अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘परदेशी–२’ असोज २६ गतेदेखि सिनेमञ्चमा आउने भएको छ । वैदेशिक रोजगारीमा जानुपर्ने आम नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘परदेशी–२’ को प्रवर्धनका लागि ‘डेब्यु नायक’ प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी धरान आइपुगेका छन् । 

भिडिओमा कथा र गीतमा मुद्दाका कारण नेपाली लोक संगीत जगतमा रुचाइएका प्रकाश सपूतले पहिलो चलचित्रमार्फत नयाँ पुस्ताको वैदेशिक यात्राका संघर्ष बोकेको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए । 

‘सामान्य गाउँको युवाले पोस्टरहरुमा, सिडी, भिसिडीमा चलचित्र हेरेको र आज तिनै पोस्टरहरुमा चलचित्रको नायकका रुपमा आफूलाई पाउँदाको अनुभूति दुईचार शब्द र दुईचार मिनेटमा व्यक्त गर्न सकिंदैन,’ धरानस्थित फ्रेण्ड्स् सिनेमामा आयोजित पत्रकार सम्मेलनमा सपूतले भने, ‘गोर्खापल्टन, परदेशीलगायतका राम्रा चलचित्र निर्माण गरिसक्नु भएका निर्माता र नेपाली फिल्म इण्डस्ट्रिजका अनुभवी कलाकारसँग स्क्रिनसेयर गरेको छु, आफूलाई भाग्यमानी कलाकारका रुपमा पाएको छु, मलाई हावामा उडिरहेको जस्तो, बबल्समा हिंडिरहेको जस्तो भएको छ ।’

चलचित्र परदेशीमा आफ्नो चरित्रले युवा परदेशीको भूमिका निर्वाह गरेको सपूतले बताए । चलचित्र ‘गोर्खा पल्टन’ मा लाहुरे परदेशीको चरित्र, ‘परदेशी’मा अरब जाने युवाको कथा र ‘परदेशी २’ मा अहिलेको जमानाका युवा र वैदेशिक रोजगारीमा जाने युवा विद्यार्थीको कथालाई प्रतिनिधित्व गरेको नायक सपूतले बताए । उनले उमेर र अनुभवका हिसाबले ती युवालाई चलचित्रले प्रतिनिधित्व गरेको बताए । 

‘पक्कै पनि यो हाम्रो समयको कथा भएकाले हाम्रो समयको मुद्दा पनि हो ।’ सपूतले भने । 

चलचित्र मानवीय संवेदनाको ‘फूल प्याकेज’का रुपमा आएको सपूत बताउँछन् । उनका अनुसार आफ्नो परिवार र बाआमासँगको संवेद्य दृष्य, गाउँ रित्तिएको वेदना, बाआमा रित्तिएका कथा, विदेश गएर एउटा परदेशीले खाएको हण्डर र संघर्षलाई चलचित्रले भन्ने प्रयत्न गरेको छ । राष्ट्रियताका दृष्टिले समेत चलचित्र बहुआयामिक रहेको छ । 

Prakash Sapoot paradeshei 2

‘चलचित्रले एक्लिएका बाआमाको सेन्टिमेन्ट बोकेको छ, परदेश गएर दुःख पाउने विद्यार्थीको सेन्टिमेन्ट बोकेको छ’ नायक सपूतले भने, ‘अब लभस्टोरी त दुई जना हिरोइनको बीचमा म भएपछि मीठो ट्रेंगल लभस्टोरीमा छ, चलचित्र इन्टरटेन्मेन्ट, इमोसनका हिसाबले फूलप्याकेजमा बनेको छ ।’ 

‘नाइ नभन्नू ल– २’, ‘पशुपति प्रसाद’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी र हाल चलचित्र ‘परदेशी–२’ को प्रवर्धनमा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले चलचित्रमा आफ्नो फरक भूमिका रहेको बताइन् । ‘फरक चलचित्रमा फरक भूमिका गर्ने अपेक्षाअनुसार चलचित्रमा फरक भूमिका दिने प्रयास गरेकी छु ।’ वर्षाले भनिन् । उनले मिडियामा चलचित्रबारे ‘पोजिटिभ रेस्पोन्स’ आएकाले उत्साहित भएको बताइन् । 

चलचित्र प्रमोशनका क्रममा आएका निर्माता राजेश वंशलले चलचित्र कुनै पनि छिमेकी चलचित्र वा कथाबाट प्रभावित नभई मौलिक नेपाली कथामा निर्माण भएको बताए । 

‘यो बाहिर कहींबाट पनि आयातित कथा होइन, हाम्रो आफ्नो माटोको सुगन्ध बोकेको कथा हो,’ निर्माता वंशलले भने,‘अहिले उमेर पुग्ने बित्तिकै वैदेशिक मोह हरेक युवामा हुन्छ, कोही पढ्न, कोही जीविका चलाउन, कोही गाह्रो खाँचो टार्न र कोही अध्ययनका लागि विदेशिएका छन्, ती सबै विषयवस्तुलाई समेटेर प्रत्येक नेपालीको घरघरको कथा भन्ने प्रयास गरेका छौं ।’ निर्माता वंशलले ‘रिल’मा ‘रियल लाइफ’ झल्काउने प्रयास गरेको बताए । 

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो । यो चलचित्र निर्माता वंशल र निर्देशक रायमाझीले संयुक्त निर्माण गरेका हुन् । 

चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । 

चलचित्रको कथा–पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।