बिर्तामोड/ जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर नगरपालिका–२ कि सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ ।

सो संस्थाकी सदस्य सीताकी आमा तिलरुपा दाहाललाई शनिबार घरमै पुगेर राहत रकम प्रदान गरिएको हो । पीडितको घर परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ८ लाख ६८ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

सीतादेवीले संस्थाबाट लिएको ऋणमा त्यति नै रकम थपेर ८ लाख ६८ हजार रुपैयाँको चेक आमा तिलरुपालाई हस्तान्तरण गरिएको ज्ञानेचोक सेवाकेन्द्रका कर्मचारी मुकुन्द उप्रेतीले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउने सदस्यले लिएको ऋण मिनाहासहित राहतस्वरुप त्यति नै रकम थपेर परिवारलाई उपलब्ध गराउने संस्थाको नियमानुसार आमा तिलरुपालाई उक्त रकम बराबरको चेक प्रदान गरिएको पनि उप्रेतीले जानकारी दिए ।

त्यसैगरी सहाराले आफ्ना सदस्य भगवती थापा आलेका श्रीमान् विमलसिंह आले मगरको निधन भएकोले भगवतीले लिएको २ लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको छ भने भद्रपुर–४ की सदस्य सीतादेवी दाहालका श्रीमान् कमलबहादुर बस्नेतको पनि निधन भएकोले सीतादेवीले लिएको १ लाख रुपैयाँ पनि मिनाहा गरिदिएको उप्रेतीले बताए ।

नगरप्रमुख श्रेष्ठले सहारा नेपाल साकोस् वित्तीय कारोबार गर्ने मात्र नभई ग्रामीण भेगका विपन्न परिवारको सहारा पनि बन्दै गएको भन्दै सहाराको सामाजिक सेवा कार्यको प्रशंसा गरे ।