इटहरीको मुख्य चौरस्ता गोलो चोकमा पुग्ने बित्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतिमा जान्छ । ट्राफिक लाइटमा रोकिएका हर कोही व्यक्तिको आँखा त्यही आकृतिमै पुग्छ । आकृति हेरेपछि सबैको मनमा प्रश्न उब्जिन्छ ।

यी चार जना मानिस को हुन् ? यिनीहरूले के बोकेका हुन् ? उत्तर सोच्दासोच्दै रेड सिग्नल ग्रिन हुन्छ अनि मानिस गन्तव्यमा हुइकिन्छन् । प्रश्न बाँकी नै रह्यो । सामाजिक सञ्जाल फेसबुकका सेल्फी । टिकटकमा यही आकृतिको भिडियो भाइरल भइरहेको छ । यहाँ पनि प्रश्न बाँकी नै छ । तपाईंहरूमध्ये धेरैलाई यस्तै कौतुहल भइरहेको पनि होला । सबैतिर चर्चा भइरहेको चौरस्ता गोलो चौकको आकृति के हो ? ती मानिस को को हुन् ? उनीहरूले बोकेको के हो ? अनि, यसले बुझाउन खोजेको म्यासेज के हो ?

इटहरीको पहिचान
मुख्य गोलो चौकका चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन् । 

हिमालमा बस्ने शेर्पा अथवा समग्र मङ्गोल जाति । पहाडमा बस्ने आर्यन समुदाय । तराईमा बस्ने आदिवासी र मधेसी समुदाय । अनि इटहरीका प्रथम जाति थारु समुदायको प्रतिनिधिमूलक रूपमा चार जना मानिसलाई बिम्बात्मक रूपमा देखाइएको हो । यी मानिसहरूले बोकेको आकृति ‘तुरुङ’ हो ।

जसलाई थारु भाषामा ‘इट हरी’ भनिन्छ । उहिल्यै यहाँका दरोगा नरसिंह चौधरीले अपराधीलाई सजाय दिन यस्तो ‘तुरुङ’ बनाएका थिए । तलपट्टि इँटाले बनाइएको, बीचमा प्वाल राखी माथि काठले बनाइएको ‘तुरुङ’ अर्थात् ‘हरी’, सजाय दिने उपकरण । जसलाई थारुहरूले आफ्नो भाषामा ‘इट र हरी’  भन्थे । पछि यही ‘इट हरी’ शब्द नै बोलीचालीमा ‘इटहरी’ भएको हो ।

हिमाल, पहाड र तराईमा बसेका मानिसहरूले ‘इट हरी’ बोकेका हुन् । अर्थात् ‘इटहरी’ बोकेका हुन् । समग्रमा यो आकृतिले इटहरीको पहिचान देखाउन र बुझाउन खोजेको हो ।

‘यो आकृतिले इटहरीको नामकरण, पहिचान, भूगोल, बसोबास र पुराताŒिवक कुरा दर्शाउन खोजेको छ । यसको मुख्य ‘थिम’ पनि यही हो’ कलाकृतिको परिकल्पना तथा डिजाइन तयार गरेका कलाकार अभिषेक तिम्सिनाले बताए । कलाकार अभिषेककै नेतृत्वको ८ जना कलाकारको टिमले यो कलाकृति निर्माण गरेको हो । फाइबर ग्लासले बनेका यी कलाकृति कम्तीमा पनि ७० वर्ष टिक्ने अभिषेक बताउँछन् ।

माथिको आकृतिलाई सौन्दर्यीकरण गर्न तल गोलो वरिपरि हाँसका गमला बनाइएका छन् । त्यसमा सुन्दर फूलहरूको बगैंचा निर्माण गरिनेछ । ‘हाँस तराईमा हुने पक्षी हो । त्यसैले हाँसको गमला बनायौँ, यसबाट पनि केही सन्देश दिन खोजिएको छ’–कलाकार अभिषेकले भने ।

वरिपरि ८ वटा नोजल जडान गरिएका छन् । जहाँबाट पानीको फोहोराले थप सुन्दरता थप्नेछ, अभिषेकले योजना सुनाए । चार सुरका खम्बामा लाइट जडान गरिएको छ । जहाँबाट रातको समयमा विभिन्न रङका प्रकाशले उभिएका कलाकृतिलाई थप रङ्गीन, आकर्षक अनि कलात्मक देखाउने अभिषेकले बताए । ‘हिमाल, पहाड र तराईका समावेशी नेपालीले बोकेको ‘इट हरी’ । सेता हाँसका गमलामा फुलेको फूल । पानीको फोहोरालाई रप्तरङ्गी प्रकाशले इटहरीको मुख्य चौक हेर्दैमा आकर्षक र कलात्मक देखिनेछ’– अभिषेकले पूर्ण चित्रको व्याख्या गर्दै भने । 

अहिले मानिसहरूको ध्यान मुख्य रूपमा तुरुङमा गएको छ । माथिबाट हेर्दा यो जिजसलाई झुण्ड्याइएको क्रुसजस्तो देखियो भन्न थालेका छन् । माथि अग्लो ठाउँबाट हेर्दा लामो, अलि भद्दा र क्रुसजस्तो देखिँदा यसको वास्तविक अर्थ गौण भएर अर्कै अर्थ बुझिन थालेको कतिपयको भनाइ छ । यस्ता भनाइहरू सुनिरहेका कलाकार अभिषेक त्यस्तो नभएको बताउँछन् ।

‘यहाँ केही भ्रम पर्न र पार्न खोजिएको छ’ उनले यसको अर्थ बुझाउँदै भने, ‘यहाँ मुख्य ३ कुरा बुझ्नुपर्छ । क्रुस, प्लस र क्रस । क्रुसको आकार प्लसभन्दा माथिबाट काटिएको हुन्छ । सेन्टरभन्दा माथि । प्लस जो रेडक्रसले प्रयोग गर्छ, यसको सेन्टरबाट काटिएको हुन्छ र अर्को रह्यो क्रस अर्थात् एक अर्कामा काटिएका हुन्छन् ।’ अभिषेकले स्पष्ट पार्दै थपे, ‘यो आकृति प्लसमा छ । क्रुस हुनै सक्दैन । क्रुस हुन सेन्टरभन्दा माथि काटिनुपर्छ, यो प्लसमा छ । केही लामो जस्तो देखिँदा मानिसलाई त्यस्तो भ्रम पर्न गएको हो ।’ ‘अर्कोतर्फ यहाँ तुरुङको प्वाल धरै देखिएर पनि त्यस्तो पर्न गएको हुनसक्छ’ उनले भने, ‘यसलाई प्राविधिक रूपमा मिलाउने काम गर्दैछौँ र कलर पनि चेन्ज गर्दैछौँ ।’

वीरेन्द्रको सालिक भनेर इट हरी ?

खासमा यहाँ स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने चर्चा थियो । वीरेन्द्रकै सालिक राख्ने मेयर हेमकर्ण पौडेल स्वयम्ले बताएका थिए । तर, अहिले वीरेन्द्रको सालिक हैन ‘इट हरी’ बन्यो ।

कसरी यस्तो भयो ? अभिषेक मुस्कुराए । ‘खास कुरा भनौं है’ हाँस्दै अभिषेकले भित्री कुरा खोले, ‘सुरुमा यहाँ वीरेन्द्रकै सालिक राख्न हामीलाई भनिएको थियो । हामी तयारी पनि थियौँ । राजाको सालिक राख्ने भनेपछि राजावादी हौसिए । सालिक ढाल्नेहरू तर्सिए । सालिक राख्ने पनि यहीँ छन् । सालिक ढाल्नेहरू पनि यहीँ छन् । वीरेन्द्रको सालिक राख्ने कुराले ढाल्नेहरूलाई चोट पुग्यो । अहिले सालिक ढाल्नेहरू शक्ति र सत्तामा छन् ।’ 

यो विषय राजनीतिक विषय बन्यो । राजनीतिकरण गरियो । राख्नुपर्छ र राख्नु हुँदैन भन्दै आन्दोलन हुन थाल्यो । सामाजिक सञ्जालदेखि सडकसम्मै समर्थन र विरोध पोखिए । द्वन्द्व बढ्नसक्ने देखे पछि नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले विकल्पको खोजी गरे । विकल्प खोज्दा इटहरीकै पहिचान राखाँैँ भन्ने सहमति भयो । सोहीअनुसार अहिलेको कलाकृति बनेको हो । अभिषेकले वास्तविकता सुनाए ।

वीरेन्द्र चौक अब इटहरी चौक
वीरेन्द्र चौक भन्दै आएका इटहरीबासीले अब मुख्य गोलो चौकलाई इटहरी चौक भन्नेछन् । वीरेन्द्र चौक भन्न थालिएको पनि धेरै भएको छैन । वीरेन्द्रको पूर्ण कदको सालिक राखेपछि नै यो चौकको नामकरण भएको हो, वीरेन्द्र चौक । इटहरीका कलाप्रेमी राजावादीे नेता रामकुमार सुब्बाको अगुवाइमा वीरेन्द्रको सालिक स्थापना भएको थियो । वीरेन्द्रको सालिक तत्कालीन रानी ऐश्वर्यले उद्घान गरेकी थिइन् । तर, विगत २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा सालिक ढालियो ।

हुन त वीरेन्द्रको सालिक निर्माण हुनुअघि यहाँ कुनै चौक थिएन । घरहरू थिएनन् । अहिले चौक भएको स्थान देखी  उत्तरतर्फ महेश्वर सुब्बाको काठको ठूलो घर थियो । बस्ती बढ्दै गएपछि यहाँ चौक बनेको हो । नामविहीन भएको समयमा वीरेन्द्रको सालिक राखेसँगै चौकको नामकरण पनि भएको थियो । ०६२/०६३ को जनआन्दोलनले वीरेन्द्रको सालिक ढालेपछि यो चौक फोहोर र कुरूप बनेको थियो । हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएर आएसँगै इटहरी चौकको सौन्दर्यीकरण गर्ने योजना सुरु भएको थियो । सोही योजनाअनुसार वीरन्द्र चौक ‘अब इट हरी’ अर्थात् इटहरी चौक बनेको हो ।