विषय प्रवेश:
नेपालीहरूको लोक परम्पराअनुसारको लोक संस्कृतिभित्रका विभिन्न जात्रा पर्वहरूमा नचाउँदै आइरहेको लोकप्रिय नाचहरूमध्ये एक हो, लाखेनाच । उपत्यकाभित्रका नेवारहरूले पुस्तौँ–पुस्तादेखि नचाउँदै आइरहेको उक्त नाच नेवारहरू विभिन्न कालखण्डमा आ–आफ्नो थातथलोबाट पलायन भई बसाईं सर्दै गाउँ, सहर वा विभिन्न देशहरूमा समेत छरिएर पुगेसँगै उक्त नाचले पनि छरिन गई विश्वव्यापी प्रशिद्धि पाएको छ । 

हिजोका दिनहरूमा नेवारहरूले मात्र नचाउँदै आएको उक्त लाखेनाच आज नेवारहरूमा मात्र सीमित नभई विभिन्न जात–जातिहरूमा पनि लोकप्रिय भएर सबै जात–जातिहरूले समेत आप्mनो लोक, संस्कृति, संस्कार भनी स्वीकार गर्दै आ–आप्mनो थात–थलोमा सांस्कृतिक पर्वको रूपमा लाखेनाच नचाउँदै आएको पाइन्छ ।

नेपाली जनश्रुतिअनुसार लाखे एउटा दानव हुन् । ओडार परेका ठूल–ठूला राता–राता आँखा, लामोलामो आँखिभौँ, जिङ्ग्रिएको लामा कपाल, ठूल्ठूला दुईवटा दाह्रा निस्किएको, अजङ्गको जिउडाल, भयानक रौद्ररूप चित्रित हुन्छ । कुनै देवी–देवताको प्रतीक मुकुण्डोजस्तै लाखेको पनि त्यही डरलाग्दो मुकुण्डोलाई नै लाखेको प्रतीकको रूपमा लिँदै आएको पाइन्छ । लाखे पहिले–पहिले जङ्गलमा बस्ने गर्दथे । जो पछि आएर सहरका मानवहरूका रक्षक बने ।  लाखेको स्त्रीलाई ‘लसी’ भनिन्छ ।

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशको पेज नं.११०६ मा ‘लाखे’ शब्दको अर्थ ‘राक्षस, मुकुण्डो लगाएर हरेक वर्ष श्रावण–भदौतिर सांस्कृतिक रीतिरिवाजअनुसार नचाइने राक्षस रूपधारी व्यक्ति’ र ‘नाच’ भनेको ‘मुकुण्डो लगाएर नाचिने परम्परागत सांस्कृतिक नाच’ उल्लेख गरेको छ । लाखेनाच नेपालको लोकप्रिय नाचहरूमध्ये एक हो । यस नाचलाई नेपाल मण्डलका नेवारहरूको विशिष्ट परम्परागत संस्कृतिको रूपमा चित्रण गरिएको छ ।

लाखेनाचको सुरुवातः
भाषा वंशावलीका अनुसार लाखे नाचको परम्परा ठकुरी वंशका राजा गुणकामदेवको समयदेखि सुरु भएको हो भन्ने इतिहासमा भेटिन्छ । तर, कसैले इश्वी संवत्को एघारौँ शताब्दीदेखि हरिसिंहदेवले तलेजु भवानी लिई आउँदा सँगै लिएर आएको पनि भन्ने गरेका छन् ।

विभिन्न प्रकारका लाखेहरूः
विभिन्न प्रकारका लाखेहरूमा १. मजिपा लाखे आजु २. गुँलालाखे, ३. मिच्यालाखे, ४ मिपुलाखे  ।

१. मजिपा लाखे आजुः
किंवदन्तीअनुसार मजिपालाखे आजु येंया पर्वको अवधिभर काठमाडौंमा प्रख्यात मजिपालाखे नचाउने गरिन्छ । मजिपा लाखेलाई शानत भैरवको रूपमा पुज्ने गरिन्छ । भाद्र शुक्ल पूर्णिमा इन्द्रजात्राका दिन हनुमान ढोका परिसरबाट नगर परिक्रमा गरी विभिन्न देवदेवीसहित लाखेनाच प्रदर्शन गर्ने गरिन्छ ।

पौराणिक प्रचलित किंवदन्तीअनुसार मजिया टोलमा एकजना धनी साहुको बाँला मयजु नाम गरेकी सुन्दरी छोरी थिइन् । उनी सधैँ आलुबारीमा काम गर्न जान्थिन् । उनको रूप देखेर मोहित भएका नजिकै जङ्गलमा बस्ने एकजना लाखे सधैँ सुन्दर युवकको भेषमा उनलाई भेट्न आउन थाले र उनको काम पनि छिटै सघाएर सिध्याइदिन्थे । नियमित भेटघाटबाट दुवैमा एक अर्काप्रति प्रेम बस्दै गयो । मायाप्रेम बस्दै गएपछि एकदिन लाखेले बाँला मयजुलाई आप्mनो असली रूप देखाएर उसँग नडराउन भनेर सँगै बस्ने भनी जङ्गलमा लिएर गए । यता धनी साहु खेतमा गएकी छोरी हराएकीले गाउँघरमा खैलाबैला मच्चियो ।

टोलवासीहरू सबै मिलेर खोजी गर्दा धेरै समयपछि उनलाई एकजना लाखेसँग जङ्गलमा बसिरहेको भेट्टाए । बाँला मयजु उनीहरूले लाखे भनेका राक्षस हुन् । लाखेले मान्छेलाई खान्छ,  उनीहरूसँग बस्नु हुँदैन, घर जाऊँ भनी सम्झाए । यसरी बाँला मयजुलाई सम्झाइरहँदा लाखेले आपूm राक्षस कुलको भए पनि आप्mनो राक्षसी प्रवृत्ति त्यागेर देशको रक्षा गर्ने तथा अरू राक्षस र नराम्रो शक्तिहरूबाट सबैको रक्षा गर्छु भनी वाचा गरेपछि सबै टोलबासीहरूले छलफल गरी उनीहरू (लाखे) लाई आप्mनै टोलमा बस्ने अनुमति दिएको पौराणिक कथन छ । यसैअनुसार वरपर रहेको नकारात्मक शक्तिहरू नाश  होस्, देशमा शान्ति छाओस्, सबैलाई मङ्गल होस् भनी लाखे नचाउने गरिएको भनाइ छ ।

२. गुँला लाखे:
गुँलालाखे भने श्रावण शुक्ल पूर्णिमाको दिन निकालिन्छ । नेवारी जनश्रुतिअनुसार लाखे एउटा दैत्य हो । तर, उसलाई दानवहरूमध्येको देवताको रूपमा परिभाषित गरिन्छ । जनविश्वासअनुसार जङ्गलमा बस्ने मांसाहारी दैत्य भए तापनि लाखेले सहरका प्राचीन बासिन्दाहरूसित त्यहाँका बासिन्दाहरूको सुरक्षा गरिदिने वचनबद्धता प्रकट गरेको हुनाले त्यसको बदलामा उसलाई सहरमा फर्कन र सहरको कुनै एक स्थानमा बस्नसमेत स्वीकृति प्रदान गरेका थिए ।

किंवदन्तीअनुसार प्राचीनकालमा सहरवासीहरू हैजा र विभिन्न महामारी जस्ता रोगहरूको प्रकोपले मर्न थालेकाले जेठा बूढापाकाहरूले लाखेनाच नचाएर यस प्रकोपलाई अन्त गर्न तम्सिएर लाखेलाई आफ्नो शक्ति प्रयोग गरेर यो महामारीको अन्त्य गर्न उक्साइएको थियो ।

स्थानीयको विश्वासअनुसार त्यसबेला लाखेलाई छोइयो भने उसँगको रोग व्याध हरण हुन्छ र दुष्ट आत्माहरू पनि भाग्दछ । गुँलालाखे श्रावणशुल्क पूर्णिमाको दिन अर्थात् रक्षाबन्धन (जनैपूर्णिमा) को दिन निकालिन्छ । गुँलालाखे नाचको प्रारम्भ सर्वप्रथम ललितपुरको बुङ्मतीबाट भएको पाइन्छ । हैजाको प्रकोप सम्बन्धमा वंशावलीमा उल्लेख भएअनुसार मच्छिन्द्रनाथको तत्कालीन नेपाल मण्डल आगमन लाखे अर्थात् यक्षहरू कलिगत संवत् ३६०० देखि बुङ्मतीमा रहँदै आएको पाइन्छ । यो समयमा नेपाल मण्डलमा जलवृष्टि नभई अन्नपात खानेकुराको अभाव भई अनिकाल परिरहेको थियो ।

जलवृष्टिका लागि अपनाइएका कुनै पनि उपाय तथा पूजाआजा कामयाव भैरहेको थिएन । त्यसैले सर्वज्ञगुरु शान्तिकरको निर्देशनअनुसार उनका शिष्य बन्धुदत्त आचाजु कर्माचार्य, लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेवलगायत तीन महापुरुषहरूबाट रातो मच्छिन्द्रनाथलाई आसामबाट तान्त्रिक साधनाले कलशभित्र प्रवेश गराई नेपाल खाल्डोमा ल्याएर त्यस बखत देखापरेका अनिष्ट, अनिकाल र दुर्भिक्षबाट जोगाउन सफल भएका थिए । त्यसपछि नेपाल मण्डल खाल्डोमा  वर्षा भयो र देशवाशीहरूमा हर्ष छायो । लोककल्याण गर्ने देवता लोकनाथ श्री करुणामयसँग आएका यिनै यक्ष (लाखे) कालान्तरमा लोक कल्याणकारी गुँलालाखे को रूपमा परिणत भएको इतिहासकार एवम् संस्कृतिप्रेमीहरूको भनाइ छ ।

३. मिच्या लाखेः यस प्रकारको लाखे पूर्वतिर नाचिँदैन ।

४. मिपु लाखेः नेपाल भाषामा ‘मिच्या’ शब्दको अर्थ ‘आगो बल्ने’ हो । यो लाखेलाई ‘आगो बाल्ने लाखे’ भनिन्छ । जहाँ–जहाँ यस प्रकारको लाखे बस्दछन्, त्यस्ता ठाउँमा निरन्तर अग्निदहन भइरहन्छ, अर्थात् अग्निको ताप आइरहन्छ । यसरी नै मिपु लाखेले पनि अग्नि उत्पन्न गर्ने गर्दछ ।

समय अनुकूल नेवार जातिको जनसङ्ख्या वृद्धि भए सँगसँगै विभिन्न स्थानमा बसाइ सराई गरी आएका नेवारहरूले गुँलालाखे आ–आफ्ना क्षेत्रमा आ–आफ्नै अनुकूलताअनुसार कतै नागपञ्चमीको दिन तथा कहीँ जनैपूर्णिमा (रक्षा बन्धन)को दिन निकाल्ने गरेको पाइन्छ । लोकको कल्याण गर्ने देवता लोकनाथ श्री करुणामयसँग आएका यिनै यक्ष (लाखे) पछि लोककल्याणकारी गुँला लाखेको रूपमा परिणत भएको भनाइ छ ।

काठमाडौं उपत्यका पूर्व भोजपुर, चैनपुर, विराटनगर र धरानमा लाखेनाच श्रावणशुल्क नागपञ्चमीका दिन निकालेर भाद्र कृष्णनवमी अर्थात् श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट रथयात्राको दिन कृष्ण मन्दिरमा विसर्जन गरिन्छ । 

उपसंहारः
लाखेको व्युत्पत्तिबारे आएका लाखेनाच, धाबाजा, ढोलक, झ्याम्टा, धिमेबाजा वा दाफा भजनको सङ्गीतमय ताल पृथकता भए पनि मूल कुरामा समानता पाइन्छ । नेवार समाजमा लाखेको आफ्नै विशिष्ट सांस्कृतिक महत्व छ । यसबाट लाखे कुनै दुष्ट प्राणी नभई मानवमात्रको सहयोगी जङ्गलमा बस्ने एक प्राणी भएको कुरा उजागर गर्दछ ।

लाखेनाच आजकाल झाँकी प्रदर्शन गर्ने नाममा विभिन्न गैरसांस्कृतिक पर्वहरूमा लाखेको प्रदर्शन गरी मनोरञ्जनको साधनको रूपमा र अर्थ सङ्कलन गर्ने माध्यमको रूपमा प्रयोग गर्ने गरिएको छ । जुनसुकै बेलामा लाखे नाच निकालेर मनोरञ्जनको साधन बनाइनु कत्तिको उचित छ ? यसतर्फ सम्बन्धित निकाय नेवाःदेय् दबू धरान उपमहानगर समितिको ध्यान जानुपर्ने देखिन्छ ।

(कर्माचार्यः धरानबारे विभिन्न तथ्याङ्क सङ्कलन गर्ने खोजमूलक लेखक हुन् ।)