काठ

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको राससलाई जानकारी दिए । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुकका भारतीय छन् ।

विभागका अनुसार भारतका १८९ नागरिक बेपत्ता भएका छन् । यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आयरिसका दुई, इजरायलका एक, लिथवानियाका एक, मलेसियाका ५५ र नेदरल्याण्डका दुई जना बेपत्ता भएका छन् ।

न्यूजरल्याण्डका पाँच, पोर्चुगलका दुई, रसियाका छ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका पाँच, फिलिपिन्सका एक, कजाकिस्तानका तीन, बेल्जियमका दुई र स्वीडेनका एक जना बेपत्ता छन् ।

लाटभियाका ३३, स्वीजरल्याण्डका एक, इटलीका दुई, चीनका ३७, भियतनामका एक, इस्टोनियाका दुई र कोरियाका नौ पर्यटक हराएका छन् । बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका हुन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाईकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारीले बताए ।

सरकारले विपदका बीच उद्धार कार्य पनि जारी राखेको छ । हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५८ पुरुष र ५२ महिला छन् । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना (तीन पुरुष, नौ महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएको छ । रासस