मोरङ /नेपाल शिक्षक महासङ्घ पथरीशनिश्चरे नगर समिति मोरङको अध्यक्षमा अर्जुनकुमार बुढाथोकी निर्वाचित भएका छन् । महासङ्घको प्रथम ऐतिहासिक नगर अधिवेशनबाट स्थानीय पञ्चायत माविका प्रधानाध्यापक बुढाथोकी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै महासङ्घको उपाध्यक्षमा किशोरबहादुर बस्नेत, महिला उपाध्यक्षमा दिलकुमारी घिमिरे, सचिवमा रूपनारायण भट्टराई, सहसचिवमा एकराज निरौला र अर्थसम्बन्धी सहसचिवमा छविलाल घिमिरे निर्वाचित भएको निर्वाचन समितिका संयोजक भगत थपलियाले जनाए । सदस्यहरूमा हर्कराज जिमी, कृष्णप्रसाद ढकाल, देवराज थापा, इन्दिरा राई, डोमी साह, शान्तिबहादुर थापा, डोल्मा घिसिङ, अम्बरबहादुर राई र खिममाया आङ्गदेम्बे चुनिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरीशनिश्चरे नगर समितिका अध्यक्ष रविन भट्टराईको सभापतित्व र सार्क शिक्षक फेडेरेसनका अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल शिक्षक महासङ्घ मोरङका सहसचिव गणेश दाहाल तथा विद्यालय निरीक्षक दुर्गा सिग्देललगायतको आतिथ्यता रहेको थियो ।