विजयपुर । विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गरेको देखिने भिडियो सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बुमा बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परेका हुन्।

भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै अपमानजनक तथा सामाजिक सहिष्णुतामा आघात पुग्ने अभिव्यक्तिसहितको भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत प्रसारण गरेको सम्बन्धमा ब्यूरोले अनुसन्धान अघि बढाएको जनाएको छ।

ब्यूरोका अनुसार उक्त सामग्रीबारे प्राप्त सूचनाका आधारमा प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दा भिडियो प्रसारणमा मडैको संलग्नता खुलेको थियो। त्यसपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई २०८१ भदौ २० गते पक्राउ गरेको हो। पक्राउ परेका मडैलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।