चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सोमबार एकवर्षे कार्यकालका उपलब्धि र आगामी कार्ययोजनाको सूची सार्वजनिक गरेका छन् । केसीका कार्ययोजनामा सातै प्रदेशमा एकएक वटा फिल्मसिटी स्थापना गर्ने विषय ओझेलमा मात्र परेन कार्ययोजनाबाटै हराएको छ । 

अध्यक्ष केसीले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्नेसहितका २२ वटा कार्ययोजना सार्वजनिक गरेका छन् । यी योजनालाई आगामी एकै वर्षमा पूरा गर्ने महत्वाकांक्षा लिइएको छ । तर यस अघिका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले परिकल्पना गरेको फिल्मसिटी, मिनी फिल्मसिटी र छायांकन स्थलको अवधारणालाई भूवन केसीले उपेक्षा गरेका छन् ।

यद्यपि केसीले ‘नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षकस्थलको रुपमा विकास गर्न थप दुई प्रदेशमा रहेका उत्कृष्ट छायांकन स्थलको बारेमा प्रवर्धनात्मक सामग्री निर्माण गरी प्रचारप्रसार गर्ने ।’ उल्लेख गरेका छन् । 

यसअघि चलचित्र विकास बोर्डले सातै प्रदेशमा चलचित्र छायांकनस्थल बनाउने नीति लिएको थियो । फिल्म सिटीको विकल्पमा बोर्डले इनडोर र आउटडोर छायांकन स्थलसमेत बनाउने योजना ल्याएको थियो । बागमती प्रदेशको दोलखामा फिल्म सिटी बनाउने र सातै प्रदेशमा अत्याधुनिक छायांकन स्थल निर्माणको तयारी तत्कालीन बोर्डका अध्यक्ष दयाराम दाहालले गरेका थिए । 

तत्कालीन सरकारले बजेट घोषणामा स्थानीयस्तरमै चलचित्र छायांकनका लागि स्टुडियो निर्माण गर्ने उल्लेख गरेको थियो ।

कोशी प्रदेशमा बोर्डको कार्ययोजना अनुरूप छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययन समितिले वराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पु क्षेत्रलाई चलचित्र छायांकनस्थल बनाउन उपयुक्त देखाएको थियो । साथै स्थानीय तहलाई प्रतिवेदनसमेत बुझाएको थियो । 

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानसहितको टोलीले वराहक्षेत्र नगरपालिकाका तत्कालीन नगर प्रमुख निलम खनाललाई भेटी प्रतिवेदन बुझाएको थियो ।

यसबारेमा नगर प्रमुखले स्थानीय स्तरमा एउटा समिति गठन गर्नुपर्ने सुझाव दिएका थिए । करिब २ सय रोपनी चलचित्र छायांकनस्थल निर्माणका लागि प्रस्ताव गरिएको थियो । 

Film City Barahakshetra blastkhabar.com

'उल्लेखीय निर्णयलाई नयाँ अध्यक्षले काट्न हुँदैन'

सातै प्रदेशमा फिल्मसिटी र छायांकन स्थलको विषय चलचित्र विकास बोर्डको  कार्ययोजनामा नहुनु दुखद भएको नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् । उनले बोर्डका तत्कालीन अध्यक्ष दयाराम दाहालको पालामा फिल्मसिटी र छायांकन स्थलका बारेमा पास भएको बताए । ‘सातै प्रदेशमा फिल्मसिटी बनाउने निर्णय भएको थियो, अहिलेको अध्यक्षले निर्णय भइसकेको कुरालाई किन कार्ययोजनामा नराखेको हो, कोशी प्रदेशमा प्रदेश सरकारले फिल्मसिटीको डिपिआर निर्माण गर्न अनुमति प्रदान गरिसकेको छ,’ चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष प्रधानले भने, ‘नेपाल चलचित्रकर्मी महासंघको रोहवरमा त्यो कार्य हुन्छ, हाम्रै निगरानी र नेतृत्वमा त्यो कार्य हुन्छ, हाम्रा पुराना सबै एग्रिमेन्ट चलचित्र विकास बोर्डमा छन् ।’

फिल्मसिटीको विषय कार्ययोजनामा नआएको विषय प्रदेशलाई अपहेलना गरेको भन्ने बुझ्न सकिने चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष प्रधान बताउँछन् । ‘बोर्डका अघिल्ला अध्यक्ष क्रियटिभ हुनुहुन्थ्यो, उहाँले धेरै काम गर्न खोज्नु भएको थियो, कोभिडका कारणले गाह्रो भो तर उहाँले गरेका उल्लेखीय निर्णयहरु चाहिं बोर्डका नयाँ अध्यक्षले काट्नु हुँदैन त्यसलाई कार्यान्वयन गरिनुपर्छ भन्ने चाहिं हाम्रो माग हो ।’ अध्यक्ष प्रधानले भने । 

कोशी प्रदेशमा फिल्मसिटी र छायांकन स्थलका रुपमा प्रवर्धन र पहिचान गर्न भूमिका खेलेका चलचित्र निर्देशक तथा पत्रकार भीषण राई भूवन केसीको कार्ययोजनामा नआएको विषय असमञ्जस्य रहेको बताउँछन् ।

‘सहसंयोजक नवल खडकाको नेतृत्वमा फिल्मसिटी र छायांकन स्थल सातै प्रदेशमा पहिचान गरिएको थियो । तर संघीय बजेट र विकास बोर्डको बजेट र कार्ययोजनामै नआउनु भनेको फण्डा गरेको हो कि, झुक्याएको हो, हामी पनि अचम्मित छौं,’ चलचित्र निर्देशक राईले भने, ‘बोर्डबाट निर्देशन पनि छैन, डिपिआर गर्ने, अनुगमनका नाममा बजेट सक्ने मेलो मात्र हो कि यो विषय बडो ताज्जुब लागेको छ । हामी कन्फ्युज छौं । नवल खडका, दयाराम दाहाल यही हुनुहुन्छ, फलोअप छैन । समिति बनाए, भत्ता लिए, भ्रमण गरे कार्यक्रम कार्यान्वयनमा उदासिनता देखिएको छ, यस विषयमा हामी असन्तुष्ट छौं ।’

बनेपामा चलचित्र छायांकन स्टुडियो 

चलचित्र विकास बोर्डका अध्यक्ष केसीले गत असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोकको बनेपा– १० र १३ मा पर्ने बाहुँनडाँडा सामुदायिक वनको जग्गा उपलब्ध भएको उल्लेख गरेका छन् । कुल २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्राप्त भएको केसीले आफ्नो उपलब्धीमा उल्लेख गरेका छन् । 

साथै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न गण्डकी प्रदेशका उत्कृष्ट लोकेसनहरु छानेर वृत्तचित्र निर्माण गरी प्रचारप्रसार सुरु गरिएको उल्लेख छ ।

यस्तै दोलखा चलचित्र नगरी निर्माण आयोजनालाई सार्वजानिक निजी साझेदारी अवधारणामा अगाडि बढाउन सार्वजनिक निजी साझेदारीको मोडालिटी तयार भएको उल्लेख छ ।

इन्डोर चलचित्र छायांकन स्टुडियो बनाउने कार्ययोजना

चलचित्र विकास बोर्डका अध्यक्ष केसीले इन्डोर चलचित्र छायांकन स्टुडियो निर्माणलाई प्राथमिकतामा राखी एकवर्षे कार्ययोजना अघि सारेका छन् । 

केसीले काभ्रेको बनेपामा अत्याधुनिक सुविधा सम्पन्न इन्डोर चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने उल्लेख गरेका छन् । चलचित्र विकास बोर्डको भवनमा पोष्ट प्रोडक्सन ल्याब तयार गरी सञ्चालन गर्नेसमेत उल्लेख गरेका छन् ।

चलचित्र एक्स्पो आयोजना गर्नेदेखि नेपालका कुनै दुई प्रदेशमा चलचित्र पर्यटन महोत्सव आयोजना गर्नेलगायत २२ वटा कार्ययोजना सार्वजनिक गरेका छन् ।