धरान । धरान उपमहानगरपालिका–२ रत्नरोडमा हुर्किएका मुकुल कायस्थ केटाकेटीमा नुहाउनका लागि गौरीकुवा पुग्थे । घरमा भीडभाड भएका बेला उनको नुहाउने थलो त्यही हुन्थ्यो । त्यो कुवा अहिले धारामा परिणत गरिएको छ । अहिले पनि मानिसहरू पानी लिन र नुहाउन त्यहाँ पुग्ने गरेका छन् । गल्ली टोल अर्थात् चन्द्र नगरभन्दा केहीमाथि पर्ने उक्त धारा अहिले भने केही व्यवस्थित बनाइएको छ ।

“राणाकाल अगाडिदेखि नै थियो रे भन्ने हामी केटाकेटीमै सुन्थ्यौँ, धरानेले त्यहीँबाट पानी ल्याउँथे, हामी चाहिँ नुहाउन पुग्थ्यौँ” उनले भने, “कहिलेकाहीँ घरमा धेरै मान्छे भएको बेला त्यही धारामा कुद्दै पुग्थ्यौँ ।” राणा प्रधानमन्त्री चन्द्रशमशेरले बस्ती बसाउँदा पानीको स्रोत भएको क्षेत्रमा मात्रै बसाएको पाइन्छ । वि.सं. १९५७ मा चन्द्रनगरवासीले त्यही धारालाई प्रयोग गरेका थिए । अहिले पनि अधिकांश नागरिकहरूले त्यो धाराको पानी प्रयोग गर्ने गरेका छन् ।

धरान–३ मा बस्दै आएकी निकिता तिवारी दुई वर्षदेखि सोही धारा प्रयोग गर्छिन् । खानेपानी, लुगाधुनेलगायतका सबैजसो काम त्यही धाराबाट हुने गरेको छ । धारामा पानी भर्दै गर्दा भेटिएकी उनले भनिन्, “दुई वर्ष भयो । सधैँ यहीँबाट पानी लान्छौँ । खानेपानी, लुगा धुनेलगायतको काम गर्दै आएका छौँ ।” धरान आदर्श स्कुलमा कक्षा ५ मा पढ्दै आएकी निकिताको परिवार धरान–३ को गल्ली टोलभन्दा माथिल्लोपट्टि बस्छ । उनका अनुसार छेउछाउका प्रायः सबैजसो पानी भर्नका लागि सोही धारामा आइपुग्छन् ।

माछाभौडीमा लामो समयदेखि बस्दै आएका रामभक्त वैजनाथ २०३९ सालदेखि आफू सो धाराका बारेमा जानकार रहेको बताउँछन् । भोजपुरबाट धरान बसाइँ आएका उनी माछाभौडीमा बस्ने भए पनि नुहाउन र पानी लिनका लागि सोही धारा पुग्ने गरेका छन् । “मलाई २०३९ सालदेखि यो धाराबारे थाहा छ । धाराभन्दा पहिला कुवा थियो” उनी भन्छन्, “मान्छेहरू कुवाबाट पानी निकाल्थे । धारा त धेरै पछि हालेको हो ।” उनी विगत सात वर्षदेखि नुहाउन सोही धारामा पुग्ने गरेका छन् । “पानी पनि यतैबाट लान्छौँ”–उनले भने ।

उनी २०१९ सालदेखि नै धरान बस्दै आएको भए पनि धेरै पछिबाट मात्रै गौरीकुवा जाने गरेका हुन् । धरानमा पानी भएको क्षेत्रतिर नै मानिसहरूको बसोबास बाक्लिएको कायस्थको अनुभव छ । विजयपुरको तल्लो क्षेत्रहरूमा पानीको स्रोत धेरै नै छन् । उनका अनुसार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारभित्र एक धारे, हनुमान मन्दिरको छेउमा दुई धारे, थोरै दक्षिण गएपछि तीन धारे, धरानको सपिङ कम्प्लेक्स क्षेत्रमा चार धारे, त्योभन्दा केही पूर्वतर्फ गुरुङ धारा र अझै पूर्व जाँदा गौधारालगायत धाराहरू रहेका थिए । यसमध्ये अहिले गुरुङ धारा र चार धारे चाहिँ मासिएको उनी बताउँछन् । “गुरुङ धाराको पानी एकदमै मीठो थियो” उनी भन्छन्, “सबैले त्यहाँबाट पानी लान्थे ।”

गौरीकुवालाई हालै व्यवस्थित बनाइएको छ । कोशी प्रदेशकी सांसद् यशोदा कायस्थले बजेट विनियोजन गरी गौरीकुवालाई असार २९ गते व्यवस्थित बनाएकी छन् । गौरीकुवाका लागि खानेपानी ट्याङ्की एवम् ढुङ्गेधारा निर्माण गरिएको छ । ढुङ्गेधारामा पानी बन्द गर्ने र खोल्नेसम्मको व्यवस्था गरिएकाले पानी जथाभावी खेर जान पाउँदैन ।