विजयपुर । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट कुल १८.७ ग्राम ब्राउन सुगर बरामद भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा भुटाहाबाट फुलचोकतर्फ पैदल आउँदै गरेका इलाम देउमाई नगरपालिका–६ का २८ वर्षीय मदन सुवेदी र धरान उपमहानगरपालिका–५ का २२ वर्षीय राज राई पक्राउ परेका हुन् ।
चेकजाँचका क्रममा सुवेदीको साथबाट ५.१८ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । राईको साथमा समेत लागूऔषध रहेको आशंका लागेपछि उनलाई स्वास्थ्य परीक्षणका लागि भदौ २७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । स्वास्थ्य परीक्षण गर्दा उनको मलद्वारभित्र प्लास्टिकमा पोको पारी लुकाइएको अवस्थामा ३.२१ ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
हरिनगर गाउँपालिका–६ को भित्री सडकखण्डबाट हरिनगर–५ का ५५ वर्षीय नारायण मेहतालाई पक्राउ गरिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा डिकीमा कालो प्लास्टिकमा लुकाइएको अवस्थामा ६.३३ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । मेहताको साथबाट २५ हजार ४६५ रुपैयाँ नेपाली र ५५० भारतीय रुपैयाँ समेत बरामद भएको छ ।
बराहक्षेत्र नगरपालिका–९ बाँधडाँडाबाट प्रहरीले २५ वर्षीय भजन देव रामलाई पक्राउ गरेको छ। मधुवनबाट राजाबासतर्फ आउँदै गरेको को १० प ८८५२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनको साथबाट ०.५९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, कोशी गाउँपालिका–१ लौकही बजारबाट धादिङ बेनीघाट नगरपालिका–१ का २८ वर्षीय राजकुमार थिङ तामाङ पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई चेकजाँच गर्दा ३.३९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका–७ स्थित हिमालय पेट्रोल पम्पबाट पनि प्रहरीले तेह्रथुम छथर गाउँपालिका–५ का ३० वर्षीय संजिव दासलाई पक्राउ गरेको छ । उनको साथबाट ०.३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।