चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्ने आफ्नो क्षमता वृद्धि गरिरहेको अमेरिकी वैज्ञानिकहरूले बताएका छन् ।

भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको छ ।

अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका छन् ।

यो चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ ।

निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ ।

गत महिना वाशिङ्टन पोस्ट समाचारपत्रले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको विवरण प्रकाशित गरेको थियो ।

एफएएसले सोमबारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर–पश्चिमको हामीमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको बताएको छ ।

सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो परमाणु क्षेप्यास्त्र दोबर बनाउन लागेको बताएको थियो ।

यो विवरण अमेरिका र रुसबीच हतियार नियन्त्रणबारे छलफल सुरु हुने तयारी भइरहँदा आएको छ ।

अमेरिकी र रुसी विदेश उपमन्त्रीहरूको छलफल रोकिएको परमाणु हतियार नियन्त्रण वार्ता सुरु गर्ने पहिलो चरणको रूपमा हेरिएको छ ।

चीनले भने अहिलेसम्म हतियार नियन्त्रण वार्तामा भाग लिएको छैन ।

अमेरिकी रक्षा मन्त्रालयको एउटा विभागले एफएएसको प्रतिवेदनबारे ट्वीट गर्दै चिन्ता व्यक्त गरेको छ ।

सन् २०२० मा चीनमा २०० भन्दा बढी परमाणु क्षेप्यास्त्रहरू थिए । चीनले त्यसलाई दोबर बनाउन खोजेको अमेरिकाको भनाइ थियो ।

अमेरिकामा त्यस्ता ३,८०० क्षेप्यास्त्र रहेको विज्ञहरू बताउँछन् ।

– बिबिसी