धरान । कलाकार हरिवंश आचार्यको शब्द, स्वर र सङ्गीतमा ‘ए केटा मादलु पड्का’ बोलको गीत सार्वजनिक भएको छ । स्वरमा कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिएकी छन् ।

चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिए । उनले भने, ‘मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फु¥यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।’ 

यसरी फुरेको लय अरूलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उनले बताए । ‘यो विशुद्ध नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ’–हास्य कलाकार आचार्यले भने ।

तयार भएको भिडियोमा चुनावमा हुने विकृतिलाई व्यङ्ग्य भने गरिएको छ । भिडियोमा हास्य कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियङ्का कार्की र सरोज ओलीले साथ दिएका छन् ।