धरान । ब्रिटिस आर्मीका भूतपूर्व क्याप्टेन पूर्ण लिम्बुका दुई नयाँ गीतका भिडियो सार्वजनिक भएका छन् ।

शुक्रबार धरानमा लिम्बुका गीतहरु ‘संसार एउटा बगैंचा’ र ‘सँगसँगै’का भिडियो सार्वजनिक भएका हुन् । पूर्ण लिम्बुको स्वरमा रहेको ‘संसार एउटा बगैंचा’मा शब्द भगत लोहोरुङ राई र संगीत प्रेमकृष्ण बजगाईंको रहेको छ ।  गीतको भिडियोमा गायक पूर्णसँगै दिनेश कोइराला, पुजा दाहाल र सुवर्ण तामाङको अभिनय रहेको छ । 

त्यस्तै पूर्ण लिम्बु र रचना रिमालको स्वर रहेको ‘सँगसँगै’को शब्द संगीत प्रेमकृष्ण बजगाईंको रहेको छ । यो गीतको भिडियोमा पूर्णसँगै मनिषा सुनुवारले अभिनय गरेका छन् । दुवै भिडियोको निर्देशन सुमन तामाङले गरेका हुन् । चलचित्र निर्देशक मिलन चाम्स राईले भिडियो सार्वजनिक गरेका हुन् । प्रमुख अतिथिका रुपमा उपस्थित उनले लिम्बुको गायन तथा अभिनयको प्रशंसा गर्दै भिडियो राम्रो बनेको बताए । कार्यक्रममा शुभकामना व्यक्त गर्दै वरिष्ठ कलाकार प्रेम सुब्बाले गायक लिम्बु लामो समय विदेशमा बसेपनि ग्रामीण परिवेश भुल्न नसकेको उनको कलाकारितामा झल्किने बताए । त्यस्तै ब्रिटिस आर्मीका पूर्व क्याप्टेन ललित मेन्याङ्वोले लाहुरेहरु बन्दुक बोक्न मात्र होईन कलाकारिता पनि गर्न सक्छन् भन्ने उदाहरण देखाउन सफल भएको भन्दै प्रशंसा गरे । कार्यक्रम कलाकार तथा निर्माता किशोर सम्बाहाङ्फे, निर्माता ज्योतिराज राई लगायतको उपस्थिति रहेको थियो ।