धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट सुरु हुने धरान एक्स्पोको पहिलो दिन गायक समिर श्रेष्ठको साङ्गीतिक प्रस्तुति हुने भएको छ ।
धरान रङ्गशालाको तल्लो मैदानमा हुने एक्स्पो उद्घाटनको साँझ युवापुस्ताका चर्चित गायक समिरलाई आयोजकले स्टेजमा उतार्ने भएको हो । उनका ‘थाम न हात मेरो, हेर न, चार दिवार, टीकाजमरा, मायालु सुन न, कुरी बस्छौ, आँशुले मुहार धुँदैछु, बुझी देऊ’ लगायत गीतहरू युवापुस्ताले मन पराएका छन् ।
यसअघि एक्लै प्रस्तुति दिँदै आएका गायक समिरले धरान एक्स्पोमा भने आफ्नो ब्याण्ड क्रिसेन्ट्सका ६ जना सदस्यहरूसहित पहिलो पटक लाइभ प्रस्तुति दिने आयोजकले जनाएको छ । त्यस्तै एक्स्पोको दोस्रो दिन चर्चित गायक छेवाङ लामाको प्रस्तुति रहने बताइएको छ ।
फागुन २० गते शनिबारसम्म चल्ने एक्स्पोमा व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तीय संस्थालगायत क्षेत्रका विभिन्न स्टलहरू प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला खेलहरूसँगै हरेक दिन चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने अध्यक्ष विजय श्रेष्ठले बताएका छन् ।
































