विराटनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ का नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले कोरामा रहेका बेला नै ३० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 

बुबाको निधनका कारण काजकिरियामा बसेका छन् । आइतबार कोराबाटै मतदातासामु आफ्ना योजनाहरू सार्वजनिक गरेका हुन् । गत बिहीबार ढकालका १ सय १ वर्षीय बुबा विष्णुप्रसाद ढकालको निधन भएको थियो । पितृशोकका कारण उनी घरदैलोमा पुग्न सकिरहेका छैनन् ।

विराटनगर–४ सम्झना चोकस्थित मूल घरमा किरियापुत्री रहेका उनले विकासलाई मुख्य प्राथमिकतामा राखेका छन् । उनले विराटनगरको डुबान समस्या समाधानका लागि दीर्घकालीन योजना निर्माण, सुस्त गतिमा रहेको चक्रपथ (रिङरोड) निर्माणको गतिरोध अन्त्य र क्षेत्रभित्र पर्ने गछिया, बूढीखोला, केशलिया एवम् सिङ्घीया खोला नियन्त्रणका लागि विशेष योजना समेटिएका छन् ।

निर्वाचनको मुखमा पितृवियोग परे पनि आफू मानसिकरूपमा सधैँ मतदाताकै साथमा रहेको ढकालले बताए । उनले भने, “म आफै भौतिकरूपमा घरदैलोमा आउन नसके पनि मेरा साथीहरूमार्फत् प्राप्त हुने सुझावहरूलाई शिरोधार्य गर्नेछु ।” एमालेले यस क्षेत्रमा निर्वाचन कमाण्डरका रूपमा पूर्वमन्त्री एवम् नेता लालबाबु पण्डितलाई जिम्मेवारी तोकेको छ ।

पण्डित सोही क्षेत्रबाट २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । मोरङ क्षेत्र नम्बर ६ मा यस पटक नेपाली काङ्ग्रेसका डा. शेखर कोइराला, नेकपाका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्य चुनावी मैदानमा छन् ।