कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ भुल्केसुन्तलीमा निर्मित ‘बाँसे गसफा’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बनेको छ । वर्षौंदेखि सामुदायिक वनमा हुर्किएका बाँसका झ्याङलाई नष्ट नगरी व्यवस्थित गरेर बनाइएको यो प्राकृतिक संरचना अहिले सामाजिक सञ्जालमा चर्चित बनेसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
करिब दुई महिनाअघि सञ्चालनमा ल्याइएको बाँसे गुफामा अहिले दैनिक चारदेखि पाँच सयसम्म पर्यटक पुग्ने गरेको भुल्केसुन्तली सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । बिदाको दिन भने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी पुग्ने गरेको छ । विराटनगरकी बबिता गुरागाईं पनि सामाजिक सञ्जालकै कारण बाँसे गुफासम्म पुगेकी हुन् । आफ्नो माइतीघर रमाइलो भएका कारण २७ भदौमा त्यहाँ पुगेका बेला उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको बाँसे गुफा हेर्ने योजना बनाइन् ।
“सामाजिक सञ्जालमा आफ्नै माइती गाउँको बाँसे गुफा भाइरल भएको देखेपछि यहाँ आएकी हुँ” उनले भनिन्, “यहाँ आएपछि साँच्चिकै आनन्द आउने ठाउँ रहेछ भन्ने लाग्यो ।” उनका अनुसार हरियाली जङ्गलको बीचमा बाँसलाई नै व्यवस्थित गरेर बनाइएको गुफा नौलो अनुभव दिने खालको छ । “प्राकृतिक रूपमा हुर्किएको बाँसलाई गुफाको स्वरूपमा व्यवस्थापन गरिएको रहेछ” उनले भनिन्, “वातावरण पनि निकै सुन्दर छ । प्रदूषणरहित भएकाले यहाँ आएपछि मनै रमायो ।”
बबितासँगै पुगेकी मूना गिरीका लागि पनि यो ठाउँ परिचित भूगोलभित्रको नयाँ आकर्षण बनेको छ । आफू जन्मेहुर्केको क्षेत्रमा रहेको बाँसे गुफा सामाजिक सञ्जालमार्फत् थप चर्चामा आएपछि पर्यटकको चहलपहल बढेको उनले बताइन् । “अहिले यहाँ धेरै पर्यटक आउन थालेका रहेछन्” उनले भनिन्, “बाँसले बनेको गुफाभित्र फोटो र भिडियो खिच्नेहरूको भीड लाग्ने रहेछ । हामी पनि आएर फोटो–भिडियो बनायौँ ।”
बाँसको झ्याङलाई नै गुफा बनाइयो
बाँसे गुफा कुनै ठूलो लगानी गरेर निर्माण गरिएको संरचना होइन । भुल्केसुन्तली सामुदायिक वन उपभोक्ता समूहले वर्षौंअघि वन क्षेत्रमा बाँस रोपेको थियो । वन क्षेत्रको उत्तरी भागमा हुर्किएका बाँसका झ्याङ लामो समयसम्म त्यत्तिकै रहेका थिए । पछि वन उपभोक्ता समूहले त्यही प्राकृतिक संरचनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको हो । बाँस काटेर नयाँ संरचना बनाउनुको सट्टा भएका बाँसलाई संरक्षण गर्दै हिँड्ने बाटो र गुफाको स्वरूपमा व्यवस्थित गरिएको समितिका अध्यक्ष भीम फागोले बताए ।
“वर्षौंअघि वन समूहले बाँस रोपेको थियो । कुन प्रयोजनका लागि रोपिएको थियो भन्ने यकिन छैन” उनले भने, “बाँस राम्रोसँग हुर्किएपछि यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भन्ने सोच आयो ।” बाँसका हाँगा र झ्याङबीचबाट हिँड्दा सुरुङभित्र प्रवेश गरेजस्तो अनुभव हुने भएकाले पनि पर्यटक आकर्षित भएका छन् । विशेषगरी युवायुवती, बालबालिका र परिवारसहित आउने पर्यटकले गुफाभित्र फोटो तथा भिडियो खिच्ने गरेका छन् । ठूलो संरचना र महँगो सजावटविनै प्राकृतिक स्रोतलाई व्यवस्थापन गरेर पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा बाँसे गुफा देखिन थालेको समितिको भनाइ छ ।
सामाजिक सञ्जालले गरायो भाइरल
बाँसे गुफा सञ्चालनमा आएको छोटो समयमै सामाजिक सञ्जालमा चर्चित बनेको छ । यहाँ पुग्ने पर्यटकले खिचेका फोटो तथा भिडियो टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमा राख्न थालेपछि गुफाबारे जानकारी टाढाटाढासम्म पुगेको हो । सामाजिक सञ्जालकै कारण विराटनगर, पथरी, उर्लाबारी, सुन्दरहरैंचालगायतका क्षेत्रबाट पर्यटक आउन थालेका छन् । बिदाका दिन परिवार र साथीभाइको समूह बनाएर आउनेको सङ्ख्या बढी हुने गरेको समितिले जनाएको छ ।
विराटनगरकी जेनिशा डङ्गोल पनि सामाजिक सञ्जालमा भिडियो देखेपछि बाँसे गुफा पुगेकी हुन् । मामाघर आएको मौका पारेर उनी गुफा हेर्न पुगेकी थिइन् । “मामाघर आएको बेला बाँसे गुफा हेर्न आएँ” उनले भनिन्, “यहाँ आएपछि निकै राम्रो लाग्यो । पहिले सामाजिक सञ्जालमा मात्रै देखेकी थिएँ । प्रत्यक्ष हेर्न पाउँदा झन् रमाइलो रहेछ ।” उनका अनुसार गुफा आसपासको हरियाली र शान्त वातावरणले पनि पर्यटकलाई केही समय बिताउन आकर्षित गर्छ ।
बाल उद्यान बनाउने योजना
पर्यटकको चहलपहल बढ्न थालेपछि वन उपभोक्ता समूहले बाँसे गुफालाई थप व्यवस्थित गर्ने तयारी गरेको छ । प्राकृतिक संरचनालाई जोगाउँदै बाल उद्यान निर्माण गर्ने योजना रहेको अध्यक्ष फागोले बताए । “अहिले बाँसे गुफा हेर्न आउनेको सङ्ख्या बढेको छ । यसलाई व्यवस्थित गर्दै बाल उद्यान बनाउने योजना छ” उनले भने, “त्यसका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने तयारीमा छौँ ।”
समूहले पर्यटकका लागि आवश्यक सुविधा थप गर्ने योजना बनाए पनि प्राकृतिक स्वरूपलाई भने प्राथमिकतामा राख्ने जनाएको छ । वनक्षेत्रमा जथाभावी कङ्क्रिट संरचना निर्माण नगरी प्रकृतिसँगै पर्यटन विकास गर्ने समितिको योजना छ । स्थानीयका अनुसार बाँसे गुफालाई छोटो दूरीको पारिवारिक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । लामो यात्रा नगरी एकै दिनमा घुमफिर गरेर फर्कन चाहनेका लागि यो ठाउँ उपयुक्त हुनसक्छ ।
राजमार्गबाट पाँच किलोमिटर
बाँसे गुफा पूर्व–पश्चिम राजमार्गबाट करिब पाँच किलोमिटर दक्षिणमा पर्छ । कानेपोखरी बजारबाट दक्षिणतर्फ बिहीबारे बजार हुँदै पूर्व लागेपछि झुल्केसुन्तली पुगिन्छ । त्यहाँबाट सामुदायिक वनभित्र रहेको बाँसे गुफामा पुग्न सकिन्छ । पथरी बजारबाट दक्षिणतर्फ पथरीशनिश्चरे हुँदै पश्चिम करिब दुई किलोमिटर यात्रा गरेपछि पनि गुफासम्म पुग्न सकिन्छ । राजमार्ग नजिकै भएकाले विराटनगरसहित आसपासका क्षेत्रबाट आउने पर्यटकका लागि यो सहज गन्तव्य बनेको छ ।
वर्षौंदेखि वनमा हुर्किएको बाँसलाई संरक्षण र व्यवस्थापन गरेर सुरु गरिएको प्रयास अहिले आन्तरिक पर्यटनको आकर्षण बनेको छ । ठूलो लगानीविनै प्राकृतिक स्रोतको सदुपयोग गरेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उदाहरण पनि बाँसे गुफाले दिएको छ ।
स्थानीयको संरक्षण, व्यवस्थापन र प्रचारसँगै सामाजिक सञ्जालको साथ पाएको यो गन्तव्य आगामी दिनमा मोरङकै आकर्षक आन्तरिक पर्यटकीय स्थल बन्ने सम्भावना देखिएको छ ।