बाढीपहिरोको जोखिम र सावधानी

रामचन्द्र अधिकारी

गत वर्ष जून १ तारिखका दिन नेपालका ३७ वटा जिल्ला एकैसाथ बाढीपीडित बने । सोलुखुम्बु र पाल्पा जिल्ला बढी प्रभावित बने र ३४ जनाको मृत्यु भयो भन्ने संयुक्त राष्टूसंघको ओचाले प्रतिवेदन बनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीले सोही समयको बाढीमा परी एक लाखभन्दा बढी मानिसलाई राहत दिएको उल्लेख गरेको छ । सोही वर्षको १६ अगष्टमा फेरि बाढी चल्यो १८ हजार परिवार विस्थापित भए र ७५ हजार परिवार प्रभावित भए भनेर गृह मन्त्रालयले तथ्यांक निकाल्यो । त्यही दिन एक सय २३ जना मानिसको बाढी पहिरोका कारण मृत्यु भएको थियो ।
१८ अगष्ट २०१७ मा फेरि बाढी पहिरो चल्यो । जसमा झापादेखि चितवनसम्म ११ जिल्ला पूरै पीडित बने अनि ४४ हजार छ सय ३ परिवार विस्थापित भए । विस्थापितहरु तीन सय ३ वटा स्कुल भवनमा सहारा लिन पुगेका थिए । सेप्टेम्बर २० तारिखका दिन फेरि बाढीपहिरो चल्यो । त्यसमा परी एक सय ६० जनाको मृत्यु भयो र ४३ हजार चार सय घर भत्किए । सन् २०१७ मा नेपालका ३५ वटा जिल्ला साह्रै बाढीपीडित बने । वर्षभरिमा बाढी र पहिरोका कारण ५८ करोड ४७ लाख डलर बराबरको क्षति भएको नेपाल सरकारले आँकडा निकालेको थियो ।
उल्लेखित तथ्यांक सन् २०१७ को मात्र हो । तर यसले नेपालको एउटा साविक तथा नियमित कथा बोकेको छ । नेपालमा हरेक साल यसै प्रकारका बाढी र पहिरोहरु चल्ने गर्दछन् । पहाडमा पहिरो र तराईमा बाढी नेपालको नियति नै बनेको छ । खोलाकिनार,गाउँ,दूरदराजमा त छँदैछ बाढीबाट शहरसमेत प्रताडित बनिरहेका छन् । नेपालको भूगोल,पानीका प्रसस्त मात्रामा पाइने स्रोत, पानीको मात्रा र आकाशबाट पानी पराइको प्रवृतिले नै बाढी पहिरोको जोखिम ल्याउने गरेका छन् । त्यतिमात्र होइन चुरे विनाशले तराईका नदीमा बाढी ल्याइदिएका छन् । चूरेको गेगर बगेर आई तराईका खोलाको पीँधमा थुप्रिएर पीँध माथितिर आउँछ । फलस्वरुप पानी चाहिँ खोलाको भूभागमा नबगेर बाहिर खेती र बस्तीतिर पसिरहेको छ ।
पहाडी भेगमा वनक्षेत्र बढेको छ र पहिरो एक हदसम्म रोकिएको छ । प्राचीन धेरै पहिराहरु थामिएका छन् । तर, अवैज्ञानिक हिसाबले बनाइएका रोडहरुका कारणले नयाँ पहिराहरु जन्मिएका छन् । यी नयाँ बनिएका पहिराहरु बढी क्षतिप्रदायक छन् । किनभने यिनीहरु गाउँका बीचमा छन्,घर घर पुगेका छन् । यीनले ल्याउने पहिरोले घरआँगनमा प्रत्यक्ष नोक्सानी गर्छ ।
नेपालमा जति वर्षा हुन्छ त्यसको ८० प्रतिशत चाहिँ वर्षात्को सिजन वा मनसुनका महिना वा असार ,साउन र भदौ गरी तीन महिनामा हुन्छ । यसको अर्थ यति छोटो अवधिमा करिब १५ सय मिलिलिटर वर्षा हुनु भनेको निकै भिषण र खतरनाक कुरा हो । उसैमाथि नेपालजस्तो पहाडी भूभाग भएको देश जहाँ माटो पनि पूरै अपरिपक्क छ ।
उच्च पहाडी क्षेत्रमा माटो पातलो र अपरिपक्क छ । तसर्थ सानो पानी पर्दा पनि भलबाढीले बगाएर लान्छ । चुरे क्षेत्र अति कमलो माटो अझै भनौ गेगरले बनेको छ । पानीको बहाव यसले थाम्न सक्दैन । त्यसमा पनि अहिले वन फडानी र ढुंगागिटी उत्खनन् र निकासीका कारणले चुरेले पानी थेग्न सकेको छैन । फलतः तराईमा बाढी चलेको छ ।
जलवायु परिवर्तनले मनसुन र पानी पर्ने तौरतरिका वा तालिकामा परिवर्तन ल्याइदिएको छ । एकै दिन धेरै वर्षा हुन थालेको छ । यसले धेरै बाढी चलाउने हो । लामो खडेरी लाग्ने गरेको छ, अनि त माटो सुख्खा हुन्छ, त्यही सुख्खा माटोमा विशाल पानी परेपछि नबगाउने कुरा भएन ।
पछिल्ला वर्षहरुमा शहरीया बाढीको प्रकोप बढ्न थालेको छ । शहरी क्षेत्रमा अलिकति पनि हुने वर्षाले गर्दा बाढी चल्ने गरेको छ । यसको प्रमुख कारणमा अव्यवस्थित बसोबास नै हो । ढलनिकासको उचित व्यवस्था नहुनु,फोहोरमैला जताततै फाल्ने गर्नु पनि अरु कारणहरु हुन् । अधिकांश नेपाली शहरहरु नदी किनारमै छन् चाहे नदी साना हुन् वा ठूला । कतिपय शहरका बीचैबाट नदी बगेका छन् । तर ती नदीमा उचित किसिमले तटबन्धन नहुँदा समस्या आएको छ । पुरानै अनुभवका आधारमा बाँसलगायतका रुखविरुवा नदीतटमा रोप्ने गरिएको छ । यस्ता विरुवाले केही हदसम्म त जमिनको सुरक्षा गरेका होलान् तर यीनै ढलेपछि भने नदी थुनिने गरेका छन् । थुनिएका नदी शहर पसेर धेरै धन र जनको क्षति हुने गरेको छ ।
दोष प्रकृतिको मात्र छैन शहरीया बाढीको लागि स्वयम् शहरीया मानिस नै दोषी हुन् । खोलालाई मिचेर प्लटिङ गर्ने, घर बनाउने,नाला निकास नगर्ने,साना नाला बनाउने,साँगुरा गल्लीहरु राख्नेजस्ता गतिविधिले शहरी क्षेत्रमा बाढीको प्रकोप बढेको छ । अहिले पुराना शहरहरु पुनर्निर्माणको चरणमा छन् । सय वर्ष अघि बनाइएका सडकहरुलाई स्तरीकरण र विस्तारीकरण पनि गरिँदै छ । यस कार्यले आकाशबाट धरतीमा झरेको पानीलाई समुद्रतिर जाने तयारीमा रहँदैमा रोकिदिएको छ र यहाँका धराबासीलाई आतंकित बनाइदिएको छ । पुनर्निर्माणको काम गति अति सुस्त भएको कारणले वर्सेनी शहरीया बाढीबाट पीडित बन्नुपरेको अवस्था छ ।
विकासको बाटोमा भर्खर बामे सर्दै गरेको हाम्रो देशमा दिगो र एकीकृत विकासको अवधारणा आए पनि व्यवहारमा लाग्न सकेको छैन । त्यही ठाउँमा रोड भत्काइन्छ रोड बनाउनलाई, रोड बनिएपछि फेरि भत्काइन्छ पानीको पाइप विच्छ्याउनलाई, फेरि रोड भत्काइन्छ ढलका लागि । यी सबै काम सम्बन्धित निकायको समन्वयमा एकै साथ गर्न किन नसकिने । विकासको नाममा सँधै बासिन्दाले सास्ती पाइराख्ने ? अनि, यस्तै कर्मले बाढीलाई सहयोग गरिदिन्छ ।
बाढी आउने कुरालाई छेकबार गर्न नसकिए पनि संभावित खतराबाट सावधानी भने अवश्य अपनाउन सकिन्छ । हुनत पहिलो कुरा व्यवस्थित बसोबास र खोलाको पानी कुद्ने भाग पूरापुर छोडिदिनुपर्छ । छेऊमा जैविक इन्जिनियरिङ अनि भौतिक निर्माण इन्जिनियरिङ पनि साथैसाथ गरिनुपर्यो । तराईका शहरी क्षेत्रमा हाल त ग्रामिण क्षेत्रमा समेत मानिसहरु नदीकिनारमा वा संभावित बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने गरेका छन् । उनै मानिस हरेक साल बाढीपीडित बन्ने गरेका छन् । राहत लिएर गयो,पुनःसोही ठाउँमा घर बनायो । तसर्थ यस कुरालाई व्यवस्थित गरिनुपर्छ । कहिलेकाहीँ नसोचेको ठाउँमा पनि बाढी उब्जिन सक्छ ,पहिरो चल्न सक्छ । भनाइ नै छ कि पहाडमा पहिरो छाडा र मधेशमा खोलो छाडा । यसको अर्थ पहाडमा जहाँ पनि पहिरो जान सक्छ र मधेश तराईमा जहाँ पनि खोलो पस्न सक्छ । त्यस कारण पूर्वसावधानी अपनाउन जरुरी छ । जोखिमग्रस्त ठाउँका बस्तीलाई सुरक्षित स्थानमा ल्याउनुपर्ने र राहत सामग्रीहरु तयारी अवस्थामा राखिनुपर्ने हुन्छ । स्थानीय तह, गैरसरकारी संस्थाहरु,रेडक्रसलगायतका विवेकी संस्थाहरु सबैले यसतर्फ ध्यान दिनुपर्ने समय आएको छ ।
उसै पनि नेपाल प्राकृतिक प्रकोप खासमा भूकम्प र बाढी पहिरोको उच्च जोखिम बोकेर बसेको देश हो । यसको भूगोल,भौगोलिक बनावट,जलस्रोत र जलवायु परिवर्तनको प्रभावले यस्तो भएको हो । तसर्थ देशलाई र प्रकृतिलाई सराप्न पाइएन । धन र जनको सुरक्षा र परिहाले उदार मनहरुको जागरुकता आवश्यक देखिएको छ ।
[email protected]

ताजा अपडेट