पथरी । मोरङको कानेपोखरी–६ का ४२ वर्षीय युवा कमल धिमाल उखुको जुस बेचेरै लाखौँ आम्दानी गर्छन् । धिमालले आफ्नो घरछेउ रमाइलो चोकमा ८ वर्ष अघिदेखि उखुको जुस पेल्दै आएका छन् । धिमालको दिनचर्या अहिले उखुमै बित्ने गरेको छ । खेतबारीमा गयो । उखु काटेर ल्याएर केलायो अनि बजारमा बेच्न गयो । उनी एक गिलास जुसको २५ रुपैयाँ लिन्छन् । उखुको जुस जण्डिस लागेका बिरामीहरुले लाने गरेका छन् । बाटामा हिँड्नेले पनि उखुको जुस उत्तिकै पिउने गरेका छन् । धिमाल आफै उखु किसान हुन् । धिमालले कानेपोखरी–५ मा रहेको १० कठ्ठा जग्गामा ‘गेवारे’ जातको उखु उत्पादन गरेर बिक्री गर्दै आएका छन् । उनले उखु बाली लाउन थालेको १० वर्ष भयो । एक पटक रोपेको उखुले तीन वर्षसम्म उत्पादन दिन्छ । उखु उत्पादन गरी बजारमा ल्याएर जुस बेच्दा वार्षिक ३ लाखभन्दा माथि आम्दानी हुने गरेको उनी बताउँछन् । उखुको जुसमात्र होइन, उनले सिङ्गै बोट पनि वार्षिक रूपमा ४० हजारको बेच्ने गर्दै आएका छन् । व्यापारीले एउटा उखुको बोटलाई ८० देखि ९० रुपैयाँसम्म लिने गरेका छन् । उखुको तीन आँख्लाको एक गिलास जुस हुने गरेको व्यापारी बताउँछन् ।

त्यतिमात्र होइन, उनले ३ कठ्ठा जग्गामा पोखरी पनि खनेका छन् । उनले पोखरीमा माछा पालेर बिक्री वितरण गर्दै आएका छन् । पोखरीमा रहु, ग्रासकार्प र नैनी लगायत जातका माछा पालेर खर्च कटाएर वार्षिक २५ हजार आम्दानी गर्ने गरेका छन् । धिमालले रमाइलो चौकमा उखुको जुससँगै फलफूल पसल पनि गर्दै आएका छन् । पसलमा सबै खर्च कटाएर मासिक ३० हजार आम्दानी हुने व्यापारी कमल बताउँछन् । धिमाल उखु खेती र जुस पेलेर बेच्ने काम गर्नुभन्दा अघि वैदेशिक रोजगारीमा ६ वर्ष समय बिताएका थिए । साउदी अरबमा ३ वर्ष र मलेसियामा ३ वर्ष श्रम गरेर नेपाल फर्केका धिमाल फेरि विदेशिएनन् । उनले विदेशमा जति दुःख गरे पनि उताको भन्दा दोबर कमाइ गर्ने सोचमा १० वर्ष अघिबाट उखु व्यवसायमा लागिपरेका छन् । उखु खेती गरेर जुस बेची जीविकोपार्जन गर्दै आएका कमल धिमाल उदाहरण मात्र हुन् । कानेपोखरी–५ स्थित डुम्रीघाटबाट पदम धिमाल, क्याम्पस डाँडाबाट शिवराज धिमाल र कानेपोखरी–७ आइतबारेबाट सूर्य पौडेलले पनि कमल धिमालको जस्तै व्यवसाय गर्र्दै आएका छन् । शिवराज धिमालले व्यवसाय शुरु गरेको ४ वर्ष भयो । उनले अर्काको १ बिगाहा जग्गा लिजमा लिएर उखु खेती गर्दै आएका छन् । उत्पादित उखुलाई बजार लगेर जुस पेलेर बेच्दै आएका छन् । उनले दोहमना बजार, दलेली बजार र रमाइलो बजारमा हाटको दिन मेसिनमा उखु पेलेर जुस बेच्दै आएका छन् । वार्षिक ५ लाखभन्दा बढी आम्दानी हुने शिवराज बताउँछन् । त्यसैगरी आइतबारेका सूर्य पौडेलले पनि आफ्नो १५ कठ्ठा जग्गामा उखु खेती गरी जुसको व्यवसाय गर्दै आएको ३ वर्ष भयो । कानेपोखरी चौकमा आफ्नै बारीको उखु लगेर मेसिनमा पेलेर जुस २५ रुपैयाँ प्रतिगिलास बेच्दै आएका छन् । वार्षिक ३ लाखभन्दा माथि आम्दानी हुने व्यापारी पौडेल बताउँछन् । त्यसैगरी डुम्रीघाटका पदम धिमालले पनि उखुको व्यवसाय गरेको ३ वर्ष भयो । आफ्नो १० कठ्ठा जग्गामा उखु खेती गरी आयआर्जन गर्दै आएका छन् । उत्पादित उखु पदमले बेलबारी नगरपालिकामा रहेको मालपोत कार्यालयअगाडि राखेर जुस बेच्दै आएका छन् । पदमले प्रतिगिलास जुस ३० रुपैयाँले बेच्दै आफ्नो परिवार धान्दै आएका छन् । उनको पनि वार्षिक साढे ३ लाखभन्दा माथि आम्दानी हुने उनी बताउँछन् ।