इनरुवा । सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट सुरु गरेको झण्डा मार्चपास मोरङ हुँदै सुनसरी आइपुगेको छ । 

मोरङको सीमानाका हुँदै बिहीबार बिहान सीमा इलाका केशल्या पुल पुगेको मार्चपास टोलीले सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ । मोरङ, सुनसरी सीमा इलाका बर्जु–३ अमडुवाको केशल्या खोला पुलमा नम्बर ३ गण हेड क्वार्टर कङ्कालिनी मोरङले नम्बर ४ गण हेड क्वार्टर सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ ।

नम्बर ३ गण मोरङका एसपी राजेश घिमिरेले हस्तान्तरण गरेको झण्डा नम्बर ४ गण सुनसरीका एसपी ज्ञानमणि पौडेलले बुझेका थिए । झण्डा बुझेपश्चात् नम्बर ४ गण हेड क्वार्टर सुनसरीले सीमानाका केन्द्रित मार्चपासलाई अघि बढाएको छ ।

सुनसरीको ६२ दशमलव ९ किलोकिलोमिटर सीमा क्षेत्रको मार्चपासपश्चात् आज (शुक्रबार) साँझ कोशी ब्यारेजमा प्रदेश टोलीबीच झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नम्बर ४ गण हेडक्वार्टर सुनसरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको २५ औँ रजत महोत्सवको अवसरमा देशव्यापी झण्डा मार्चपास गरिरहेको छ ।

राष्ट्रिय झण्डा र सङ्गठनको झण्डा बोकी थालिएको देशव्यापी मार्चपासका लागि सशस्त्र प्रहरीले पूर्व र पश्चिम गरी दुई मार्चपास टोली परिचालन गरेको छ । पूर्वी टोलीले झापाको काँकडभिट्टा र पश्चिम टोलीले कञ्चनपुरको गड्डा चौकीबाट झण्डा मार्चपास थालेको थियो । दुवै टोलीको मिनल बिन्दु भने पर्साको ठोरी कायम गरिएको छ ।