रसुवा । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । 

उनले रसुवागढी, टिम्मुरे, घट्टेखोला, स्याफ्रुबँेसी, हाकुबँेसी, मैलुङ, कैदलटार, पैहे्रबँेसी, बेत्रावती तथा माथिल्लो त्रिशूली थ्री ‘ए’ र ‘बी’लगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गरे । 

अवलोकनपछि राष्ट्रपति पौडेलले सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे तथा नेपाली सेनाको छ नम्बर वाहिनीपति उज्ज्वल विक्रम राणासँग प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार र राहतका कार्यका विषयमा जानकारी लिए । 

उनले खोजी, उद्धार र राहतका कार्यक्रमलाई थप प्रभावकारीसहित निरन्तरता दिन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।  रसुवा बाढीपछि जिल्लाका विभिन्न क्षेत्रबाट १६९ वटा शव सङ्कलन गरी व्यवस्थापनका लागि नुवाकोटमा पठाइएको जानकारी दिइएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी दू्रवप्रसाद आचार्यका अनुसार, जिल्लाबाट उद्धार गरिएका एक हजार ८५ जनालाई नुवाकोटको विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । 

बाढीमा परी जिल्लाका हालसम्म एक हजार ३६५ स्थानीय, अन्य ठाउँका एक हजार १६०, विदेशी पर्यटक २६४, बङ्ैकका कर्मचारी २६, सरकारी कर्मचारी ७९, नेपाली सेना २७, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलका १३ जना सकल दर्जा सम्पर्कविहीन छन् । उक्त बाढीले जिल्ला ११ वटा विद्यालय, २८ वटा सरकारी तथा सार्वजनिक भवन, एक हजार ५०० निजी घर, १५ वटा बैंक, एउटा पेट्रोल पम्प, आठ वटा जलविद्युत् आयोजना, ६ वटा पक्की पुल, आठ वटा बेलीब्रिज, १० वटा झोलुङ्गे पुल र ४१ किमी सडक पूर्ण रुपमा क्षति भएको थियो । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस