कुनै पनि शुभकार्य र शुभ यात्रामा समेत बजाइने नेपाली मौलिक परम्परागत नौमती पञ्चेबाजाका आविष्कारकहरू नेपालकै दलित समुदाय हुन् । किनकि यी बाजाहरू धातु र छालाको प्रयोगबाट निर्माण भएको पाइन्छ । विश्वकर्मा समुदायले सुन, फलाम, तामा, पित्तलजस्ता धातुका सामग्री निर्माण गर्ने र मिजार समुदायले छालाका सामग्री निर्माण गर्ने भएकाले यी दुवै सामग्री नौमती पञ्चे बाजामा प्रयोग गरिन्छ । यी बाजाहरू नेपालमा परापूर्वकालदेखि नै शुभकार्य शुभ यात्राहरूमा बजाइँदै आएको पाइन्छ ।

नेपालका शासकहरू वौदिककाल र किरातकालसम्म वर्ग भए तापनि जातीय छुवाछुत नभएको पाइन्छ । जब भारतबाट आएका लिच्छवी वंशहरूले किरातलाई पाखा लगाई आप्mनो शासन चलाउन थाले (सन् २०० देखि ८७९ सम्म) अर्थात ६ सय ७९ वर्ष यिनीहरूले शासन गरेको पाइन्छ । यस अवधिमा लिच्छवीहरूले नै वर्ण व्यवस्था लागू गरेर बागमती उपत्यकामा मानिसहरूलाई चार वर्णमा विभाजित गरी सन् ६०० सम्ममा जातीय छुवाछुत प्रथा ल्याइयो र यो प्रथा मल्लकाल, शाह काल र राणाकालसम्म आइपुग्दा निकै विकराल रूपमा जातीय छुवाछुत प्रथाको विकास भयो र राणाकालमा जङ्गबहादुर राणाले ल्याएको मुलुकी ऐन वि.सं.१९१० मा त जातीय छुवाछुतसम्बन्धी नेपालको पहिलो लिखित ऐन नै बन्यो । ३० वर्षे पञ्चायतकालसम्म पनि यो व्यवस्था कायमै रहयो । २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्थाको पुनर्बहाली भई २०४७ सालको संविधानमा जातीय छुवाछुत गर्न नपाइने त भनियो तर, कार्यान्वयन भएन ।

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले राज्यका सम्पूर्ण अङ्गमा सबै क्षेत्र, वर्ग, लिङ्ग, उत्पीडित जाति र समुदायको सहभागिता हुनुपर्ने, धार्मिक सामाजिक सांस्कृतिक रूपमा मानवमाथि हुँदै आएका सबैखाले शोषण, दमन उत्पीडनको अन्त्य हुनुपर्ने जस्ता विषयको उठान गरेर जनयुद्ध सञ्चालन ग¥यो र त्यही जनयुद्धको जगमा भएको २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनले निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी हुँदा जातीय, वर्गीय, लैङ्गिक विभेद र छुवाछुत अन्त्य गर्यो तर, समाजमा व्याप्त अन्धविश्वास, रुढीवादी परम्परावादीहरूले यो कुरा स्वीकार गर्न नसक्दा आजसम्म पनि जातीय छुवाछुत र विभेदका कुरा व्यावहारिक रूपमा समाप्त भएको छैन ।

जुन बेलादेखि नेपालमा जात व्यवस्थाको सुरुवात भयो, त्यही बेलादेखि नेपालमा परम्परागत मौलिक नौमती पञ्चेबाजाका आविष्कारक र वाद्यवादकसमेत रहेका दलित समुदायहरू पनि अछुत तल्लो जातिमा परिसकेका थिए । उनीहरूलाई शुभकार्य, शुभयात्रामा नौमती पञ्चेबाजा बजाएर अगाडि लगाएर त लगिन्थ्यो तर, भान्सा घरदेखि खेतबारीमा चाहिने सामग्री भाँडावर्तन, काँटी, करुवा, कुटोकोदालो, मठमन्दिरका कलाकौशल विश्वकर्मा सामुदायले बनाउँथे । सबै उच्च जाति र शासकका लागि चाहिने आवश्यक पहिरन दर्जी समुदायले बनाउने गर्थे तर, उनीहरूलाई पानी छुन नदिने, उच्च जाति भनेका मान्छेलाई छुन नहुने, नौमती बाजा बजाएर गएका दलित समुदायले भोजमा अलग्गै बसेर परैबाट थापेर खानुपर्ने भयो । त्यसैले होला गाउँमा २० वर्षसम्म गाउँघरमा शुभविवाह कार्य, शुभकार्य हुँदा नौमती पञ्चे बाजा बजाएर हिँडेका धरान–१५ का टीकाराम दर्जीलाई भोजभतेरमा कान्लामुनी भात दिएको कारणले उनले नौमती बाजा बजाउन छोडेर आप्mनो परम्परागत सिलाइ पेसा मात्र गर्दै आएका छन् ।

गाउँघरमा नौमती पञ्चेबाजामा विवाह शुभकार्य र यात्रा हुँदा कम्मर मर्काई मर्काई नाचेका ब्राह्मण, क्षेत्री आदिवासी जनजातिहरूलाई पनि यो सङ्गीत विधा सिक्न र विवाह शुभ कार्यमा बाजा बजाएर हिँड्न मन नलागेको होइन तर, जात व्यवस्था रहेको समाजमा अन्य जातिले यो कार्य गर्न सम्भव थिएन । जब उनीहरू सुनसरीको हालको इटहरी उपमहानगरपालिकामा बसाई सरेर आए, उनीहरूले ब्राह्मण, क्षेत्री, एकजना जनजाति महिलासहित नौमती बाजाको समूह बनाए । आप्mनै लगानीमा बाजा खरिद गरेर तालिम लिएपछि उनीहरू धेरै विवाहलगायतका शुभकार्यहरूमा बाजा बजाउन गए । त्यस बाजाको समूहमा एकजना राई र अरू सबै ब्राह्मण क्षेत्री थिए र अहिले पनि छन् तर, उनीहरूलाई नौमती बाजा बजाएकै कारण विवाह भोजभतेरमा अलग्गै राखेर खान दिइन्थ्यो । यो विभेद उनीहरूले धेरै वर्षसम्म सहे । उनीहरू नौमती बाजा बजाउनका लागि व्यावसायिक पनि भइसकेका हुनाले उनीहरूले यो कार्यलाई निरन्तरता दिए । अहिले उनीहरूले विवाह भोजभतेरमा जाँदा अलग्गै भोज खानु नपरेको उनीहरूले बताएका छन् ।

भोजभतेरमा कान्लामुनी भात खानु परेकै कारण नौमती बाजा बजाउन छोडेका धरान–१५ निराजन बस्तीका टीकाराम दर्जीलाई अहिले सबै जाति समुदायले नौमती बाजा सिकेको बजाएको देख्दा सुन्दा फेरि नौमती बाजा बजाउने मोह मात्र होइन, आफ्नो सीप नयाँ पुस्ता र अन्य जाति समुदायहरूलाई सिकाएर सीपको पुस्तान्तरण गर्नेसम्मको इच्छा शक्ति जागेर आएको छ । उनीसँग नौमती पञ्चेबाजा बजाउन जान्ने वाद्यवादकहरू पनि छन् र उनलाई अन्य जातिले पनि साथ दिएका छन् ।

यस कार्यलाई संस्थागतरूपमै सुरु गर्नका लागि धरान–१५ निराजनबस्तीमा नरबहादुर लिङ्थेपको अध्यक्षतामा गत फागुन २८ गतेको भेलाले निराजन नौमती बाजा संरक्षण समिति गठनसमेत गरेको छ । १३ सदस्यीय समितिको अध्यक्षमा टीकाराम दर्जी, उपाध्यक्षमा जुनु परियार, महासचिवमा खेमराज सेवा, सचिवमा लोकराज निरौला (म आफै), कोषाध्यक्षमा नेत्रबहादुर दर्जी तथा सदस्यहरूमा गङ्गा परियार, कमला वि.क., राजु नेपाली, गङ्गा लिम्बू, नरबहादुर लिङ्थेप, प्रेमकुमारी राई, कर्णबहादुर खड्का र धनमाया वि.क. छन् । सल्लाहकारमा डेगबहादुृर नेपाली, बलबहादुर गहतराज, नरेशकुमार दर्जी रहेका छन् । बैठकले बाजाको ३ महिने तालिम सञ्चालन गर्न आर्थिक स्रोत जुटाउने, संस्था दर्ताका लागि विधान तर्जुमा गर्न समितिका महासचिव खेमराज सेवा, सचिव लोकराज निरौलालाई जिम्मेवारीसमेत तोकिएको छ । ३ महिने नौमती बाजा तालिममा युवापुस्तालाई प्राथमिकता दिई सीपको हस्तान्तरण गर्ने मौलिक परम्परागत बाजा संरक्षण र व्यावसायीकरण गर्ने समितिको उद्देश्य रहेको समितिका अध्यक्षले बताएका छन् ।