–तीर्थ निरौला           

कला अभिव्यक्तिको एक सशक्त माध्यम हो । दृश्यको सुन्दरता होस् वा भावना वा विचारको, कलाले दृश्यद्वारा आफ्ना स्वभाव र भावना सहजरुपमा प्रस्तुत गर्ने गर्दछ । कला विचार र भावना सम्मिलित अभिव्यक्तिको एक सशक्त माध्यम हो ।

विश्व परिवेशमा कलालाई (चित्रकला, मूर्तिकला)अन्य कलाभन्दा जेठो, कलात्मक, बौद्विक र गहन रुपमा रुपाकृति भएको भावको रुपमा बुझिन्छ । चित्रकला विश्व भाषा हो किनकि यसलाई बुझ्न र बुझाउन भाषाको आवश्यक पर्दैन ।

यो आफैमा ध्वनि र भाषाको एकमुष्ठता हो, जसको दृष्यावलोकनबाटै वाह्य र अन्तरनिहीत सुन्दरताको अभिव्यक्तिलाई दर्शकले सहज रुपमा बुझ्न सक्छन् जुन धर्म, संस्कृति, संस्कार, जनजाति, प्रकृति, मनको भावना, प्रयोगवादी अवधारणा र विचारको उद्वेगसँग जोडिएको वा एकाकार भएको हुन्छ । समष्टिगत रुपमा यस विधालाई वर्गीकरण गर्नुपर्दा, धेरै स्वरुपमा देखा पर्ने गर्दछन् । जस्तोः चित्रकला, मूर्तिकला, काष्ठकला, स्थापत्यकला आदि ।

कला इतिहासमा समय–समयमा विश्व प्रसिद्ध कलाकारहरुले स्थापित गरेका थुप्रै मान्यताहरु विजारोपण भएका छन् । कलाशैली र धारणाहरु उत्पत्ति भएका छन् । जसको प्रचार र पहुँच अझै पनि जनमानससम्म पुग्न सकिरहेको छैन । जसलाई पुर्याउने महत्वपूर्ण भूमिका कला लेखक र कला समीक्षकको हातमा रहेको हुन्छ ।

कलाकारले आफ्नो सुर, गति र क्षमताले कला सिर्जना गरिरहेका हुन्छन् । तर, त्यसलाई जनमानससम्म पु¥याउने दायित्व लेखकवर्गको काँधमा हुने गर्दछ । कला लेखक र समीक्षकहरु कलाकार, कलाकृति र समाजका कडी हुन् । जसको निष्पक्ष कला लेखकीय अभ्यासले सर्वसाधारण जनमानसमा कलाचेतना जागृत गराउने लक्षमा न्याय मिल्छ । 

नेपालमा लेखकीय अभ्यासबाट कलाचेतना जागृत गराउने थोरै कला लेखक, समीक्षकहरु छन्, जसलाई औंलामा गन्न सकिन्छ । विगतका दिनदेखि अहिलेसम्म हेर्दा नेपालमा कलाकारहरु निकै बढेका देखिन्छन् ।

तर, कला लेखकहरु कलाकारहरुको अनुपातमा बढेका देखिँदैनन् । हिजो जति थिए, आज पनि त्यति नै छन् । एकाध कला लेखकहरु नबढेका होइनन्, दुई–चार जना बढेका पनि छन् तर, नगण्य छन् । त्यसैले नेपाली कलाक्षेत्रमा कला लेखकहरुको धेरै आवश्यकता र महत्व छ ।

नेपाली कला लेखकको सन्दर्भ चल्दा, हिजोका र आजका कला लेखकहरु स्वभावतः आउने गर्दछन् । हिजोको दिनमा नाम चलेका र ख्याती आर्जेका कला लेखकहरु सतहमा थिए । नारायणबहादुर सिंह, लैनसिंह वाङ्देल, मनुजबाबु मिश्र, सुरेन्द्रराज भट्टराई आदि लगायत कला, लेखकहरुलाई नेपाली कलाक्षेत्रले कहिल्यै भुल्न सक्दैनन् ।

जसको सम्झना गर्दैमा आजका कलालेखकहरुको छाती गर्वले फुल्छ । यस आलेखको पङ्क्तिमा मैले नेपालका कलाकार एवम् दिवङ्गत भइसक्नु भएका कलालेखकको सुरन्द्रराज भट्टराईको सन्दर्भलाई राख्न खोजेको छु । भट्टराई यस्ता कला प्रतिभा हुन्, जसले नेपाली कला र कला समीक्षाको क्षेत्रमा उल्लेख्य योगदान दिएर संसारबाट बिदा भएका थिए । आज उनकै सम्झनामा केही शब्दका आभासहरु ।

वि.सं. २०६४ माघ २१ गते प्राध्यापक, समीक्षक एवम् चित्रकार सुरेन्द्र भट्टराई यो संसारबाट बिदा भएका थिए । जुन घटनाले नेपाली कलाजगत्लाई स्तब्ध तुल्याएको थियो । ५२ वर्षको अल्पायुमा भरतपुरको क्यान्सर अस्पतालमा उनको निधन भएको थियो ।

त्यसताका कलागुरू भट्टराईको निधनमा समस्त कलाप्रेमीलाई दुःखित बनाएको थियो । ललितकला वाङ्मय समाज, कमर्सियल आर्टिष्ट्ससँग, सिर्जना कलेजलगायत कला विकासका निम्ति स्थापित सङ्घ–संस्था र ग्यालरीहरुले एक शोकसभाको आयोजना गरेका थिए ।

सभामा सम्पूर्ण कलाकारहरुले उनको कला योगदानको चर्चा परिचर्चा गरेका थिए । त्यो सभामा वरिष्ठ कलाकार कृष्ण मानन्धर भन्दै थिए, ‘कलम र कुचीका सिद्धहस्त भट्टराई मिलनसार र कर्तव्यपरायण प्रतिभा थिए ।’ त्यतिबेला नेपालमा एक–दुई जना कला समीक्षकहरु रहेको स्थितिमा उनीजस्ता प्रतिभा चाँडै बित्नु ज्यादै दुःखद् घटना हो ।

उनको शून्यताले आज कलाक्षेत्र टुहुरोसरह भएको छ । नेपालमा कला समीक्षाका क्षेत्रमा नारायणबहादुर सिंहको जस्तो उचाइलाई छुन सक्ने सम्भावना बोकेका कलासमीक्षक सम्भवतः उनी मात्र एक थिए । उनको कलासमीक्षा गर्ने शैलीले सबैको मन छुन्थ्यो ।

शब्दको खेतीमा मात्र विश्वास नराख्ने भट्टराईको कलासमीक्षामा  रङ,  रङको हार्मोनी, ब्रसको स्ट्रोक, वस्तुको विन्यास, फम, स्केच, र विषयवस्तु जस्ता तात्विक र कलाका नैसर्गिक सिद्धान्त तथा प्रायोगिक पक्षहरु प्रमुख प्राथमिकतामा पर्दथ्यो ।

कुनै कलाकारको चित्रको समीक्षा गर्नुपर्दा चित्रमा निहित राम्रा नराम्रा दुवै पक्षलाई औंल्याइदिनु र राम्रो काम गर्न उत्प्रेरणा जगाइदिनु भट्टराईका समीक्षकीय विशेषताहरुमा पर्दथे । प्रायः मसिनो ध्वनिमा थोरै बोल्न रूचाउने उनीमा समीक्षाक्षेत्रको मात्र होइन, समग्र कलाक्षेत्रको नै भविष्य जोडिएको थियो ।

भट्टराई सञ्चार क्षेत्रका माध्यमबाट नेपाली कलालाई जनमानसबीच प्रचार गर्ने मिहिनेती प्रतिभाका रुपमा दरिन्थे । यतिमात्र होइन, उनी सधैँ नेपाली कलाक्षेत्रको उज्वल भविष्यका निम्ति चिन्तित देखिन्थे । सुरेन्द्रले हजारौं चित्रहरु रचना गरी नेपाली कलाभण्डारलाई समृद्ध तुल्याएका छन् ।

समय नपुग्दै कालको उछितो प¥यो । कला समृद्धता हेर्ने रहर अधुरै रह्यो । उनको जीवनकालमा कला प्रज्ञाप्रतिष्ठान गठन हुन सकेन । 

सन् १९८१ मा स्नातकोत्तर परीक्षामा गोल्ड मेडलिस्ट भई नेपाल फर्केपछि कला साधनासँगै विभिन्न पदमा जागिरे जीवन बिताएका सुरेन्द्रराजले वनारस हिन्दु विश्वविद्यालयबाट कलामा स्नातकोत्तर उत्तीर्ण गरेका थिए । उनको जागिरे जीवनको प्रथम अध्याय अनुसन्धान तथा सर्वेक्षण विभागबाट सुरू भएको थियो ।

त्यहाँ केही वर्ष बिताएपछि पछिल्लो दस–बाह्र वर्षदेखि उनी ललितकला क्याम्पस भोटाहिटीमा र पछिल्लो समयमा सिर्जना कला कलेजमा कलाइतिहास विषय पढाउँदै आइरहेका थिए । सुरेन्द्रराज प्राध्यापन र समीक्षाका क्षेत्रमा मात्र नभएर चित्रकर्मको क्षेत्रमा पनि सिद्धहस्त प्रतिभाका रुपमा चिनिन्छन् । उनको कलामा रङ र रेखाको बेजोड मेल हुने गथ्र्यो ।

मैले उनीसँग थुप्रै कलाको कार्यशालाहरुमा सँगै बसेर काम गर्ने मौका पाएको छु । आकासे, खरानी र शीतल रङहरु सुरेन्द्रराजका प्यारा रङ हुने गर्दथे । विषयवस्तु नेपाली ग्रामीण क्षेत्रका हुन्थे र क्यानभासमा प्रायः ग्रामीण टहरा छाप्रा र झोपडीहरु सजिन्थे ।

सुरेन्द्रका दुईपल्ट एक व्यक्ति र दर्जनौं पल्ट सामूहिक चित्रप्रदर्शनीहरु भएका छन् । धेरैपल्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानले विभूषित उनीप्रति वरिष्ठ चित्रकार शशीविक्रम शाह भन्थे, ‘सुरेन्द्रको शरीर कलाक्षेत्रमा नहुनु भनेको नेपाली कलाक्षेत्रको विकासमा एक होनहार प्रतिभा गुम्नु हो ।

यद्यपि कलाक्षेत्रमा उनले लगाएको गुनलाई नेपाली कलाक्षेत्रले कहिल्यै बिर्संदैन र बिर्सन हुँदैन ।’ यस्तै वनारसमा सँगै पढ्दाका सुरेन्द्रका सहपाठी कलाकार किरण मानन्धर भन्थे, ‘सुरेन्द्र हामी सबैको सोझो र प्यारो साथी थियो, बित्यो । दुःख लागिरहेको छ ।’