विजयपुर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।

महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट रकम कटौतीसँगै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी बाढीपीडितका लागि सहयोग जुटाएको हो ।

महानगरका नगर प्रमुख नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई काठमाडौं पठाएपछि सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराइएको छ । बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको सेवा–सुविधा तथा पारिश्रमिकबाट कटौती गरी संकलन गरिएको हो ।

राहत रकम जुटाउन मेयरले दुई महिनाको सेवा–सुविधा र उपमेयरले एक महिनाको सेवा–सुविधा दिएका छन् । त्यस्तै वडाध्यक्षको सात दिनको सेवा–सुविधा रकम राहत कोषमा जम्मा गरिएको महानगरले जनाएको छ । कर्मचारीतर्फ सहसचिव र उपसचिव तहका कर्मचारीको १० दिन, अधिकृत तहका कर्मचारीको सात दिन तथा सहायक तहका कर्मचारीको तीन दिनको पारिश्रमिक कटौती गरिएको छ ।

सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीबाट पनि तह र श्रेणीअनुसार पारिश्रमिक कटौती गरिएको छ । माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको १० दिन, माध्यमिक द्वितीय र तृतीय, निम्न माध्यमिक प्रथम तथा प्राथमिक प्रथम श्रेणीका शिक्षकको सात दिन तथा निम्न माध्यमिक द्वितीय र तृतीय तथा प्राथमिक द्वितीय र तृतीय श्रेणीका शिक्षकको पाँच दिनको पारिश्रमिक राहतका लागि छुट्याइएको छ । 

विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्ताको दुई दिनको पारिश्रमिकसमेत राहत कोषमा जम्मा गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित परिवारको तत्काल उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि स्थानीय तहको तर्फबाट सहयोग गरेको जनाएको छ । मेयर कोइरालाले प्राकृतिक विपद्का कारण घर, सम्पत्ति र जीवनयापनको आधार गुमाएका नागरिकको पीडा साझा राष्ट्रिय पीडा भएको बताए ।

‘विपद्को पीडा कुनै भूगोल वा समुदायमा सीमित हुँदैन । यस्तो अवस्थामा राज्यदेखि स्थानीय तह, निजी क्षेत्र, संघसंस्था र आम नागरिकसम्म सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ,’ उनले भने । महानगरले विपद्का बेला सहानुभूति व्यक्त गर्नु मात्रै पर्याप्त नहुने निष्कर्षसहित प्रभावित नागरिकलाई प्रत्यक्ष राहत पुग्ने गरी आर्थिक तथा मानवीय सहयोग गर्ने निर्णय गरेको जनाएको छ । महानगरपालिकाका अनुसार उपलब्ध रकम बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा उनीहरूलाई सामान्य जीवनमा फर्काउन सहयोगी हुनेछ ।

भोटेकोशी बाढीपीडितको सहयोगका लागि महानगरले देश तथा विदेशमा रहेका नेपाली, उद्योगी–व्यवसायी, संघसंस्था, सामाजिक अभियन्ता, नागरिक समाज तथा आम नागरिकलाई समेत सहयोगमा जुट्न आह्वान गरेको छ । विपद् कहिले र कहाँ आउँछ भन्ने निश्चित नहुने भएकाले त्यसको सामना सामूहिक प्रयासबाट मात्रै सम्भव हुने महानगरको भनाइ छ । संकटमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै पुनःस्थापनाको आधार तयार गर्न सबै पक्ष एकजुट हुनुपर्ने मेयर कोइरालाले बताए ।