेका छन् । ‘२०७२ असोज ३ गते आजकै दिनदेखि लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई देशको भाग्य र भविष्य आफै निर्धारण गर्ने अभिभारा सुम्पेको दिन हो’– सन्देशमा भनिएको छ ।