यतिबेला संसारका हिन्दुहरूबीच अयोध्या, राम जन्मभूमि र राम मन्दिरको चर्चा व्यापक छ । दशकौंको प्रयासपश्चात् भगवान् रामको जन्मभूमिमा विशाल र भव्य मन्दिर निर्माण भएको छ र भर्खरै भव्यताकासाथ समुद्घाटन भएको छ । मन्दिर निर्माणमा भगवान् रामसँग सम्बन्धित तीर्थहरूका बारे पनि चर्चा परिचर्चा भइरहेका छन् । नेपाल र भारतका करिब दुई हजार पाँच सय बढी धार्मिकस्थलबाट माटो र एक सय पचासभन्दा धेरै नदी, ताल, पोखरी र समुद्रबाट पानी ल्याएर मन्दिर निर्माणमा प्रयोग गरिएको छ । तर, यी सबै कुराहरूबीच भगवान् श्रीरामले शिक्षा प्राप्त गरेको रामधुनीको भने कतै चर्चा गरिएको छैन । ऋषि विश्वामित्रको गुरुकुल ओझेलमा परेको छ । संसारका सबैभन्दा बलशाली र बुद्धिमान रावणको वध गर्नसक्ने शास्त्र र शस्त्रको ज्ञान प्राप्त गरेको शिक्षालय बारे कतै कुनै परिचर्चासमेत छैन । अझ भन्ने हो भने श्रीरामले अग्निस्थापना गरेर पूर्णाहुती हुन नपाएका कारण हालसम्म अनवरत ज्वलित यज्ञबारे कहीँ कतै चर्चा भएको छैन । यो आलेखमा भगवान् श्रीरामले ऋषि विश्वामित्रसँग शिक्षा प्राप्त गरेको स्थान रामधुनीबारे चर्चा गरिने प्रयास गरिनेछ ।

वाल्मीकि रामायणका अनुसार ऋषि विश्वामित्र क्षेत्रीय थिए । उनले कौशिकी नदीका तटमा घोर तपश्या गरे र आफूलाई ब्राह्मणका रूपमा परिणत गरे । तत्पश्चात् अझ कठोर साधना गरेर गायत्री मन्त्रको प्राप्ति गरे । कठोर साधना गरेर गायत्री मन्त्र प्राप्त गरेको यही कोशी किनारमा विश्वामित्रको आश्रम थियो । ऋषि विश्वामित्रले रामलाई आफ्नो आश्रमबारे बताएको कुरा वाल्मीकि रामायणमा यसरी उल्लेख छः

पूर्वजा भगिनी चापि मय राघव सुब्रता ।।
नाम्ना सत्यवती नाम ऋचीके प्रति पादिता ।। ७ ।।
सशरिरा गता स्वर्गं भर्तारमनुवर्तिनी ।।
कौशिकी परमोदारा प्रवृत्ता च महानदी ।। ८ ।।
दिव्या पुण्योदका रम्या हिमवन्तमुपाश्रिता ।।
लोकस्य हितकार्यार्थं प्रवृत्ता भगिनी मम ।।९ ।।
ततोऽहं हिमवत्याश्र्वे वसामि नियतः सुखम् ।। १० ।। (वाल्मीकि रामायण बालकाण्डको ३४ सर्ग)

हे  राघव ! मेरी एउटी बहिनी थिइन्, जो उत्तम ब्रतको पालन गर्थिन् । सत्यवती नाम भएकी उनको ऋचिक मुनीसँग विवाह भएको थियो । पतिको आज्ञा अनुसरण गर्ने उनी सशरीर स्वर्ग गइन् । उनै मेरी बहिनी परम् उदार कौशिकी नदीका रूपमा यो भूतलमा प्रवाहित भएकी छन् । उनै कौशिकी हिमालयमा आश्रय लिएर नदीका रूपमा प्रवाहित भइन् । पुण्यशिला कौशिकी नदी दिव्य र रमणीय रहेको छ । अतः हिमालयका तटमा रहेकी त्यही नदीका तट (किनार)मा म नियमपूर्वक निवास गर्दछु ।

कोशी/कौशिकी/सप्तकोशी जे भने पनि एउटै नदीको नाम हो । सप्तकोशीको जलले सिञ्चित र पहाडको फेदीमा फैलिएको मैदानी क्षेत्र घनघोर जङ्गलका रूपमा प्रख्यात थियो । यहाँ विश्वामित्र, ऋष्यश्रृङ्गलगायतका ऋषिमुनीहरूको आश्रम थियो । यो वन ठूलाठूला शाकाहारी जनावरहरूको बासस्थान थियो । आजसम्म पनि यहाँ अर्ना र हात्तीजस्ता ठूला जनावरहरू प्रशस्त पाइन्छन् । यहाँ टाढा–टाढाबाट राजा महाराजाहरू शिकार खेल्न आउँथे । यो क्षेत्रलाई वाल्मीकि रामायणको बालकाण्डको २९ औं सर्गमा सिद्धाश्रम भनेर उल्लेख गरिएको छ ।

तर, यो क्षेत्र उत्तर पहाडी क्षेत्रतिरबाट आउनेहरूका कारण भने अत्यन्त दुःख थियो । उनीहरू यो जङ्गलमा शिकार खेल्न आउँथे र शिकार गरिएका जनावरका हाड, खुर, छालाजस्ता फोहोरहरू ऋषिहरूको आश्रमतिरै फ्यालेर जान्थे । ऋषिहरूको यज्ञमा बिघ्न पु¥याउँथे । यज्ञलाई अशुद्ध बनाउने प्रयास गर्थे । त्यसबेलाका सबैभन्दा क्रूर सुबाहु र मरिची नामका दाजुभाइ थिए । उनीहरूको अत्याचार सहिनसक्नु थियो । ऋषि विश्वामित्र कुनै बेलाका प्रतापी राजा थिए । क्षत्रीय थिए । उनी सुबाहु र मरिचीलाई पराजित गर्न सक्थे । तर, हतियार बिसाएर तपश्याबाट ऋषि बनेका विश्वामित्रले युद्धबाट विश्राम लिएका कारण विवश थिए । भगवान् विष्णु त्रेतायुगमा हुने अत्याचारको समूल नाश गर्न अयोध्यामा अवतरित भएका छन् भन्ने उनले थाहा पाए । अयोध्या नरेश दशरथका पुत्रका रूपमा अवतरित रामले नै उनीहरूको नाश गर्न सक्छन् भन्ने उनलाई विश्वास भयो ।

महर्षि विश्वामित्र अयोध्या गए । उनले दशरथसामु राम, लक्ष्मण, भरत र शत्रुघ्नलाई आफूले शिक्षाध्यनका लागि लैजाने भन्दै मागे । पुत्र वियोग सहेर राजा दशरथले राजकुमारहरूलाई ऋषिसँगै पठाए ।

विश्वामित्रले रामहरूलाई अयोध्याबाट पूर्व हुँदै गङ्गामा स्नान गराएर उत्तर सिद्धाश्रमतर्फ लिएर आए ।

इह राम महाबाहो विष्णुर्देव नमस्कृतः ।।
वर्षाणि सुबहूनीह तथा युगशतानि च ।। २ ।।
तपश्चरणयोगार्थमुवास सुमहातपाः ।।
एष पूर्वाश्रमो राम वामनस्य महात्मनः ।। ३।।
सिद्धाश्रम इति ख्यातः सिद्धो ह्यत्र महातपाः
(वाल्मीकि रामायण बालकाण्डको २९ औं सर्ग)

विश्वामित्र भन्छन् ‘महाबाहू हे श्रीराम !! परापूर्व कालमा देववन्दित भगवान् विष्णुले धेरै वर्ष तथा सयौं युगसम्म यो स्थानमा रहेर तपश्या गर्नुभएको थियो । यो स्थान वहाँले वामन अवतारका लागि उद्यत हुनुपूर्वको तपश्या आश्रम थियो । भगवान् विष्णुले तपश्या गरेको यो स्थान सिद्धाश्रमका रूपमा परिचित छ ।’

वामन अवतारपूर्व वराह र नृसिंह अवतारको कथा पुराणहरूमा पाइन्छ । नृसिंह र वराह अवतार करिब एकै समयको अवतार हो । हिरण्याक्ष र हिरण्यकश्यप दाजुभाइको संहार गर्नका लागि यी अवतार लिइएका हुन् । तत्पश्चात्को निकै कालपश्चात् मात्र वामन अवतार भएको हो । वराह अवतारपछि भगवान् विष्णुले यही क्षेत्रमा घोर तपश्या गर्नुभयो । त्यसपछि ऋषि कश्यप भगवान्लाई जगाउन आए ।

अयं सिद्धाश्रमो नाम प्रसादात् ते भविष्यति ।
सिद्धे कर्मणि देवेश उत्तिष्ठ भगवन्नितः ।।१८।।
(वाल्मीकि रामायण बालकाण्डको २९ सर्ग)

ऋषि कश्यप भन्नुहुन्छ, ‘देवेश्वर ! भगवन् ! तपाईंको तपश्याका कारण यो स्थान सिद्धाश्रमका रूपमा भविष्यमा विख्यात हुनेछ, अब तपार्इंको तपश्या पूर्ण भयो । अतः यहाँबाट उठ्नुहवस् ।’ त्यसपछि अदितीका पुत्रका रूपमा भगवान् वामनका रूपमा अवतरित हुनुभएको पुराणमा उल्लेख छ । वराह अवतारपछि तपश्यारत भगवान् विष्णुलाई कश्यप ऋषिले उठाएपछि भगवान्ले यही स्थानमा आफ्नो वराह रूपलाई जगत्को हितका लागि स्थापित गर्नुभएको हो । यो स्थान हाल वराहक्षेत्रका रूपमा संसारभर प्रख्यात छ । यस प्रकारले विश्वामित्रले रामहरूलाई वराहक्षेत्रको नजिक रहेको सिद्धाश्रममा रहेको आफ्नो आश्रममा लिएर आए ।

यहाँ आएर उनले सिद्धाश्रमको परिचय गराए र यहाँबाट उत्तरमा देखिने पञ्च पर्वतको परिचय गराए । उनले वराह पर्वतका रूपमा हालको महाभारत पर्वत शृङ्खलालाई देखाए । यस्तै उत्तर–पूर्वमा रहेका हालका कञ्चनजङ्घा र कुम्भकर्ण मनिने पर्वत देखाए । त्यस्तै उत्तरमा हाल मकालुका रूपमा परिचित शिखर देखाए । त्यस्तै उत्तर–पश्चिममा रहेको सगरमाथा शृङ्खलालाई पाँचौं पर्वतका रूपमा परिचित गराए र वरपरका बारेमा पनि रामलाई बताएको कुरा वाल्मीकि रामायणमा उल्लेख छ ।

कौशिकी नदीको यो तटमा ऋषि ऋष्यश्रृङ्गको पनि आश्रम थियो । ऋष्यश्रृङ्ग रामहरूका भिनाजु थिए । राजा दशरथ र रानी कौशल्याकी पहिलो सन्तानको रूपमा शान्ताको जन्म भएको थियो । उनै शान्ताको विवाह ऋष्यश्रृङ्गसँग भएको थियो । प्राचीन सनातनी परम्पराअनुसार मानिसले गर्ने जुनसुकै कार्य गर्दा अग्निस्थापना गरेर सम्पन्न गरिन्छ । मानिसका १६ संस्कार हुन्छन् । विभिन्न अनुष्ठान हुन्छन् । ती सबै गर्नको लागि अग्निस्थापना गरेर हवन गर्न आवश्यक हुन्छ । हरेक धार्मिक कार्यहरू, संस्कारहरू गर्न अग्नि साक्षी राखेर अग्निलाई भोजन (हवन) गराएर मात्र गरिन्छ । यो ब्रह्माण्डका स्रोत सूर्य हुन् । सूर्यको प्रतिनिधि र अंश अग्नि हुन् । त्यसैले अग्निलाई सूर्यका प्रतिनिधिका रूपमा उनको आराधना गरेर मात्र कार्य सम्पन्न हुन्छ भन्ने सनातनी विश्वास छ । राम लक्ष्मणहरूको शिक्षाध्ययनका लागि हवन कुण्ड निर्माण भयो । अग्नि स्थापना गरियो ।

सदर्भचमसस्रुक्का ससमित्कुसुकमेच्चया ।
विश्वामित्रेण सहिता वेदिर्जज्वाल सत्र्विजा ।।९।।
(वाल्मीकि रामायण बालकाण्डको ३० सर्ग)

यसपश्चात् कुश, चमस, स्रुक, समिधा फूलहरूबाट सुशोभित विश्वामित्र एवम् अन्य ऋत्विक(ब्राह्मण)हरूसहित भएको यज्ञ वेदीमा अग्निको आवाहन गर्दा अग्नि प्रज्वलित भयो । शास्त्र र शस्त्र अध्ययनपूर्व प्रत्येक दिन हवन गरिन्थ्यो । यो क्रम दैनिकीका रूपमा चलिरहेको थियो । रामले यसै क्रममा सुबाहुको बध गरे । मारिचलाई यहाँबाट खेदाए । अन्य आततायीहरूलाई पनि खेदाए । रामले ऋषिमुनीहरूको त्राण हरण गरे र सिद्धाश्रमलाई शान्त तपस्थलीका रूपमा परिणत गर्दै थिए ।

त्यसै क्रममा विदेह (जनकपुर)का राजा शिरध्वज (जनक) आफ्नी छोरी वैदेही (सीता)को स्वयम्बरका बारे सल्लाह लिन ऋषिका आश्रममा आए । जङ्गलमा आखेटको बहानामा उनले परिवारलाई समेत लिएर आएका थिए । जनकले विश्वामित्र, ऋष्यश्रृङ्गलगायतका ऋषिहरूलाई सीता स्वयम्बरका लागि निमन्त्रण पनि गरेर फर्किए । रामले सीतालाई पहिलो पटक त्यही ऋषिको आश्रममा देखे र मोहित भए । सीताको सुन्दरतामा मोहित राम सीताको स्वयम्बरको कुरा सुनेर उद्वेलित बने । विश्वामित्रले रामको अवस्था बुझेर राजकुमारहरूलाई सीता स्वयम्बरमा लिएर गए । सूर्यवंशी क्षेत्रीय कुलका राजकुमारहरू पनि सीता स्वयम्बरका लागि योग्य हुने विश्वामित्रलाई लाग्यो । उनीहरू स्वयम्बरमा सहभागी हुन सिद्धाश्रमबाट जनकपुर पुगे । तर, त्यो बेला राजकुमारहरूको अध्ययन सकिएको थिएन । आश्रममा रहेका ऋषिहरूलाई यज्ञको जिम्मा दिई स्वयम्बरमा सहभागी भएर आश्रम फर्किने सल्लाहमा उनीहरू जनकपुर गएका थिए । उता रामले स्थापना गरेर दैनिक हवन गर्ने गरेको यज्ञ ऋषिहरूलाई छाडेका थिए ।

जनकपुरमा सीता स्वयम्बरको भव्य आयोजना गरिएको थियो । भारतवर्षका प्रायः सबै सम्राटहरू, राजाहरू स्वयम्बरमा सहभागी थिए । अन्ततः रामको सीतासँग विवाह भयो । जनककी अर्की छोरी उर्मिलाको विवाह लक्ष्मणसँग गरियो । जनकका भाइ कुशध्वजकी छोरीहरू माण्डवीको विवाह भरतसँग र श्रुतकीर्तीको विवाह शत्रुघ्नसँग सम्पन्न भयो । राजकुमारहरू ऋषिका आश्रममा अध्ययनरत थिए । उनीहरूको विवाह राजकुमारीहरूसँग भयो । राजकुमारीहरूलाई भिœयाउन दरबार लैजानुपर्ने भयो । दुलही भिœयाएर अध्ययनलाई निरन्तरता दिने सल्लाहमा दुलही भिœयाउन अयोध्या लगियो ।

राम अयोध्या पुगे । दुलही भिœयाइयो । विवाहका सम्पूर्ण कार्यहरू सम्पन्न हुन केही दिन लाग्यो । त्यसपश्चात् अयोध्यामा सङ्ग्रालो भयो । रामले १४ वर्षका लागि वनबास जानुप¥यो । राम अयोध्याबाट सरयु तरेर दक्षिणतर्फ लागे । यता सुबाहु र मरिचीका सन्तान र अन्य आततायीको समूल नाश भैसकेको थिएन । यिनीहरूको अत्याचार सम्झेर ऋषि विश्वामित्र पनि यता सिद्धाश्रममा फर्किएर आएनन् । अन्ततः रामले सुरु गरेको यज्ञको पूर्णाहुती हुन पाएन र रामकै हातबाट पूर्णाहुती हुने आशामा अग्निदेवले पनि विश्राम लिएनन् । सो अनवरित ज्वलित त्यही यज्ञ आजसम्म पनि निरन्तर प्रज्वलित रहेको छ ।

त्रेतायुगमा कोशी नदी यसै स्थान भएर बग्ने गर्थिन् । यहाँ ऋषिहरूको आश्रमछेउ कौशिकी नदीको स्वरूपमा आठभूजा भएकी भगवतीको मन्दिर थियो । यिनलाई स्कन्ध पुराणमा कौशिकी भगवती भनेर सम्बोधन गरिएको छ । पछि यिनको मन्दिर पनि भत्कियो । कालान्तरमा स्थानीय किसानको सपनामा आएर यिनले ‘म दबिएर बसेकी छु, मलाई उत्खनन् गर्नू’ भनिन् । त्यसपछि उनलाई जमिन मुनीबाट निकालेर श्रीपिण्डेश्वर मन्दिरमा स्थापना गरियो । पछि सवा तीनसय वर्षअघि यो क्षेत्रमा तीन सिद्ध महापुरुषहरू तपश्या गर्न भनेर आए । उनीहरू वनस्खण्डी बाबा, औलिया बाबा र बाघम्बर बाबा थिए । उनीहरूले तपश्या गर्दैगर्दा तीनै जनालाई भागवत् कृपा प्राप्त भयो । वनस्खण्डी बाबाले रामधुनीका बारे ज्ञान प्राप्त गरे र उनले जङ्गलको बीचमा जमीन मुनी सुसूप्त अवस्थामा प्रज्वलित यज्ञको उत्खनन् गरे । अनि अनवरत् यज्ञको प्रथा कायम राख्ने गरी संसारलाई बताएर गए । उनले गुरुशिष्य परम्पराअनुसार यहाँ मन्दिर स्थापना गरेर पूजाको चलन चलाए ।

उनीसँगै आएका औलिया बाबाले वराहक्षेत्रबारे ज्ञान प्राप्त गरे । तत्पश्चात् वराहक्षेत्रको उन्नयन गरी पूजा आराधनाको चलन चलाए ।

त्यस्तै अर्का बाबा बाघम्बरले रुद्राक्षारण्यका बारे ज्ञान प्राप्त गरे । उनले श्रीपिण्डेश्वरको हजारौं वर्ष पुरानो मन्दिरको खोजी गरी इतिहास पत्ता लगाए । उनले पनि गुरुशिष्यको परम्पराअनुसार यहाँ पूजाआजाको चलन चलाए । वनस्खण्डी बाबाले उत्खनन् गरेर रामायणमा भएका प्रमाणहरूका आधारमा भगवान् श्रीरामले ऋषि विश्वामित्रसँग शास्त्र र शस्त्रको अध्ययन गरेर सुबाहुको बध गरेर मरिचीलाई खेदाएर यो क्षेत्रलाई पुण्य क्षेत्र बनाएको सिद्धाश्रमलाई रामधुनीका रूपमा प्रसिद्धी दिलाए । र, तीर्थस्थलका रूपमा  परिचित पनि गराए । यो क्षेत्रमा ऋषि विश्वामित्रसहित धेरै ऋषिहरूको आश्रम थियो । त्यसमध्ये स्थायी आश्रम बनाएर बस्ने ऋषि ऋष्यश्रृङ्ग थिए । ऋष्यश्रृङ्ग रामकी दिदी शान्ताका पति हुन् । ऋषि ब्राह्मण भए पनि क्षेत्रीयकी छोरी शान्तासँग विवाहित थिए । उनै ऋष्यश्रृङ्गको प्रमुख आचार्यत्वमा भएको पुत्रेष्ठी यज्ञकै फलस्वरूप भगवान् रामसहित चार भाइको जन्म भएको पुराणमा उल्लेख छ ।

ऋष्यश्रृङ्गको जन्म कोशी नदीमा विभाण्डक ऋषिको वीर्य पतन भएको र सो वीर्य मृगिणीले पान गरेका कारण भएको पनि पुराणहरूमा उल्लेख छ । राजा दशरथकी पुत्रीको जन्मपश्चात् अयोध्यामा १२ वर्ष भीषण खडेरी परेर अनिकाल आयो । शान्ताका कारण खडेरी परेको ज्योतिषीहरूले बताएपछि दशरथले पुत्री त्याग गर्ने भए । उता कौशल्याका भिनाजु अङ्ग देशका नरेश लोमपादका कुनै सन्तान थिएनन् । उनले शान्तालाई दत्तक पुत्रीका रूपमा स्वीकारेर लिएर गए । शान्ता अङ्ग देश गएपछि त्यहाँँ पनि अनिकाल प¥यो । कयौं वर्ष वर्षा भएन । त्यसबाट मुक्तिका लागि ऋष्यश्रृङ्गलाई बोलाएर लोमपादले उनको आचार्यत्वमा यज्ञ गराए । यज्ञको समापनपश्चात् वर्षा भयो । राजा लोमपादले शान्ताको कन्यादान उनै ऋष्यश्रृङ्गसँग गरिदिए । वर्षा गराउने, पुत्र प्राप्तिका लागि यज्ञ गराउने उनै ऋष्यश्रृङ्गको उत्पत्ति कोशी नदीबाट र उनको आश्रम पनि यसै क्षेत्रमा भएको पुराणहरूमा उल्लेख छ । भगवान् श्रीरामले स्थापना गरेको यज्ञ भएको यो स्थान पुत्र प्राप्ति, ज्ञान प्राप्ति र सहकालका लागि यज्ञ गर्न अत्यन्त उपयुक्त स्थान हो । राम मन्दिर निर्माण र समुद्घाटनको यस्तो महान् उत्सवका समयमा यस्तो पवित्र र महŒवपूर्ण स्थानका बारेमा चर्चा नहुनु विडम्बना मान्नुपर्ने हुन्छ । भनिन्छ, यो स्थानमा आएर गरिने यज्ञले मनोबाञ्छित फल प्रदान गर्दछ र ईश्वरको कृपा प्राप्त हुने बताइन्छ ।