प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’सम्बन्धी अन्तरक्रियामा उनले अब सेवा प्रवाह, विकास निर्माण तथा नीति तर्जुमाका क्षेत्रमा नयाँ सुरुवात गरिने बताए ।
'मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु । वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदै छ । अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ । जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु', प्रधानमन्त्रीले भने । कर्मचारीतन्त्रमा रहेका सम्पूर्ण व्यक्ति ज्ञान, अनुभव र क्षमताको दृष्टिकोणले सक्षम रहेपनि त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले भने, 'कर्मचारीको क्षमताको जसरी जति उपयोग हुनुपर्ने थियो, त्यसबाट सेवा र विकासलाई उपलब्धिमूलक बनाउन सकिएको छैन । यसमा कुनै न कुनै ‘ग्याप’ छ, त्यसलाई कसरी हल गर्ने भन्नेमा आश्वयक छलफल गर्नुपर्छ ।'
नेपालको कर्मचारीतन्त्र संसारकै अब्बल, व्यावसायिक, दक्ष र अनुभवी रहेको जनाउँदै उनले परिणाम दिने सन्दर्भमा राजनीतिक नेतृत्व र कर्मचारीबीचमा कहीँ न कहीँ तादाम्यता नमिलेको बताए ।
सरकारको ध्यान शासकीय सुधार गर्नेमा केन्द्रित भएको जनाउँदै प्रधानमन्त्री दाहालले प्रशासनमा सुधार गर्ने मात्रै नभइ समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा छलफल गरिरहेको बताए । 'शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ', उनले भने ।
आफू र मातहत निकायको नियमित कामलाई नतिजासँग कसरी जोड्ने भनेर सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्नेबित्तिकै सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक जस्तो देखिएको बताए ।
'कहीँ न कहीँ समस्या छ । समाधान गर्ने उपाय पनि खोज्नुपर्ने हुन्छ', उनले भने ।
प्रधानमन्त्री दाहालले गतवर्ष सरकार प्रमुखका हैसियतमा आफूले अर्थतन्त्रका समस्या सका लागि सामान्य सुधारका उपायमार्फत मात्रै नहुने देखेपछि गम्भीर ढङ्गले सोचेर तत्काल सुधारतर्फ जान जरुरी रहेकाले सुधारको प्रक्रिया थालनी गरिएको स्मरण गरे ।
'आउने दिनमा अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन उपायको खोजी गर्नुपर्नेछ', उनले भने, 'नीतिगत र संरचनागत रुपमा कहाँ चुकेका छौँ, कार्यशैलीमा सीमा कहाँनेर छ, त्यो विषयको गहिरो छानबिन हुनुपर्छ ।'
सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने दिशातर्फ अघि बढेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, 'प्रशासनिक क्षेत्र तथा अर्थतन्त्रमा गर्न सकिने र तत्काल गर्नैपर्ने सुधार के हो ? जसले जनतामा भरोसा पैदा गर्न सकोस्, दीर्घकालीन ढङ्गले दिशानिर्देश गर्नुपर्ने र लक्ष्य निर्धारण गर्नुपर्ने के के मा हो ? भन्ने विषयको निष्कर्ष आउनुपर्छ ।'
सरकारी सेवा प्रवाहमा सुधारको महसुस नभएसम्म जनता सन्तुष्ट नहुने उल्लेख गर्दै उनले सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्ने भएकाले यसमा राजनीतिक चलखेल हुन नहुने धारणा राखे । जनताका विचार सरकार तथा सरोकारवाला निकायले सुनेर समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने भन्दै सरकार तथा सेवा प्रदायक निकायप्रति जनताले भरोसा गर्ने कामतर्फ सबै लाग्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि प्रयास जारी राखेको बताउँदै जनता पूरै सन्तुष्ट हुने गरी सेवा दिन नसकिएको र अर्थतन्त्र सुधारोन्मुख भए पनि दबाबमुक्त भइनसकेको उल्लेख गरे ।