इलाम । इलाममा २० प्रतिशत रोपाई सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको गत असार २४ गतेसम्मको तथ्यांक अनुसार जिल्लाभरमा २० प्रतिशत रोपाई सम्पन्न भएको छ ।

वर्षात सुरु भएसगैँ धान रोप्ने समय पनि धमाधम भईरहेको र यस पटक गत वर्षको भन्दा रोपाईमा वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष असार मसान्तसम्ममा १७ प्रतिशत रोपाई भएकोमा यसवर्ष २५ प्रतिशत नाघ्ने अनुमान छ । समयमा नै वर्षात सुरु भएपछि कृषकहरुले धमाधम रोपाई सुरु गरेका हुन् । जिल्लाको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र माई नगरपालिका, चुलाचुली गाँउपालिका, देउमाई नगरपालिका रहेको छ भने कम उत्पादन हुने क्षेत्रहरुमा माईजोगमाई गाउँपालिका, सन्दकपुर गाँउपालिका रहेको छ ।

जिल्लामा सतप्रतिशत रोपाई श्रावण मसान्तभरमा सकिनेछ । इलाम जिल्लामा कुल कृषक परिवार ६४ हजार पाँच सय दुई रहेका छ । जसमामा खेती गरिएको जमिन ६३ हजार दुई सय ९५ हेक्टर छ । यस्तै जिल्लामा ४४ हजार नौ सय ४० हेक्टर पाखो जमिनले ओगटेको छ । कुल खेती गर्ने जमिनमध्ये ६ हजार चार सय आठ मात्र वर्षभर सिचिंत क्षेत्र रहेको छ भने अन्य क्षेत्रमा वर्षात तथा खोलानालाबाट मात्र सिचाँई हुने गरेको छ ।

इलाम जिल्लाको दश वटै स्थानीय तहमध्ये सबैभन्दा बढी मकै खेती हुने गरेको तथ्यांकमा उल्लेख छ । कुल भूभागको ३९ हजार तीन सय ९५ हेक्टर मकै खेतीले ओगटेको छ भने १५ हजार ९ सय ९५ हेक्टर जमिनमा मात्र धान खेती हुने गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा १५ हजार नौ सय १५ हेक्टर जमिनमा रोपाई भएको थियो भने यस वर्ष ०.५ प्रतिशतले धानखेती वृृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ । खेती गर्न सहज र अनुकुल वातावरण भएकाले इलामका सबैजसो क्षेत्रमा कृषकहरुले मकै खेती गर्ने गरेका छन् । जिल्लाको सिचिंत क्षेत्रमा गत वर्षको तथ्यांक अनुसार प्रति हेक्टर २.९ मेट्रिक ट्रन धान फलेको तथ्यांक रहेको छ भने प्रति हेक्टर तीन मेट्रिक टन मकै उत्पादन हुने गरेको देखिन्छ ।