आध्यात्मिक गुरुको खोजी

डा. भवानीशङ्कर भट्टराई

हामीमध्ये कतिमा अझसम्म पनि धर्म र अध्यात्म एउटै हो भन्ने भ्रम हुनसक्छ, जे धर्म हो अध्यात्म पनि त्यही हो भन्ने धारणा हुन सक्छ तर यो यथार्थ होइन । एक अर्थमा धर्मलाई स्वर्गप्राप्ति हुने आशाले गरिने कर्म मानिएको छ भने अध्यात्मलाई चाहिँ आत्मा र परमात्माका गुण एवम् तिनको पारस्परिक सम्बन्धका विषयमा गरिने चिन्तन, कर्म आदि भनिएको छ । त्यस्तै धर्मले धारणा सिकाउँछ भने अध्यात्मले चाहिँ साधना सिकाउँछ । धर्मले श्रुति, स्मृति, नीतिका आधारमा शासनको अपेक्षा राख्दछ तर अध्यात्मले चाहिँ व्यक्तिसत्तालाई महŒव दिँदै मानसिक जागरणमा जोड दिन्छ । त्यस्तै धर्म समाजको हुन्छ भने अध्यात्म चाहिँ व्यक्तिगत हुने गर्दछ । धर्महरू हिन्दू, इसाई, क्रिश्चियन, बौद्ध,जैन आदि हुन्छन् तर अध्यात्मको कुनै पनि सङ्गठन भेटिएको छैन । अर्को शब्दमा भन्दा धर्म जीवनसञ्चालन तथा ईश्वरप्राप्तिको बाटो देखाउने सिद्धान्त हो भने अध्यात्म चाहिँ ईश्वर प्राप्तिका लागि गरिने प्रायोगिक कार्य हो । मानिसहरूले पालना गर्ने धर्म र यस अन्तर्गतका कर्मकाण्ड भौतिक जीवनकेन्द्रित हुन्छन् भने आध्यात्मिक साधना चाहिँ परम् शान्ति र मोक्षप्राप्तिमा आश्रित हुन्छन् ।
मानिसले जन्मदेखि मरणसम्म गर्ने कर्म, पूजा आराधना, हवन–जप र विभिन्न सम्प्रदायअनुसार लगाउने चिबर, गेरुवा, श्वेत आदि वस्त्र आफ्ना परम्परा तथा धर्मशास्त्रबाट निर्दिष्ट छन् भने व्यक्तिले मानसिक शान्ति, विकारहरूको निवृत्ति, आवेगहरूको शमनका लागि गर्ने योग, साधना, ध्यान, धारणा, प्रत्याहार, समाधि आदि चाहिँ अध्यात्मसँग निकट छन् । हरेक धर्ममा राम, बुद्ध, इसुख्रिस्ट, मोहम्मद आदि फरक–फरक आराध्य छन् तर अध्यात्ममा चाहिँ निर्विकार, निरुपाधिक, सर्वस्वीकार्य एउटै परब्रह्म परमेश्वर छन् । धर्मले मानिसलाई एक–आपसमा घृणा गर्न र फुट्न सिकाउँछ तर अध्यात्मले चाहिँ एक–आपसमा जुट्न मिल्न र आपसी प्रेम प्रगाढ बनाउनमा मद्दत गर्छ, हामी सबै एउटै ईश्वरका सन्तान हौं भन्ने बोध गराउँछ । धर्म र अध्यात्मबीच यी र यस्ता अनेकौं भिन्नता रहेकाले महर्षिहरूले दुईका भिन्न–भिन्न बाटा र साध्य पनि फरक–फरक बताएका छन् । यी दुवैका स्रोत वेद भए पनि धर्मको आधार वेदनिर्दिष्ट याज्ञिक परम्परा (हिन्दू धर्मअनुसार) लाई मानिएको छ भने अध्यात्मको मुहान चाहिँ वेदकै ज्ञानकाण्डलाई अङ्गीकार गरिएको छ र त्यहीँबाट आध्यात्मिक उपासना पद्धति समेटिएका १०८ भन्दा बढी उपनिषद् तयार गरिएका छन् । यी र यस्ता अनेकौं कारणले गर्दा आजको समाजले धार्मिक कट्टरतालाई अँगाल्ने गुरु होइन, विद्वेषबाट थिलथिलो भएको मनलाई, भावनालाई, मिल्न उत्सुक भएको हृदयलाई जोड्ने र मनभित्रका कलुषित भावलाई एक–आपसमा माझामाझ गराई शुद्धचैतन्यको विकास गराउन सक्ने आध्यात्मिक गुरुको खोजी गरिरहेको छ, जो आकाश जत्तिकै विशाल, हावाजत्तिकै सर्वत्र व्याप्त, आगो जत्तिकै प्रदीप्त, पृथ्वीजत्तिकै सहनशील, पानीजत्तिकै शीतल र प्रकाशजत्तिकै न्याना हुन सकून्, ती हिन्दू, इसाई, क्रिश्चियन, बौद्ध, किरात सबैका गुरु बन्न सकून्, सबैलाई चन्द्रमाले जत्तिकै समान शीतलता प्रदान गर्न सकून्, विशाल वटवृक्षले जस्तै सबैलाई समान छाया प्रदान गर्न सकून् त्यस्ता आध्यात्मिक गुरुको खोजी आजको समाजले गरिरहेको छ । र पनि आजको हिन्दूसमाजमा धार्मिक व्यक्तित्वकै बोलवाला यत्रतत्र देख्न सकिन्छ ।
यसको एउटा कारण वैदिक याज्ञिक परम्पराको बढ्दो प्रचलनलाई मान्न सकिन्छ । यहाँ अद्वैत वेदान्तदर्शनका व्याख्याता आदिगुरु शङ्कराचार्य तथा याज्ञिक मण्डनमिश्रबीच भएको प्रसिद्ध शास्त्रार्थको एक अंशलाई उदाहरणार्थ प्रस्तुत गर्नु बाञ्छनीय हुन्छ । कर्मकाण्डमा विश्वास गर्ने मण्डनमिश्र र यसका विरोधी अध्यात्मविद्याका पक्षधर शङ्कराचार्यबीच एकताका महिनौंसम्म शास्त्रार्थ भएछ, त्यहाँ मिश्रले– यति प्रामाणिक, सुदीर्घ र सर्वस्वीकार्य वैदिक याज्ञिक परम्परा हुँदाहुँदै वेदलाई एककोणबाट व्याख्या गरी निकालिएको उपनिषद्लाई कसरी विश्वास गर्ने भनेर प्रश्न गर्दा त्यसको जवाफमा शङ्कराचार्यले– यज्ञ, संस्कार, पूजापाठ, कर्मकाण्ड त सांसारिक विषयमा लिप्त भएर दिग्भ्रमित भएका मानिसलाई एकाग्र बनाई ईश्वरप्रति आकर्षित गर्न प्रकल्पना गरिएका साधनमात्र हुन्, यिनीहरूले मानिसलाई आध्यात्मिक जागरणका लागि जिज्ञासुमात्र बनाउँछन् भनेर जवाफ दिएछन् । यहाँ प्रस्तुत दुई पक्षबीचको संवादले वेदको यज्ञपरम्परा, धार्मिक गतिविधि कर्मकाण्डमा तथा उपनिषद् परम्परा चाहिँ आध्यात्मिक चिन्तनमा आश्रित छ भन्ने बुझिन्छ ।
साथै अद्वैत पन्थका अनुयायी फकिर सन्यासीहरू (केही गृहस्थ पनि) आध्यात्मिक साधनामा र बाँकी गृहस्थहरू चाहिँ याज्ञिक परम्परामा सनातनदेखि नै सम्बद्ध रहँदै आएका छन् भनेर बुझ्न सकिन्छ । अब यहाँ एउटा प्रश्न जटिल बनेर तेर्सिन्छ, के साधारण गृहस्थहरू शङ्कराचार्यको सन्यास परम्परालाई अवलम्बन गर्न सक्छन् ? उत्तर यस्तो हुन सक्छ– सबैले जोगी नै बन्नुपर्छ भन्ने छैन, शङ्कराचार्यको अद्वैतपरम्पराका कति अनुयायी गृहस्थ छन् भने कति चाहिँ सन्यासी पनि छन् । गृहस्थ हुँदाहुँदै पनि विषयमा अनासक्त भए जोगीसरह हुन सकिन्छ भन्ने कुराका उदाहरण राजर्षि जनक छँदै छन् । राजकाज चलाइरहँदा राजर्षि जनकले योगसाधनालाई पनि सँगसँगै डोे¥याए झैं गृहस्थहरूले पनि कर्मकाण्ड तथा अध्यात्मसाधनालाई साथसाथै लैजान सक्दछन् । अब प्रश्न उठ्छ– गृहस्थहरूले जन्मदेखि मृत्युसम्मका सबै संस्कार गरेकै छन्, पूजापाठ जपहोम पनि निरन्तर गरेकै छन् र पनि उनीहरूलाई मुक्ति किन मिलेन ? मानसिक शान्ति किन प्राप्त भएन ? यसको उत्तर पनि सरल छ– जप होमादि मुक्तिप्राप्तिका लागि गरिने कार्य होइनन्, यी सबै लौकिक हुन्, जीवनकालमा गरिएका अनेकौं पाप, दुराचार आदि पखाल्ने माध्यममात्र हुन्, त्यसैले यिनीहरूबाट शान्ति पनि सम्भव छैन, यसका उदाहरणका रूपमा आजका अशान्त धार्मिक समाजलाई लिन सकिन्छ ।
यहाँ, शान्ति मानसिक वृत्ति हो, यो एकाग्रता, ध्यान, योग र प्राणायामका माध्यमबाट प्राप्त हुन सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ, साथै यो धर्मसँग होइन, अध्यात्मसँग प्रत्यक्षतः गाँसिएको छ भन्ने कुरा अनुभूत गर्न सकिन्छ । यो कुरा बुझ्न नसक्दा आजको समाज दिग्भ्रमित भएको छ, त्यसैले विभिन्न पन्थ, सम्प्रदाय, मत र दर्शनमा विभाजित पूर्वदेखि पश्चिमसम्मको आजको समाजलाई आध्यात्मिक बाटोमा डो¥याउने, मानव मनभित्रका चञ्चलता, द्वेष, राग, अहङ्कार, विभिन्न संवेग, अस्थिरता लगायतका विकार÷रोगलाई निको पार्न सक्ने त्यसका लागि ध्यान सिकाउने, मानसिक आवेगहरू न्यून गर्न विभिन्न विधि र प्रक्रिया बताउने, साधना गर्न सिकाउने आध्यात्मिक गुरुको खोजी आजको नेपाली समाजले गरि रहेको देख्न सकिन्छ । त्यसो भए के आजसम्म यस्ता गुरु भेटिएका छैनन् भन्ने प्रश्न उठ्न सक्छ, यसको उत्तरमा के भन्न सकिन्छ भने आजसम्म यस संसारमा जो जो गुरुका रूपमा चर्चित बनेका छन् । उनीहरूमध्ये अधिकांश कुनै न कुनै धार्मिक सीमाभित्र बाँधिएका छन्, धेरैले आफ्ना अनुयायीहरूलाई कट्टरपन्थी बनाउने शिक्षा–दीक्षा दिएका छन् । समाजले त समुद्रजस्तै अनन्त गहिराइ भएका, शिष्यलाई सधैं ऊर्जा दिन सक्ने, सत्यं शिवं सुन्दरम् पढाउन र बुझाउन सक्ने, शान्ति, अहिंसा, करुणा र मैत्री सिकाउने, अहिंसा परमो धर्मलाई पालना गर्न सिकाउने, शिष्यमा आशाको दियो बालिदिने र सधै जगाउने गुरुलाई खोजेको छ । आजको समाजले मेरो धर्ममात्र उत्तम बाँकी सबै खत्तम भनेर परस्परमा लडाउने÷भिडाउने गुरु खोजेको छैन, श्रद्धा र आस्थाबिनाको कर्मकाण्ड सिकाउने÷गराउने गुरु होइन, शिष्यमा आत्मा–परमात्माप्रति आस्था जगाउने श्रद्धा जागृत गराउने गुरु खोजिरहेको छ, स्मृतिनिर्दिष्ट नियम कानूनलाई जबर्जस्ती पालना गर्न बाध्य बनाउने गुरु चाहेको होइन, मानसिक साधना गर्न सिकाउने गुरु खोजेको हो ।
दश इन्द्रीयहरूको प्रयासबाट ईश्वरत्व प्राप्तिको साधना गराउने गुरु होइन, मानसिक तपादिबाट ईश्वरत्व प्राप्तिका लागि जागृत बनाउने गुरु खोजिरहेको छ । ग्रीष्मको सन्तापले तात्तिएर रन्किएको शिष्यलाई अध्यात्मज्ञानको वर्षा गराई शितल बनाउने गुरु खोजेको छ, आकाशको कुनै लक्षण नभए झैं निरभ्र, कुनै पनि शारीरिक पहिचान नभएका, अभिमानशून्य, सदाविनयी, सदाजिज्ञासु, सिकाउन सधँै तत्पर रहने गुरु खोजेको छ । असल गुरुको सङ्गति पाए चण्ड कौशिक भद्रकौशिक (महावीर शिष्य) बन्न सक्छ, अङ्गुलीमाल बुद्धशिष्य बन्न सक्छ, यस्ता शिष्यहरू समाजका पाखण्डी व्यवहारबाटै मूढ तथा दुराग्रही बनेका हुन्, यसमा समाजलाई हाँक्ने धार्मिक गुरुहरूको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका रहेकै छ, समाजका असङ्गत व्यवहारबाट निराश बनेपछि अङ्गुलीमालहरू वास्तविक गुरु खोज्दै भौंतारिँदै गुरुकहाँ पुग्छन्, त्यहाँ पुगेपछि उनीहरूले देखाउने व्यवहार फरक–फरक हुन सक्छ, एकलव्य शालीनतापूर्वक प्रस्तुत भयो भने चण्डकौशिक र अङ्गुलीमाल असभ्य किसिमले, फरक यतिमात्र हो । यसलाई यसरी बुझौं– एकलव्य सामान्य रूपमा मात्र तात्तिएको रहेछ, अरू चाहिँ निकै । यी सबैको गर्मीलाई शान्त बनाउने, मनमा आध्यात्मिक शान्ति दिन सक्ने गुरुको खोजी दिन प्रतिदिन भइरहेको छ । त्यस्ता गुरु कहिले जन्मिएलान्, कहिले भेटिएलान् भनेर पूर्वदेखि पश्चिमसम्मका समाजहरू पर्खिरहेका छन् । आशा गरौं यस युगले यस्ता गुरुलाई छिट्टै जन्माउनेछ, गुरु पूर्णिमाको उपलक्ष्यमा सबैमा शुभकामना ।
(लेखकः पिण्डेश्वर विद्यापीठ धरानमा कार्यरत उपप्राध्यापक हुनुहुन्छ ।)

ताजा अपडेट