विजयपुर । मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा टेम्पो चालक रमेश तामाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ८९ हजार ३०० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
महाराजगञ्जस्थित बाँसबारीमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत तामाङलाई संगठनले सोमबार अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरेको हो । आगामी आइतबार तामाङको मुटुको शल्यक्रिया हुने भएकाले संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेसहितको टोलीले सोमबार ५० हजार १०० रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । यसअघि संगठनले ३९ हजार २०० रुपैयाँ सहयोग गरिसकेको थियो । यससँगै तामाङले संगठनबाट हालसम्म ८९ हजार ३०० रुपैयाँ सहयोग प्राप्त गरेका छन् ।
परिवारको मुख्य आयस्रोत रहेका तामाङको उपचारमा थप सहयोग आवश्यक रहेको भन्दै संगठनले सम्पूर्ण श्रमिकलाई सहयोगका लागि आह्वान गरेको छ । काठमाडौंको अनामनगर रुटमा बा.१ ह. ३९९३ नम्बरको सफा टेम्पो चलाउँदै आएका तामाङमा गत फागुनमा मुटुमा प्वाल परेको समस्या पहिचान भएको थियो । उनी २०६० सालदेखि अनामनगर रुटमा सफा टेम्पो चालकका रूपमा कार्यरत छन् ।
हेटौंडाका स्थायी बासिन्दा तामाङ काठमाडौंमा भाडामा बस्दै आएका छन्। आफ्नो श्रमबाट श्रीमती, एक छोरी र एक छोराको पालनपोषण तथा शिक्षादीक्षा गर्दै आएका उनी गम्भीर स्वास्थ्य समस्याका कारण अहिले पारिवारिक संकटमा समेत परेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाडौं सफा टेम्पो कमिटीमार्फत तामाङका लागि सहयोग जुटाइएको हो। तामाङको उपचार तथा पारिवारिक अवस्थालाई ध्यानमा राख्दै संगठनले निरन्तर सहयोग गर्दै आएको काठमाडौं सफा टेम्पो कमिटीका कोषाध्यक्ष धर्मराज सापकोटाले बताए। “उहाँको उपचारमा सहयोग गर्न संगठनमार्फत सम्पूर्ण श्रमिकलाई आह्वान गर्छौं,” सापकोटाले भने।
अस्पताल पुगेको संगठनको टोलीले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा आवश्यक सहयोगका विषयमा समेत छलफल गरेको थियो। श्रमिकलाई बचाउन संगठनको तर्फबाट कुनै कसर बाँकी नराखिने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए। श्रमिक तथा उनीहरूका परिवार स्वास्थ्य संकटमा पर्दा उपचार तथा राहतमा सहयोग गर्दै आएको भन्दै उनले स्वास्थ्य, सामाजिक सुरक्षा र आपत्कालीन अवस्थामा संगठनको साथलाई थप व्यवस्थित गर्दै लैजाने बताए।
अस्पतालमा तामाङलाई भेट्न संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेसहित केन्द्रीय सदस्यहरू कृष्णमाया ब्लोन, कमल सापकोटा, बागमती प्रदेश अध्यक्ष वेदप्रसाद घिमिरे, उपसचिव नारायण श्रेष्ठ (काइँला) तथा सदस्यहरू विकास लामा र तीर्थमाया लामा पुगेका थिए।